लाङटाङमा अझै जोखिम : स्याटलाइटले देखायो झुन्डिएको हिमनदी, ०.१९ वर्गकिलोमिटरको ताल
तस्बिर: सिन्ह्वा
काठमाडौं। भदौ १० गते लाङटाङ लिरूङ क्षेत्रमा गएको ठूलो हिमपहिरोपछि पनि जोखिम टरिसकेको छैन। चीनबाट प्राप्त पछिल्ला स्याटलाइट तस्बिर तथा तथ्यांकले हिमपहिरो गएको क्षेत्रमा केही बरफ र चट्टानी भाग अझै झुन्डिएको देखाएको छ।
यससँगै, त्यही क्षेत्रमा पहिले बरफले ढाकिएको एउटा ताल पनि फेरि सतहमा देखिन थालेको छ। उक्त तालको क्षेत्रफल करिब ०.१९ वर्गकिलोमिटर रहेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। यो क्षेत्रफल करिब २७ वटा अन्तर्राष्ट्रिय फुटबल मैदान बराबर हुन्छ।
केन्द्रका उप–कार्यकारी निर्देशक विक्रम श्रेष्ठका अनुसार चिनियाँ पक्षबाट प्राप्त पछिल्ला स्याटलाइट तस्बिर र तथ्यांकले यी दुई विषयलाई विशेष रूपमा देखाएको हो।
तर अहिले नै अर्को ठूलो हिमपहिरो जाने निष्कर्षमा पुग्न भने नसकिने उनको भनाइ छ।
‘अझै कति बरफ वा चट्टान बाँकी छ, त्यो कहिले खस्छ र तत्कालै खस्ने सम्भावना कति छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन,’ श्रेष्ठले बताए।
८० प्रतिशत खस्यो, २० प्रतिशत बाँकी हुनसक्ने अनुमान
भदौ १० गते लाङटाङ लिरूङको उत्तरी मोहडाबाट हिमनदीको अगाडिको भागसँगै ठूलो परिमाणमा चट्टान खसेको थियो। तर हिमनदी र त्यसलाई अड्याइरहेको चट्टानी संरचना पूर्ण रूपमा भत्किएको थिएन।
श्रेष्ठका अनुसार प्रारम्भिक आकलनमा खसेको भाग करिब ८० प्रतिशत र बाँकी भाग करिब २० प्रतिशत हुनसक्ने देखिन्छ। यद्यपि यो प्रतिशतलाई अहिलेसम्म वैज्ञानिक रूपमा प्रमाणित तथ्यका रूपमा लिन नमिल्ने उनले स्पष्ट पारे।
चिनियाँ एकेडेमी अफ साइन्सेसअन्तर्गतको इन्स्टिच्युट अफ टिबेटन प्लेटू रिसर्चले गरेको अध्ययनले भदौ १० गते खसेको बरफ तथा चट्टानको आकार पनि अनुमान गरेको छ।
अध्ययनअनुसार खसेको संरचना करिब ९८० मिटर चौडा र ७८० मिटर लामो थियो। यसको क्षेत्रफल करिब ०.७६ वर्गकिलोमिटर र परिमाण ७ करोड घनमिटरभन्दा बढी रहेको अध्ययनले देखाएको छ।
हिमालबाट खसेको यो विशाल पिण्ड तलतिर झर्दै गर्दा बाटोमा थप चट्टान तथा अन्य सामग्री पनि मिसिएको चिनियाँ अध्ययनको निष्कर्ष छ।
तर अहिले बाँकी रहेको भागको आकार वा आयतन कति हो भन्ने तथ्यांक भने सार्वजनिक भइसकेको छैन।
पहिरोअघि नै असामान्य गति
चिनियाँ अनुसन्धानले लाङटाङ लिरूङको भौगोलिक गतिविधिबारे अर्को महत्त्वपूर्ण संकेत पनि दिएको छ।
स्याटलाइटबाट गरिएको विश्लेषणअनुसार भदौ १० गतेको घटना हुनुभन्दा करिब दुई साताअघि पहाडको उक्त भागमा असामान्य गति देखिएको थियो।
