सुन्तलाको बगानले बदलिँदै सलकपुरको पर्यटन र आम्दानी
इलाम — सुन्तलाको मौसम सुरु भएसँगै इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा पर्यटकको चहलपहल बढेको छ। पहेँलपुर बनेका बगान, बोटबाटै सुन्तला टिपेर खाने अवसर र ग्रामीण परिवेशको आकर्षणले सलकपुरलाई कृषि तथा पर्यटनको गन्तव्यका रूपमा चिनाउन थालेको छ।
पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा पर्ने सलकपुरमा करिब ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। यहाँका बगानमा अहिले सुन्तला पाकेर लटरम्म छन्। यही समयको फाइदा उठाउँदै आन्तरिक तथा भारतीय पर्यटक स्वाद लिन, बगान घुम्न र सुन्तलासँगै तस्बिर खिच्न सलकपुर पुगिरहेका छन्।
रोङ गाउँपालिका–६ का वडाध्यक्ष सत्यम राईका अनुसार पछिल्लो समय सलकपुरमा दैनिक करिब एक सय पर्यटक पुग्ने गरेका छन्। विशेषगरी शुक्रबार र शनिबार पर्यटकको संख्या उल्लेख्य बढ्ने गरेको स्थानीय बताउँछन्।
वडा कार्यालयका अनुसार सलकपुरमा वर्षमा औसत ४५० देखि ६०० मेट्रिक टनसम्म सुन्तला उत्पादन हुन्छ। मौसम अनुकूल हुँदा तथा रोग–किराको प्रकोप कम हुँदा उत्पादन अझ बढ्ने गरेको छ। सुन्तला बिक्रीबाट मात्रै स्थानीय क्षेत्रमा वार्षिक करिब तीनदेखि चार करोड रुपैयाँसम्मको कारोबार हुने गरेको बताइएको छ।
सुन्तला खेतीले स्थानीयको आम्दानी बढाउनुका साथै पर्यटनसँग जोडिएको नयाँ आर्थिक गतिविधि पनि सिर्जना गरेको छ। गाउँका एक सयभन्दा बढी परिवार प्रत्यक्ष रूपमा सुन्तला खेतीमा संलग्न छन्। पुराना बोट रोगका कारण नष्ट भएपछि किसानले नयाँ बगान विस्तारलाई समेत निरन्तरता दिइरहेका छन्।
सलकपुरको सुन्तला स्थानीय बजारमा मात्र सीमित छैन। झापाका काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरसम्म यहाँको उत्पादन पुग्छ। सीमापारि भारतको सिलिगुडी र नक्सलबारीमा समेत सलकपुरको सुन्तलाका रूपमा यसको बजार विस्तार भइरहेको छ।
स्थानीय देबेन खड्काका अनुसार सलकपुरमा करिब ३० घरमा होमस्टे सञ्चालनमा छन्। विशेषगरी शुक्रबार र शनिबार ती होमस्टेमा पाहुनाको चाप बढ्ने गरेको छ। झापाका बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतका विभिन्न क्षेत्रबाट समेत पर्यटक आउने गरेका छन्।
खड्काका अनुसार शुक्रबार र शनिबार निन्दा–सलकपुर पदमार्ग हुँदै पैदल तथा सवारीसाधनबाट आउने पर्यटकको संख्या ३०० देखि ५०० सम्म पुग्ने गरेको छ। भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक सलकपुर आउन थालेका छन्।
पर्यटकका लागि बगानमै सुन्तला खरिद गर्ने सुविधा पनि आकर्षण बनेको छ। बजारमा प्रतिकिलो २१० देखि २२० रुपैयाँसम्म पर्ने सुन्तला बगानमै पुग्दा करिब १३० रुपैयाँ प्रतिकिलोमा किन्न सकिने स्थानीय बताउँछन्। व्यापारीहरू पनि उत्पादन खरिद गर्न सिधै बगानमै पुग्ने गरेका छन्।
सुन्तलाको स्वादसँगै सलकपुर पुगेका पर्यटकले नजिकैको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यसमेत अवलोकन गर्न पाउँछन्। कृषि, पदयात्रा, ग्रामीण जीवन र प्राकृतिक दृश्यलाई एकैपटक अनुभव गर्न सकिने भएकाले सलकपुरको पर्यटन सम्भावना थप फराकिलो बन्दै गएको छ।
सलकपुरमा सुन्तला खेतीको इतिहास पनि पुरानो छ। विसं २००४ मा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले यहाँ सुन्तला खेती सुरु गरेको बताइन्छ। त्यसबेला दार्जिलिङबाट ल्याइएका बिरुवा रोपेर सुरु गरिएको खेती अहिले व्यावसायिक उत्पादनको आधार बनेको छ। पछिल्लो समय पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले समेत राम्रो उत्पादन दिइरहेका छन्।
सलकपुर आसपासका कुवापानी र जौबारी क्षेत्र पनि सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादनका लागि परिचित छन्। यसले कृषि उत्पादनलाई ग्रामीण पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्र विस्तार गर्ने सम्भावना देखाएको छ।
सलकपुरको सुन्तलाले सीमावर्ती बजारमा मात्र नभई भारतको कोलकातासम्म पनि पहिचान बनाएको छ। यहाँ उत्पादित सुन्तला प्रत्येक वर्ष कोलकातामा आयोजना हुने सुन्तला महोत्सवमा प्रदर्शन तथा बिक्रीका लागि लैजाने गरिएको छ।
सुन्तला खेती, स्थानीय उत्पादन, होमस्टे, पदमार्ग र प्राकृतिक दृश्यलाई एकीकृत रूपमा प्रवर्द्धन गर्न सके सलकपुर पूर्वी नेपालको महत्वपूर्ण कृषि–पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ।
