कृष्णभीरमा ट्रयाक खुलेपछि २० भन्दा बढी ठूला सवारी गुडे, असोज १ बाट नियमित सञ्चालनको तयारी
काठमाडौं । त्रिशूली र भोटेकोसी नदीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक कटान गरेपछि अवरुद्ध भएको मार्गमा आइतबार परीक्षणस्वरूप ठूला सवारीसाधन सञ्चालन गरिएको छ। सडक विभागका अनुसार काठमाडौं र चितवन दुवैतर्फबाट गरी ग्यास बुलेटसहित करिब २० वटा ठूला सवारीसाधन निर्माण गरिएको नयाँ ट्रयाक हुँदै सफलतापूर्वक आवतजावत गरेका छन्। चितवनबाट काठमाडौं आउनेतर्फ भने एउटा भारी सवारीसहित केही हलुका सवारी पनि सञ्चालन गरिएको विभागले जनाएको छ।
विभागले जारी गरेको विज्ञप्तिमा निर्माणाधीन ट्रयाकको अवस्था र सवारी सञ्चालनको सम्भाव्यता परीक्षण गर्न सवारीसाधन चलाइएको उल्लेख छ। परीक्षण सफल भए पनि सडक स्तरोन्नति तथा सुरक्षासम्बन्धी बाँकी काम पूरा भइनसकेकाले तत्कालै नियमित आवागमन खुला नगरिएको विभागले स्पष्ट पारेको छ।
असोज १ गतेदेखि कृष्णभीर खण्डलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेर सडक निर्माण तथा सुरक्षाका काम तीव्र पारिएको विभागले जनाएको छ।
सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म कृष्णभीर खण्डमा सवारी आवागमन बन्द रहने भएकाले सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा वैकल्पिक मार्ग प्रयोगसम्बन्धी निर्देशन पालना गर्न सडक विभागले यात्रु तथा चालकलाई आग्रह गरेको छ।
गत भदौ १० र १४ गते त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्गको करिब १०० मिटर सडक नदी कटानमा परेर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसपछि सडक विभागले करिब १५ दिन लगाएर वैकल्पिक ट्रयाक निर्माण गरी सवारी परीक्षण गर्न सक्ने अवस्थामा पुर्याएको हो।