अगस्ट १२ देखि २४ सम्म चट्टानी भाग दैनिक औसतमा करिब ०.४ मिटर सरेको अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले यस्तो गति जोखिमको सम्भावित पूर्वसंकेत हुनसक्ने बताएका छन्।
तर यसलाई ‘फलानो दिन पहिरो जान्छ’ भनेर गरिएको पूर्वानुमान भने मान्न नमिल्ने श्रेष्ठ बताउँछन्। यो घटना भइसकेपछि स्याटलाइट तथ्यांकको विश्लेषणबाट निकालिएको निष्कर्ष हो।
अब मुख्य चासो भने बाँकी रहेको बरफ तथा चट्टानी भागमा पनि त्यस्तै असामान्य हलचल भइरहेको छ कि छैन भन्नेमा छ।
त्यसैले लाङटाङ लिरूङ क्षेत्रमा स्याटलाइटमार्फत निरन्तर निगरानी आवश्यक देखिएको छ।
पहिले बरफले छोपेको ताल फेरि सतहमा
स्याटलाइट तस्बिरले देखाएको अर्को विषय हो—लाङटाङ लिरूङ क्षेत्रमा रहेको एउटा ताल।
श्रेष्ठका अनुसार यो ताल यसअघि बरफले ढाकिएको अवस्थामा थियो। पछिल्लो घटनापछि भने पानीको सतह पुनः स्पष्ट रूपमा देखिन थालेको छ।
अहिलेसम्म यसको क्षेत्रफल ०.१९ वर्गकिलोमिटर रहेको जानकारी प्राप्त भएको छ। तर तालको गहिराइ, पानीको कुल मात्रा, पानी बाहिर निस्कने अवस्था र यसको वास्तविक जोखिमबारे विस्तृत अध्ययन हुन बाँकी छ।
प्राविधिक रूपमा यसलाई ‘englacial lake’ भनिन्छ। हिमनदीभित्र वा बरफले ढाकिएको अवस्थामा रहेको पानीको संरचना सतहमा देखिन थालेको अवस्थालाई यससँग जोडेर अध्ययन गरिन्छ।
तालले पहाडलाई कस्तो असर गर्छ?
तालमा जम्मा भएको पानीको मात्रा मात्र होइन, त्यसको बहाव र वरपरको भौगोलिक संरचनासँगको सम्बन्ध पनि जोखिम मूल्यांकनका लागि महत्त्वपूर्ण हुन्छ।
यदि तालको पानी चट्टानका चिरा वा कमजोर संरचनाभित्र प्रवेश गरिरहेको छ भने त्यसले चट्टानी भागलाई थप कमजोर बनाउन सक्ने सम्भावना हुन्छ। यस्तो अवस्थामा हिमनदी तथा पहाडको स्थिरतामा असर पर्न सक्छ।
त्यसैले तालको क्षेत्रफल मात्र होइन, यसको पानीको मात्रा, गहिराइ, निकासको अवस्था र वरपरका चट्टानमा भइरहेको परिवर्तनसमेत नियमित रूपमा अध्ययन गर्नुपर्ने श्रेष्ठको भनाइ छ।
जोखिमको समय भने अझै अनिश्चित
पछिल्लो स्याटलाइट सूचनाले लाङटाङ लिरूङमा जोखिम समाप्त नभएको संकेत गरे पनि अर्को हिमपहिरो कहिले जान्छ भन्ने निष्कर्ष दिएको छैन।
अहिलेको वैज्ञानिक जानकारीले यति मात्र देखाउँछ—भदौ १० गतेको ठूलो हिमपहिरोपछि पनि केही बरफ तथा चट्टानी भाग बाँकी छन् र पहिले बरफले ढाकिएको ताल फेरि देखिन थालेको छ।
त्यसकारण बाँकी संरचनाको गति, तालको अवस्था र पहाडको भौगोलिक परिवर्तनलाई निरन्तर निगरानी गर्नु नै तत्कालको मुख्य आवश्यकता देखिएको छ।
तस्बिर: सिन्ह्वा
