पर्यटकीय यातायातमा विद्युतीय सवारीको दबदबा
काठमाडौं । नेपालमा पर्यटक ओसारपसार गर्ने साना तथा मझौला सवारी साधनको बजार तीव्र रूपमा विद्युतीकरण हुँदै गएको छ। काठमाडौं उपत्यका र प्रमुख पर्यटकीय गन्तव्यमा सञ्चालन हुने पर्यटकीय कारमध्ये करिब ९० प्रतिशत विद्युतीय सवारी साधन (ईभी) मा रूपान्तरण भएको व्यवसायीहरूले बताएका छन्।
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) का अनुसार पेट्रोल तथा डिजेल गाडीको तुलनामा सञ्चालन र मर्मत खर्च कम पर्ने भएपछि व्यवसायीहरू ईभीतर्फ आकर्षित भएका हुन्।
संघका पूर्वअध्यक्ष तथा महालक्ष्मी भेइकलका प्रबन्ध निर्देशक रामहरि शर्माका अनुसार हाल पर्यटकीय सेवामा सञ्चालन भइरहेका साना कारमध्ये ईभीको हिस्सा करिब ९० प्रतिशत पुगेको छ। उनका अनुसार खरिद लागत इन्धन गाडीसँग धेरै फरक नभए पनि नियमित सञ्चालन खर्चमा ठूलो बचत हुने भएकाले व्यवसायीका लागि ईभी आकर्षक बनेको हो।
पर्यटकीय ईभी बजारमा चिनियाँ ब्रान्ड बीवाईडीको उपस्थिति बलियो छ। त्यसबाहेक सिजी नेटा, किया र ओमोडालगायतका ब्रान्डका विद्युतीय कार पनि पर्यटक सेवामा प्रयोग भइरहेका छन्।
सञ्चालन खर्च घटेपछि ईभीप्रति आकर्षण
व्यवसायीका अनुसार ईभीको सबैभन्दा ठूलो फाइदा कम सञ्चालन तथा मर्मत खर्च हो। सामान्य इन्धन गाडीको नियमित सर्भिसिङमा करिब २० हजार रुपैयाँ खर्च हुने अवस्थामा ईभीको खर्च करिब २ हजार रुपैयाँसम्ममा सीमित हुने उनीहरूको दाबी छ।
पेट्रोल तथा डिजेलको मूल्यमा हुने निरन्तर उतारचढावबाट व्यवसायमा पर्ने असर पनि ईभीले कम गर्ने व्यवसायीहरूको भनाइ छ। पर्यटन यातायातमा सवारी साधन लामो समय सञ्चालन गर्नुपर्ने भएकाले इन्धन खर्च घट्नुले समग्र सञ्चालन लागतमा उल्लेख्य प्रभाव पार्ने उनीहरू बताउँछन्।
ठूला पर्यटकीय सवारीमा भने विद्युतीकरण सुस्त
साना पर्यटकीय कारमा ईभीको प्रयोग तीव्र भए पनि ठूला भ्यान तथा टुरिस्ट बसमा विद्युतीकरण अझै प्रारम्भिक चरणमै छ। १६ सिट क्षमताका किङलङ र केवाइसीका विद्युतीय भ्यान प्रयोगमा आउन थाले पनि ठूला पर्यटकीय सवारीका लागि पर्याप्त विद्युतीय विकल्प उपलब्ध नहुँदा रूपान्तरणको गति सुस्त रहेको व्यवसायीहरूको भनाइ छ।
काठमाडौं उपत्यकामा ईभीको प्रयोग उल्लेख्य भए पनि उपत्यकाबाहिर भने यसको विस्तार तुलनात्मक रूपमा कम छ। लामो दूरीका लागि चार्जिङ पूर्वाधार, सवारीको क्षमता र बजारमा उपलब्ध मोडलले पनि यसको विस्तारमा प्रभाव पारिरहेको व्यवसायीहरू बताउँछन्।
हजारौँ पर्यटकीय सवारीमध्ये अधिकांश ईभी
एनटीभीएका अध्यक्ष भीमबहादुर गोलेका अनुसार काठमाडौंमा मात्रै संघमा करिब ११० पर्यटकीय यातायात कम्पनी आबद्ध छन्। ती कम्पनीसँग ४ हजारभन्दा बढी पर्यटकीय सवारी साधन रहेकोमा अफ–सिजनका कारण अहिले दैनिक करिब एक हजार सवारी मात्र सञ्चालनमा छन्।
पर्यटकीय सवारी पर्यटन विभागमा दर्ता भएर हरियो नम्बर प्लेटमा सञ्चालन हुने भए पनि राज्यबाट पर्याप्त सुविधा र प्रोत्साहन नपाएको व्यवसायीहरूको गुनासो छ।
गोलेले पर्यटकलाई व्यवस्थित र मर्यादित यातायात सेवा उपलब्ध गराउन सबै पर्यटकीय सवारीलाई हरियो नम्बर प्लेटमै सञ्चालन गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताए। रातो नम्बर प्लेटका सवारी प्रयोग गर्दा कानुनी तथा ट्राफिकसम्बन्धी समस्या आउने गरेको उनको भनाइ छ।
लगानी सुरक्षाबारे अझै चिन्ता
ईभीको सञ्चालन खर्च कम भए पनि प्रारम्भिक लगानी र ब्याट्रीको दीर्घकालीन टिकाउपनबारे व्यवसायीहरू अझै पूर्ण रूपमा आश्वस्त हुन सकेका छैनन्। एउटा सानो पर्यटकीय ईभीको मूल्य ५० लाख रुपैयाँभन्दा माथि पर्ने भएकाले पर्यटनको सिजन र अफ–सिजनबीच आम्दानीमा आउने उतारचढावले किस्ता तथा कर्मचारी खर्च व्यवस्थापनमा चुनौती हुने गरेको व्यवसायीहरू बताउँछन्।
पर्यटकीय यातायातलाई विद्युतीय बनाउने अभियानलाई दिगो बनाउन सरकारले सहुलियतपूर्ण ऋण, कर सुविधा, चार्जिङ पूर्वाधार तथा अन्य प्रोत्साहन उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
‘ग्रीन टुरिजम’तर्फ महत्वपूर्ण कदम
टुरिस्ट बस एसोसिएसनका अध्यक्ष श्रीकान्त आचार्यका अनुसार संस्थामा आबद्ध व्यवसायीले पनि करिब २० वटा विद्युतीय सवारी सञ्चालन गरिरहेका छन्। संस्थासँग ३७ वटा टुरिस्ट बससहित करिब ४ सय सवारी साधन रहेको उनले बताए।
पर्यटकको वातावरणमैत्री यात्राप्रतिको बढ्दो रुचि र ईभीको कम सञ्चालन खर्चका कारण नेपालको पर्यटकीय यातायात क्रमशः हरित यातायाततर्फ अघि बढिरहेको देखिन्छ।
साना पर्यटकीय सवारीमा ईभीको ९० प्रतिशत हाराहारीको हिस्सा पुग्नु नेपालमा ‘ग्रीन टुरिजम’ प्रवर्द्धनका लागि महत्वपूर्ण संकेत हो। अब ठूला पर्यटकीय सवारीको विद्युतीकरण, पर्याप्त चार्जिङ पूर्वाधार र सरकारी प्रोत्साहनलाई प्राथमिकता दिन सके नेपालको पर्यटन यातायातलाई थप वातावरणमैत्री बनाउन सकिने सम्भावना छ।
