उच्च अदालत नेपालगञ्ज इजलासले टुंग्यायो दुई वर्षभन्दा पुराना सबै मुद्दा
नेपालगञ्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३ मा दुई वर्षभन्दा पुराना सबै मुद्दाको सुनुवाइ सम्पन्न गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। अदालतले उक्त अवधिमा कुल दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फर्छ्योट गरेको छ, जुन कुल मुद्दाको ६२.६० प्रतिशत हो।
शुक्रबार आयोजित वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले दुई वर्ष नाघेका सबै मुद्दाको टुंगो लगाइएको जानकारी दिए। उनका अनुसार असार मसान्तसम्म १८ महिना पूरा भएका १५ वटा मुद्दा मात्र बाँकी रहेका छन्, जसलाई साउन महिनाभित्रै फर्छ्योट गर्ने लक्ष्य राखिएको छ।
अदालतले फर्छ्योट गरेका मुद्दामा देवानीतर्फ अंशबण्डा, मानाचामल, सम्बन्धविच्छेदलगायतका विषय रहेका छन् भने फौजदारीतर्फ लागूऔषध, चोरी, डकैती, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, किर्ते तथा बैंकिङ कसुरसम्बन्धी मुद्दा समावेश छन्।
अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६४२ र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका एक हजार ५२१ गरी कुल दुई हजार १६३ मुद्दा लगतमा रहेका थिए। तीमध्ये एक हजार ३५४ मुद्दाको फर्छ्योट भएको छ भने ८०९ मुद्दा अझै विचाराधीन अवस्थामा छन्।
वार्षिक कार्ययोजनाअनुसार अदालतले दुई हजार ४९० मुद्दा रहने अनुमान गर्दै एक हजार ७४३ मुद्दा फर्छ्योट गर्ने लक्ष्य निर्धारण गरेको थियो। सो लक्ष्यको आधारमा अदालतले ७७.७ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ।
यद्यपि, पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा मुद्दा फर्छ्योट दरमा केही कमी आएको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा ७१.४१ प्रतिशत र २०८१/८२ मा ७५.७४ प्रतिशत मुद्दा फर्छ्योट भएको थियो भने आर्थिक वर्ष २०८२/८३ मा यो दर ६२.६० प्रतिशतमा झरेको छ।
न्यायाधीश ज्ञवालीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी हुँदा करिब चार महिनासम्म मुद्दाको सुनुवाइ प्रभावित भएकाले फर्छ्योट दरमा कमी आएको बताए।
उनका अनुसार आगलागीबाट प्रभावित मिसिलहरूको पुनःप्राप्ति तथा प्रमाणीकरणको कार्य भने शतप्रतिशत सम्पन्न गरिएको छ। आर्थिक वर्षभरिमा ७५३ वटा जलेका मिसिलको प्राप्ति र प्रमाणीकरण गरिएको अदालतले जनाएको छ।
यसैबीच, बाँके र बर्दिया जिल्ला अदालतले पनि आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य संख्यामा मुद्दा फर्छ्योट गरेका छन्। बाँके जिल्ला अदालतले कुल सात हजार ४७ मुद्दामध्ये दुई हजार ७३३ मुद्दा टुंग्याएको छ भने चार हजार ३१४ मुद्दा अझै विचाराधीन छन्। यस आधारमा बाँके जिल्ला अदालतको मुद्दा फर्छ्योट दर करिब ३८.८ प्रतिशत रहेको छ।
त्यसैगरी, बर्दिया जिल्ला अदालतले उक्त अवधिमा एक हजार ३१२ मुद्दा फर्छ्योट गरेको जनाएको छ।
