व्यवसायीको मनोबल इतिहासकै कमजोर : अञ्जन श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पछिल्लो समय निजी क्षेत्रको मनोबल आफ्नो ३६ वर्षे व्यावसायिक यात्राकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन्।
नाडा अटो शो २०२६ को उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले उद्योग–व्यवसाय सञ्चालनमा कठिनाइ, मागमा आएको कमी र लगानीकर्ताको घट्दो आत्मविश्वासले अर्थतन्त्रमा अन्योल बढाएको बताए।
‘मेरो ३६ वर्षको व्यावसायिक करिअरमा अहिले जस्तो कमजोर मनोबल कहिल्यै देखेको थिइनँ,’ उनले भने, ‘व्यवसायीको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको छ।’
उनले सरकारले बजेटमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने, आगामी ५ देखि ७ वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने, अर्थतन्त्रको आकार १ सय अर्ब डलर बनाउने तथा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारे पनि त्यसअनुसारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए।
श्रेष्ठले ती लक्ष्य पूरा गर्न स्पष्ट रणनीति आवश्यक रहेकोमा त्यसको अभाव देखिएको दाबी गरे।
अटोमोबाइल क्षेत्रले राज्यलाई ठूलो राजस्व योगदान गरिरहेको उल्लेख गर्दै उनले गत आर्थिक वर्षमा करिब १ खर्ब ६ अर्ब रुपैयाँ बराबरका सवारीसाधन आयात हुँदा ८१ अर्ब रुपैयाँ राजस्व संकलन भएको बताए।
‘कुल १२ खर्ब रुपैयाँ राजस्वमा एउटै क्षेत्रले ८१ अर्ब योगदान गर्छ भने त्यो क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्छ,’ उनले भने।
उनले सवारीसाधनको आयात घटाउन र आयात प्रतिस्थापन गर्न नेपालमै अटोमोबाइल उद्योग तथा उत्पादनमूलक व्यवसाय विस्तार गर्नुपर्नेमा जोड दिए।
सरकार आफैं उद्योग सञ्चालन गर्ने दिशामा अघि बढ्न लागेकोप्रति पनि उनले प्रश्न उठाए। निजी क्षेत्रलाई प्रोत्साहन गरेर उद्योग विस्तार गर्नुपर्ने भन्दै उनले सरकारलाई ‘भुइँको टिप्दा पोल्टाको खस्न सक्ने’ अवस्थाप्रति सचेत रहन आग्रह गरे।
