भैरहवा हुँदै नेपाल छिर्ने हवाई बाटो कहिलेदेखि खुल्छ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं — भारतले भैरहवा हुँदै नेपाल प्रवेश गर्ने हवाई मार्गलाई दुईतर्फी बनाउन सहमति जनाएसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तार हुने अपेक्षा बढेको छ। तर, राजनीतिक तहमा सहमति जुटे पनि प्राविधिक प्रक्रिया पूरा हुन बाँकी रहेकाले यो ‘इन्ट्री रुट’ कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुंगो लागिसकेको छैन।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी–३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको हो। काठमाडौं–भैरहवा–लखनउ जोड्ने यो रुट दुईतर्फी सञ्चालनमा आएमा भारततर्फबाट आउने जहाजले भैरहवा हुँदै नेपाली आकाश प्रवेश गर्न पाउनेछन्।
नेपाल–भारतबीच जारी संयुक्त भिजन डकुमेन्टमा हवाई तथा स्थल कनेक्टिभिटी विस्तार गर्ने विषय समेटिएको छ। दुई देशका प्रधानमन्त्रीबीचको वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा पनि बी–३४५ रुटलाई दुईतर्फी बनाउने सहमति उल्लेख छ।
तर, विगतमा भएका यस्तै सहमति कार्यान्वयनमा नआएका कारण यसपटकको सहमति पनि प्राविधिक तहमा पुगेर अल्झिने हो कि भन्ने आशंका कायमै छ। यसअघि भारतले विराटनगर, जनकपुर र महेन्द्रनगरतर्फका हवाई प्रवेश विन्दुका विषयमा सकारात्मक संकेत दिए पनि तीमध्ये धेरै विषय व्यवहारमा कार्यान्वयन हुन सकेका छैनन्।
कार्यान्वयनका लागि प्राविधिक सहमति आवश्यक
बी–३४५ रुटलाई दुईतर्फी सञ्चालन गर्नुअघि नेपाल र भारतका नागरिक उड्डयन अधिकारीबीच केही प्राविधिक विषय टुंग्याउनुपर्नेछ। विशेषगरी भारतीय एयर ट्राफिक कन्ट्रोलले नेपाली एयर ट्राफिक कन्ट्रोललाई जहाज कुन उचाइमा हस्तान्तरण गर्ने भन्ने विषयमा सहमति आवश्यक पर्नेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार भारतीय पक्षबाट कम उचाइमै जहाजलाई नेपाली आकाश प्रवेशको अनुमति प्राप्त भएमा यसबाट भैरहवा मात्र होइन, काठमाडौं र पोखरा विमानस्थललाई समेत लाभ पुग्नेछ।
लामो दूरीबाट आउने जहाजलाई उच्च उचाइबाट मात्र नेपाल प्रवेशको अनुमति दिइएमा नेपाली आकाशमा प्रवेश गरेपछि थप फन्को लगाएर उचाइ घटाउनुपर्ने हुन्छ। त्यसो हुँदा नयाँ रुटबाट प्राप्त हुने समय र इन्धन बचतको उद्देश्य नै कमजोर हुन सक्छ।
हाल लखनऊ–भैरहवा हुँदै बाहिरिने जहाजका कारण यो रुटसँग सम्बन्धित आवश्यक उडान तथ्यांकसमेत उपलब्ध छन्। त्यसैले प्राविधिक सहमति भएपछि कार्यान्वयन प्रक्रिया तुलनात्मक रूपमा छिटो अघि बढाउन सकिने अधिकारीहरूको भनाइ छ।
उडान समय घट्दा लागत पनि घट्ने
भैरहवा इन्ट्री रुट दुईतर्फी सञ्चालनमा आएमा भारतबाट नेपाल आउने जहाजको उडान दूरी घट्नेछ। प्राधिकरणका एक उच्च अधिकारीका अनुसार लखनऊबाट भैरहवा हुँदै प्रवेश गर्दा सिमरा हुँदै आउने मार्गको तुलनामा भैरहवाका लागि करिब १७ मिनेट र पोखराका लागि करिब १४ मिनेटसम्म उडान समय बचत हुन सक्छ।
ठूला व्यावसायिक जहाजका लागि केही मिनेटको उडान समय घट्नुले पनि इन्धन तथा सञ्चालन खर्चमा उल्लेख्य बचत गराउन सक्छ। यसको अप्रत्यक्ष लाभ हवाई टिकटको मूल्यदेखि विमान कम्पनीको सञ्चालन लागतसम्म पर्न सक्ने अपेक्षा गरिएको छ।
यसले भारतका विभिन्न सहरबाट भैरहवा, पोखरा र काठमाडौं आउने उडानलाई थप सहज बनाउन सक्छ। विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक उपयोग बढाउन यो रुट महत्त्वपूर्ण हुने देखिएको छ।
आईएलएस सञ्चालनमा पनि सहजता
भैरहवा इन्ट्री रुट सञ्चालनमा आउनु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक क्षमताका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ। भारतीय एयरस्पेस प्रयोग गर्दै जहाजलाई भैरहवा प्रवेश गराउने बाटो खुलेपछि विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) प्रभावकारी रूपमा सञ्चालन गर्ने वातावरण बन्ने अधिकारीहरूको भनाइ छ।
