तीन अध्यादेश राष्ट्रपति कार्यालयमा पुगे, राष्ट्रपतिसमक्ष पेश हुन बाँकी
काठमाडौं— सरकारले जारी गर्न सिफारिस गरेका तीन वटा अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन्। बिहीबार साँझ करिब ५ बजे अध्यादेशहरू राष्ट्रपति कार्यालयमा प्राप्त भएका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने, वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने तथा विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो।
भोटेकोशीमा आएको बाढीबाट उत्पन्न परिस्थितिलाई समेत ध्यानमा राखेर विपद्सम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्न लागिएको सरकारले जनाएको छ। प्रस्तावित अध्यादेशमा विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई लामो समय कुर्नुपर्ने व्यवस्था घटाएर ४५ दिनमै मृत घोषणा गर्न सकिने प्रावधान राखिएको छ। हालको कानुनी व्यवस्थाअनुसार बेपत्ता भएको १२ वर्षपछि मात्रै मृत घोषणा गर्न सकिने व्यवस्था रहेको छ।
भूमिसम्बन्धी अध्यादेशमा भने भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समेटिएको छ। राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि त्यसमा उल्लेखित कानुनी व्यवस्था कार्यान्वयनमा आउनेछ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले तीन वटै अध्यादेश कार्यालयमा प्राप्त भए पनि राष्ट्रपतिसमक्ष औपचारिक रूपमा पेश गर्न बाँकी रहेको जानकारी दिएका छन्।
उनका अनुसार अध्यादेशहरू बिहीबार साँझ करिब ५ बजे राष्ट्रपति कार्यालयमा आइपुगेका हुन्।
