बेनी–जोमसोम–कोरला सडकमा जोखिम कायमै, मर्मतपछि मात्रै नियमित यातायात सञ्चालन हुने
म्याग्दी । चीनसँगको कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको मर्मत कार्य अन्तिम चरणमा पुगे पनि यातायातलाई नियमित, सुरक्षित र सहज बनाउन अझै केही समय लाग्ने भएको छ। बाढीपहिरोले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएपछि अहिले अत्यावश्यक सवारीसाधनलाई प्राथमिकतामा राखेर सीमित रूपमा आवागमन गराउने तयारी गरिएको छ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाकासम्म जोड्ने २०२ किलोमिटर लामो सडकमा व्यापक क्षति पुर्याएको हो। सडकका करिब ५० स्थानमा पहिरो खसेको, विभिन्न भाग भासिएको तथा १० स्थानमा कालीगण्डकी नदीको कटानले सडक बगाएको थियो।
क्षतिग्रस्त सडक मर्मतको काम अघि बढेसँगै म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा पुलको पहुँचमार्ग तयार गरिएको छ। बिहीबार साँझ ती स्थानबाट अत्यावश्यक सवारीसाधन आवतजावत गर्न सकेका छन्।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार प्रारम्भिक मर्मतपछि पनि पहिरो हटाउने, भासिएका तथा नदीले कटान गरेका भाग भर्ने, सडकको सतह मिलाउने र आवश्यक संरचना निर्माण गर्ने काम बाँकी छ। सडकलाई तत्काल पूर्ण रूपमा सञ्चालन गर्दा दुर्घटना तथा यातायात अव्यवस्थित हुने जोखिम रहेकाले आइतबारसम्म मर्मत सम्पन्न गरी सोमबारदेखि आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको उनले बताए।
केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता र खहरेखोला क्षेत्र बाढी तथा पहिरोबाट बढी प्रभावित भएका छन्।
संघीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार म्याग्दी खण्डमा पछिल्लो समय कालोपत्र गरिएको तथा पहिरो प्रभावित क्षेत्रमा ढलानको काम भइरहेको ३३ किलोमिटर सडक खण्डमध्ये २० किलोमिटरभन्दा बढी भागमा क्षति पुगेको छ।
उनका अनुसार बाढीले सडकमा करिब ९० करोड रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक अनुमान छ। सडकलाई नयाँ डिजाइनअनुसार पुनर्निर्माण गर्न थप तीन अर्ब रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ। योजना सुरु भएयताकै ठूलो क्षति यसपटकको बाढीपहिरोले पुर्याएको पनि उनले बताए।
अत्यधिक वर्षा, कमजोर भौगोलिक अवस्था, नयाँ पहिरोको उत्पत्ति, सहायक नदीमा पानीको सतह बढ्नु तथा जलविद्युत् आयोजनाबाट नदी किनारमा फालिएका निर्माणजन्य सामग्रीले कालीगण्डकीमा बाढीको प्रभाव बढाएको सुवेदीको भनाइ छ।
सडक अवरुद्ध हुँदा कोरलानाकाबाट आउने मालवाहक सवारीसाधन, मुस्ताङका स्याउ तथा आलु बजार पुर्याउने ढुवानी र पर्यटकीय गतिविधिमा असर परेको छ। दसैँतिहारका कारण आन्तरिक यात्रु तथा सवारीसाधनको चाप बढ्ने समय भएकाले सडक सञ्चालन व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार कोरलानाकाबाट भन्सार प्रक्रिया पूरा गरी दसैँलाई लक्षित गरेर ल्याइएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर म्याग्दी र मुस्ताङका विभिन्न स्थानमा रोकिएका छन्। सडक सञ्चालनमा आएपछि अत्यावश्यक सेवा, मालवाहक सवारीसाधन, आन्तरिक यातायात र पर्यटकका सवारीसाधनलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए।
सडकका साँघुरा तथा जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरी सवारी जाम र सम्भावित दुर्घटना रोक्ने विषयमा पनि छलफल भएको छ। यसका लागि जनप्रतिनिधि तथा प्रदेशस्तरीय सुरक्षा अधिकारीसहितको टोलीले बिहीबार प्रभावित सडक खण्डको स्थलगत निरीक्षण गरेको थियो।
सडकको अवस्था पूर्ण रूपमा सहज नभएसम्म अनावश्यक यात्रा तथा घुमघामका कार्यक्रम केही दिन पछि सार्न प्रमुख जिल्ला अधिकारी गैरेले पर्यटकलाई आग्रह गरेका छन्। अत्यावश्यक सेवा, कन्टेनर तथा कृषि उपज ढुवानीलाई प्राथमिकता दिनुपर्ने भएकाले सबै सवारीसाधन एकैपटक सञ्चालन गर्दा समस्या बढ्न सक्ने प्रशासनको आकलन छ।
सडकमा यातायात सञ्चालनलाई व्यवस्थित बनाउने विषयमा शुक्रबार बिहान म्याग्दी र मुस्ताङका जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर थप कार्ययोजना बनाउने तयारी गरिएको छ। कोरलानाकासँगको व्यापारिक सम्पर्क, पर्यटन र स्थानीय जनजीवनका लागि महत्वपूर्ण मानिने यस सडकलाई सुरक्षित अवस्थामा सञ्चालनमा ल्याउन सम्बन्धित निकायले मर्मत तथा यातायात व्यवस्थापनलाई प्राथमिकता दिएका छन्।