आईएलएसको प्रभावकारी प्रयोगले खराब मौसम र कम दृश्यता भएको समयमा समेत विमान अवतरणलाई सहज बनाउन सक्छ। विशेषगरी तराई क्षेत्रमा जाडोयाममा देखिने बाक्लो हुस्सुका कारण हुने उडान अवरोध घटाउन यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नियमित उडानका लागि विमानस्थलको पूर्वाधार मात्र पर्याप्त हुँदैन। सुरक्षित र भरपर्दो हवाई प्रवेश तथा प्रस्थान मार्गसमेत आवश्यक हुन्छ। त्यसैले भैरहवा इन्ट्री रुटको कार्यान्वयनलाई विमानस्थलको दीर्घकालीन सञ्चालनसँग जोडेर हेरिएको छ।
आईसीएओलाई जानकारी गराउनुपर्ने
नेपाल र भारतका प्राविधिक अधिकारीबीच आवश्यक सहमति भएपछि त्यसको विवरण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) लाई जानकारी गराउनुपर्ने हुन्छ। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक उड्डयन सूचना जारी गरेपछि नयाँ व्यवस्थाअनुसार रुट सञ्चालनमा आउनेछ।
यसका लागि द्विपक्षीय प्राविधिक छलफल, उडान सुरक्षा तथा एयर ट्राफिक व्यवस्थापनसँग सम्बन्धित प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यसैले राजनीतिक तहमा भएको सहमतिपछि अब मुख्य चासो प्राविधिक कार्यान्वयनमा केन्द्रित भएको छ।
महेन्द्रनगर रुटको माग पनि कायमै
नेपालले लामो समयदेखि पश्चिमी नाकाबाट आउने अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगर प्रवेश विन्दुलाई प्राथमिकतामा राख्दै आएको छ। भैरहवा रुटमा सहमति भए पनि महेन्द्रनगर इन्ट्री प्वाइन्टलाई दुईतर्फी बनाउने विषयमा तत्काल ठोस सहमति भएको छैन।
महेन्द्रनगर रुट खुला भएमा पश्चिमबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानको दूरी अझ घट्ने र सुदूरपश्चिम तथा कर्णालीसँग हवाई सम्पर्क विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ। त्यसैले भैरहवा रुटको सहमतिसँगै महेन्द्रनगर प्रवेश विन्दुको विषयलाई पनि नेपालले निरन्तर उठाउनुपर्ने देखिन्छ।
अयोध्या–जनकपुर रेलले धार्मिक पर्यटनको बाटो खोल्दै
प्रधानमन्त्री शाहको भारत भ्रमणकै क्रममा जनकपुरधाम र अयोध्याबीच रेल सेवा सुरु हुनु नेपाल–भारत पर्यटन कनेक्टिभिटीको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
नेपालको जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने रेल सेवाले दुई धार्मिक सहरबीचको आवागमन सहज बनाउनेछ। यसले रामायणसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक पर्यटनलाई विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
करिब ६०४ किलोमिटरको यो रेलमार्गले जनकपुरधामलाई भारतका विभिन्न सहर हुँदै अयोध्यासँग जोडेको छ। सातामा एकपटक सञ्चालन हुने यो सेवाले दुई देशका तीर्थयात्री तथा धार्मिक पर्यटकका लागि नयाँ विकल्प थपेको छ।
जनकपुरधाम–अयोध्या रेल सेवासँगै नेपालले जनकपुरबाट पोखरालगायत अन्य पर्यटकीय गन्तव्यमा हवाई सम्पर्क विस्तार गर्ने योजना अघि सारेको छ। यसले भारतबाट जनकपुर आउने पर्यटकलाई नेपालका अन्य गन्तव्यसम्म लैजान ‘मल्टी–डेस्टिनेसन’ पर्यटनको सम्भावना बढाउन सक्छ।
हवाई र रेल कनेक्टिभिटीले पर्यटनलाई बल
नेपाल र भारतबीच पछिल्लो समय हवाई तथा रेल कनेक्टिभिटी विस्तारका विषयमा भएका सहमतिले पर्यटनका लागि नयाँ सम्भावना सिर्जना गरेको छ। भैरहवा इन्ट्री रुट सञ्चालनमा आएमा भारतका विभिन्न सहरबाट नेपाल आउने उडान सहज बन्नेछन् भने जनकपुर–अयोध्या रेलले धार्मिक पर्यटकको आवागमन बढाउन सक्छ।
नेपालले जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर तथा काठमाडौं–वाराणसीलाई जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट विकास गर्ने योजना अघि सारेको छ।
तर यी योजनाको वास्तविक लाभ पर्यटन क्षेत्रमा देखिनका लागि सहमति घोषणा मात्र पर्याप्त हुँदैन। हवाई रुट, सीमा पूर्वाधार, विमानस्थल सेवा, रेल कनेक्टिभिटी र गन्तव्यबीचको यातायातलाई व्यवहारमा सहज बनाउनुपर्ने हुन्छ।
भैरहवा इन्ट्री रुटको हकमा पनि अब राजनीतिक सहमतिपछि प्राविधिक प्रक्रिया कति छिटो अघि बढ्छ भन्ने विषय नै मुख्य बनेको छ। सहमति कार्यान्वयनमा आएमा यसले गौतमबुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तारसँगै नेपाल–भारत हवाई सम्पर्क र पर्यटन आवागमनमा समेत नयाँ ढोका खोल्न सक्छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
