बर्खायाममा विपी राजमार्ग अब लामो समय बन्द नहुने, अवरोध भए ३० मिनेटभित्र सञ्चालन गर्ने तयारी
काभ्रेपलाञ्चोक । वर्षायाममा पटक–पटक बाढी र पहिरोका कारण अवरुद्ध हुँदै आएको विपी राजमार्ग अब छिटो सञ्चालनमा ल्याउने लक्ष्यसहित सडक कार्यालयले विशेष तयारी गरेको छ। पुनर्निर्माण भइरहेको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा सडक बन्द भए पनि अधिकतम आधा घण्टाभित्र यातायात पुनः सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार पुनर्निर्माणको अन्तिम चरणमा पुगेका अधिकांश सडकखण्ड केही दिनभित्र पुरानै ट्र्याकबाट सञ्चालनमा आउनेछन्। वर्षायाममा सम्भावित विपद्लाई ध्यानमा राख्दै आवश्यक हेभी उपकरण र प्राविधिक टोली तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार यसअघि रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाउँदा सडक बारम्बार अवरुद्ध हुने गरेको थियो। अहिले भने अधिकांश स्थानमा स्थायी ट्र्याक पुनःनिर्माण भएकाले त्यस्तो समस्या धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ।
हाल चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म सवारीसाधन पुरानै मार्गबाट सञ्चालन भइरहेका छन्। यद्यपि चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुंगा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरी अतिरिक्त सतर्कता अपनाइएको छ। जोखिमयुक्त खण्डमा ग्राभेल बिछ्याउने, ठूला ढुंगा राखेर सडक मजबुत बनाउनेलगायतका काम सम्पन्न गरिएको छ।
२०७१ असोजमा आएको बाढी–पहिरोले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि सवारी सञ्चालनका लागि बनाइएका अस्थायी डाइभर्सनहरू पनि पटक–पटक बाढीले बगाउँदै आएको थियो।
हाल पुनर्निर्माणको चार प्याकेजमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडकखण्ड जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण भइरहेको छ। यस खण्डमा माटो भराइ, बोल्डर जडान तथा सडक संरचना मजबुत बनाउने काम तीव्र गतिमा अघि बढेको छ।
सडक विभागका अनुसार पुनर्निर्माणपछि सम्पूर्ण सडक दुई लेनको हुनेछ। हालका पुलसँगै नयाँ पुल थपिनेछन् भने पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने योजना पनि अघि बढाइएको छ। कुल २९.५ किलोमिटर क्षतिग्रस्त सडकमध्ये ३.२ किलोमिटर खण्ड पुनर्निर्माणका लागि जाइका मार्फत करिब २ अर्ब ६३ करोड रुपैयाँ अनुदान उपलब्ध गराइएको छ।
१६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने विपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु गरिएको नेपालको महत्त्वपूर्ण रणनीतिक सडकमार्ग हो, जसले काठमाडौंलाई पूर्वी तथा मध्यपहाडी जिल्लासँग छोटो दूरीमा जोड्ने काम गर्दै आएको छ।
