बाढीले भत्काएको भोटेकोशी–त्रिशूली पर्यटन : पूर्वाधारसँगै पर्यटकको विश्वास फर्काउने चुनौती
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले सडक, होटल र पदमार्ग मात्रै क्षतिग्रस्त बनाएको छैन, नेपालको महत्वपूर्ण पर्यटन करिडोरको नियमित गतिविधिमै धक्का पुर्याएको छ।
लाङटाङ, गोसाइँकुण्ड, पार्वती कुण्ड, नाथलीदेखि कैलाश–मानसरोवर यात्रासम्म जोडिने यस क्षेत्रमा पर्यटन पूर्वाधारमा ठूलो क्षति भएपछि सरकारले अब भौतिक पुनर्निर्माणसँगै पर्यटकको विश्वास पुनःस्थापित गर्ने रणनीति बनाउन थालेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्दै पुनरुत्थानको योजना तयार पारिरहेका छन्।
सरकारी निकाय, पर्यटन बोर्ड र निजी क्षेत्रबीचको समन्वयमा होटल, रेस्टुरेन्ट, यातायात, पदमार्ग, पर्यटकीय सम्पदा तथा पर्यटन श्रमिकमा परेको असरको विवरण संकलन भइरहेको छ।
५० अर्बभन्दा बढीको प्रारम्भिक क्षति
पर्यटनमन्त्री खड्कराज पौडेलले संसदीय समितिमा दिएको जानकारीअनुसार बाढीबाट पर्यटन क्षेत्रमा मात्र ५० अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति भएको अनुमान छ।
बाढीले १४२ होटलमा क्षति पुर्याएको छ भने ५७ रेस्टुरेन्ट प्रभावित भएका छन्। १४१ वटा सवारीसाधनमा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ।
त्यसैगरी लाङटाङ, गोसाइँकुण्ड, पार्वती कुण्ड र नाथलीतर्फ जाने पदमार्गमा क्षति पुगेको छ। विभिन्न स्मारक, पार्क तथा धार्मिक सम्पदासमेत बाढीको चपेटामा परेका छन्।
यसको प्रत्यक्ष असर पर्यटन व्यवसायीमा मात्र होइन, गाइड, होटल तथा रेस्टुरेन्टका कर्मचारी, यातायात मजदुर र अन्य पर्यटनसँग जोडिएका परिवारको आम्दानीमा समेत परेको छ।
पर्यटकको खोजी अझै चुनौती
बाढीपछि पर्यटन क्षेत्रमा मानवीय क्षतिको तस्वीरसमेत गम्भीर छ।
पर्यटन विभागका अनुसार ३७ मुलुकका ६०७ पर्यटक अझै बेपत्ता रहेको तथ्यांक छ। तीमध्ये भारतीय पर्यटकको संख्या १८९ छ। अमेरिकाका ६५, युक्रेनका ५४, चीनका ३७, अस्ट्रेलियाका ३३, बेलायतका ३२ र क्यानडाका ३० जना रहेको विभागको विवरण छ।
पर्यटन व्यवसायी तथा श्रमिकतर्फको मानवीय क्षतिको पूर्ण विवरण भने संकलनकै क्रममा छ।
अब ‘टुरिज्म रिकभरी साइकल’
पर्यटन बोर्डले प्रभावित क्षेत्रमा पुनः पर्यटन गतिविधि सञ्चालन गर्न ‘टुरिज्म रिकभरी साइकल’ बनाउने तयारी गरेको छ।
यसअन्तर्गत क्षतिको तथ्यांक संकलनदेखि वैकल्पिक सडक तथा पदमार्ग पहिचान, पर्यटकलाई नियमित सूचना प्रवाह र अन्तर्राष्ट्रिय बजारमा नेपालको वास्तविक अवस्थाबारे जानकारी पुर्याउनेसम्मका कार्यक्रम समेटिनेछन्।
पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा द्रुत प्रतिक्रिया टोलीसमेत गठन गरिएको छ। निजी क्षेत्रका पर्यटन संघसंस्थाका प्रतिनिधिसँगको समन्वयमा प्रभावित क्षेत्रको अवस्था अध्ययन र पुनरुत्थानका उपाय पहिचान गर्ने काम अघि बढाइएको छ।
होटल तथा रेस्टुरेन्टलगायत पर्यटन व्यवसायको क्षति विवरण संकलन गर्न अनलाइन फारमसमेत उपलब्ध गराइएको छ।
लाङटाङ र कैलाश यात्रालाई कसरी फर्काउने?
