मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि बागलुङको पर्यटन र व्यापार प्रभावित
बागलुङ। कालीगण्डकी नदीमा आएको बाढीले मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुर्याएपछि बागलुङको पर्यटन, व्यापार तथा दैनिक जनजीवन प्रभावित भएको छ। दसैँको समयमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरेका होटल तथा व्यवसायी मुख्य सडक अवरुद्ध भएपछि निराश बनेका छन्।
बागलुङ प्रवेश गर्ने प्रमुख मार्ग अवरुद्ध हुँदा कालिका मन्दिर, पञ्चकोट र ढोरपाटनलगायत पर्यटकीय स्थलमा घुम्न आउनेको सङ्ख्या घटेको छ। सामान्य अवस्थामा चाडपर्वका बेला पर्यटकले भरिने होटल तथा बजारमा यस वर्ष अपेक्षित गतिविधि देखिएको छैन।
गत असोज ११ गते आएको बाढीले पर्वततर्फ मालढुङ्गा पुलको पहुँचमार्ग बगाएपछि बागलुङ र पर्वतबीचको नियमित सडक आवागमन १२ दिनदेखि प्रभावित भएको छ। यसबाट मालढुङ्गा हुँदै म्याग्दी र मुस्ताङ जाने यात्रु तथा मालवाहक सवारीसाधनलाई समेत समस्या भएको छ।
होटल व्यवसायी एन्जील शाक्यका अनुसार मुख्य सडक अवरुद्ध हुँदा पर्यटकको आगमन घटेको छ। मुस्ताङ जाने पर्यटकसमेत बागलुङ हुँदै आवतजावत गर्ने भएकाले सडक बन्द हुँदा यहाँको होटल व्यवसायमा प्रत्यक्ष असर परेको उनले बताए। वैकल्पिक मार्ग प्रयोग गरेर आउने पर्यटकको सङ्ख्या कम भएकाले पुल पुनः सञ्चालनमा नआएसम्म व्यवसायमा थप नोक्सानी हुने उनको भनाइ छ।
भारत र चीनसँगको व्यापारिक सम्पर्क जोड्ने कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गका लागि मालढुङ्गा महत्त्वपूर्ण सडक केन्द्र हो। यहाँको अवरोधले बागलुङसँगै पश्चिम क्षेत्रका विभिन्न जिल्लातर्फ हुने आवागमनमा समेत असर पारेको छ।
वैकल्पिक बाटोले ढुवानी महँगियो
मुख्य सडक बन्द भएपछि यात्रुवाहक बस र साना मालवाहक सवारीसाधन फलेवास–बलेवा तथा मालढुङ्गा–बेनी हुँदै वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्। लामो दूरी र घुमाउरो बाटोका कारण सामान ढुवानी गर्न बढी समय र खर्च लाग्न थालेको व्यवसायीले बताएका छन्।
ग्यास विक्रेता हरि आचार्यका अनुसार वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर १५० देखि १७० रुपैयाँसम्म अतिरिक्त खर्च थपिएको छ। ढुवानी लागत बढेपछि बजारमा ग्यासको मूल्यसमेत १०० रुपैयाँले बढाउनुपरेको उनले जानकारी दिए।
सडक अवरुद्ध हुँदा तरकारी तथा अन्य खाद्यवस्तुको आपूर्तिमा पनि समस्या देखिएको छ। पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोगका सामग्रीको नियमित आपूर्ति प्रभावित भएको छ। यसले स्थानीय बजारको कारोबार तथा सर्वसाधारणको खर्चमा समेत असर पार्न थालेको छ।
स्वास्थ्य सेवाका लागि पोखरा जानुपर्ने बिरामी र नियमित उपचारमा रहेका नागरिकलाई पनि सास्ती भएको छ। कतिपयले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको छ भने केही यात्रुले पैदल हिँड्नुपर्ने अवस्था आएको छ।
दसैँअघि नै पुलको पहुँचमार्ग खुलाउने लक्ष्य
सडक डिभिजन कार्यालय पोखराले चाडपर्वअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउने उद्देश्यले मर्मतलाई तीव्रता दिएको छ। बाढीले करिब ३० मिटर सडकमा क्षति पुर्याएपछि पुनःस्थापना कार्य भइरहेको छ।
कार्यालय प्रमुख कृष्णराज अधिकारीका अनुसार अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या बढ्न थालेपछि चौबीसै घण्टा काम गरेर पहुँचमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। दसैँअघि नै सडक खुलाउन सके प्रभावित यातायात, व्यापार र पर्यटन गतिविधि क्रमशः सहज हुने अपेक्षा गरिएको उनले बताए।
११४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुगेपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्क अवरुद्ध भएको हो। यही मार्गले मध्यपहाडी लोकमार्गसँग जोड्दै बागलुङ, पूर्वी रुकुम र रोल्पातर्फको यातायातलाई पनि सेवा दिँदै आएको छ।
पुलको पहुँचमार्ग पुनः सञ्चालनमा आएपछि दैनिक उपभोग्य वस्तुको ढुवानी, यात्रु आवागमन र पर्यटकको चहलपहलमा सुधार आउने अपेक्षा गरिएको छ। तर, सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म स्थानीय व्यवसायी र सर्वसाधारणले थप कठिनाइ बेहोर्नुपर्ने देखिएको छ।