बाढीबाट प्रभावित क्षेत्रका पर्यटन गतिविधि पुनः सञ्चालन गर्न तत्काल वैकल्पिक पहुँच आवश्यक देखिएको छ।
लाङटाङ क्षेत्रमा चालु पर्यटकीय सिजनमै पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेलीब्रिज निर्माणका लागि सरकारसँग पहल गर्ने निर्णय भएको छ।
त्यस्तै रसुवाको धुन्चे पुग्ने वैकल्पिक सडकको नक्सा तयार गर्ने काम अघि बढाइने भएको छ।
कैलाश–मानसरोवर यात्रामा समेत बाढीका कारण परेको प्रभाव कम गर्न नेपाल–चीन सीमामा वैकल्पिक नाका सञ्चालनका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरिएको छ।
यसले नेपाल हुँदै कैलाश–मानसरोवर जाने पर्यटकको यात्रालाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पर्यटकलाई ‘नेपाल सुरक्षित छ’ भन्ने सूचना कसरी दिने?
भौतिक संरचना पुनर्निर्माण जत्तिकै अर्को चुनौती नेपालको पर्यटन छवि जोगाउनु हो।
बाढी प्रभावित केही क्षेत्रमा भएको क्षतिका कारण अन्तर्राष्ट्रिय पर्यटकमा सम्पूर्ण नेपाल नै असुरक्षित रहेको धारणा बन्न सक्ने जोखिम पर्यटन व्यवसायीहरूले औंल्याएका छन्।
त्यसैले प्रभावित र सुरक्षित गन्तव्यलाई छुट्याएर वास्तविक अवस्थाबारे नियमित सूचना दिनुपर्ने आवश्यकता देखिएको छ।
पर्यटन बोर्डले नेपालका सुरक्षित गन्तव्यमा पर्यटन गतिविधि नियमित रहेको सन्देश अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने योजना अघि सारेको छ। सडक तथा गन्तव्यको अवस्थाबारे नेपाल प्रहरीको ट्राफिक कार्यालय र पर्यटक प्रहरीबाट प्राप्त सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने तयारीसमेत छ।
विश्व पर्यटन संगठन, पाटा लगायत अन्तर्राष्ट्रिय पर्यटन संस्थासँग समन्वय गरी नेपालको वास्तविक पर्यटन अवस्थाबारे जानकारी दिने र नेपालमा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग संवाद गर्ने योजना पनि बनाइएको छ।
भूकम्पपछिको अनुभवबाट के सिक्ने?
नेपालले यसअघि पनि ठूलो विपत्तिपछि पर्यटन पुनरुत्थानको अभ्यास गरिसकेको छ।
२०७२ सालको भूकम्पपछि पर्यटकमा नेपाल असुरक्षित रहेको धारणा बढेको थियो। त्यसपछि पर्यटन बोर्डको अगुवाइमा ‘घुमफिर वर्ष’ लगायतका अभियान सञ्चालन गरिएका थिए। नेपालका सुरक्षित क्षेत्रबारे सकारात्मक सन्देश प्रवाह गर्नु त्यसबेलाको पुनरुत्थान प्रयासको एउटा महत्वपूर्ण हिस्सा थियो।
अहिलेको अवस्थामा पनि त्यही अनुभवलाई नयाँ प्रविधि र डिजिटल माध्यमसँग जोडेर प्रयोग गर्नुपर्ने आवश्यकता देखिन्छ।
पर्यटकलाई केवल ‘नेपाल सुरक्षित छ’ भन्ने सामान्य सन्देश दिनुभन्दा कुन गन्तव्य खुला छ, कुन सडक चलिरहेको छ, कुन पदमार्ग सुरक्षित छ र कहाँ तत्काल जान मिल्दैन भन्ने प्रमाणमा आधारित सूचना उपलब्ध गराउनु प्रभावकारी हुने देखिन्छ।
निजी क्षेत्रको प्रश्न : बुकिङ जोगाउने अभियान कहिले?
पर्यटन व्यवसायीहरूका अनुसार बाढीपछि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनसम्बन्धी नकारात्मक धारणा फैलिन थालेको छ। मुख्य पर्यटकीय सिजन नजिकिँदै गर्दा केही अग्रिम बुकिङ रद्द हुन थालेको उनीहरूको भनाइ छ।
होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहले बुकिङ रद्द हुने क्रम देखिएको भन्दै यसलाई रोक्न तत्काल प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताएका छन्।
अबको पुनरुत्थान त्यसैले सडक, पुल र होटल पुनर्निर्माणमा मात्र सीमित हुने छैन।
पर्यटन व्यवसाय चलाउने पूर्वाधार पुनःनिर्माण, प्रभावित श्रमिकको रोजगारी जोगाउने व्यवस्था, सुरक्षित गन्तव्यको विश्वसनीय सूचना र अन्तर्राष्ट्रिय बजारमा नेपालको विश्वास पुनःस्थापना—यी सबैलाई एउटै योजनामा जोड्नु चुनौती हुनेछ।
भोटेकोशी–त्रिशूली करिडोरको पर्यटन पुरानै अवस्थामा फर्किन कति समय लाग्छ भन्ने कुरा पुनर्निर्माणको गति मात्र होइन, पर्यटकले नेपाललाई फेरि कति छिटो सुरक्षित र पहुँचयोग्य गन्तव्यका रूपमा स्वीकार गर्छन् भन्नेमा पनि निर्भर हुनेछ।
