डेटामा विकेन्द्रीकृत यात्रा

रुद्र खड्का
काठमाडौं । अबको विकास कसरी ? धेरैले फर्काउने जवाफ हो– डेटा, कम्युनिकेशन र टेक्नोलोजीको प्रयोगले । फेरि पनि अन्योल यिनीहरूको प्रयोग कसरी गर्ने ? यस्तो हुनु स्वभाविक हो किनकि नेपालमा डेटा, कम्युनिकेशन र टेक्नोलोजीमा अन्य मुलुकको तुलनामा त्यति धेरै काम हुन सकिरहेको छैन ।
टेक्नोलोजीको कुरा पनि डिजिटाइजेशनसम्म सीमित छ । कागजी हड्डा हटाएर डिजिटाइजेशन नै लागू गर्न गाहे भइरहेको बेला केहीले भने त्यो भन्दा उपल्लो ब्लकचेन टेक्नोलोजीको प्रयोग पनि गर्न थालेका छन् ।

डेटा केन्द्रीकृत होइन विकेन्द्रीकृत हुने गरी सिस्टम विकास गरिरहेको कम्पनीमध्ये एउटा हो– रुम्सन नेपाल । यद्यपि विश्वका थुप्रै विकसित मुलुकले डेटालाई विकेन्द्रीकृत बनाएर आधुनिक प्रविधिको लाभ लिन थालेको वर्षौं भइसकेको छ । ‘अबको भविष्य ब्लकचेन प्रविधि नै हो,’ डेटालाई विकेन्द्रीकृत गर्न विभिन्न निकायसँग मिलेर काम गरिरहेकी रुम्सन नेपालकी सहसंस्थापक रुमी सिंह भन्छिन् । अहिलेलाई रुम्सन ब्लकचेन स्टार्ट अप कम्पनी हो । ‘विश्वको फोकस ब्लकचेन प्रविधिमा छ,’ उनले भनिन्, ‘नेपालमा पनि यस्तो किन नगर्ने त भनेर यो काम थालिएको हो ।’
तर नेपालमा ब्लकचेन भन्नेबित्तिकै क्रिप्टोकरेन्सीसँग जोडेर हेर्ने गरिएको उनको भनाइ छ । ‘ब्लकचेन जहिले पनि क्रिप्टोकरेन्सीसँग जोडिएको हुन्छ भन्ने कुरा सही हो तर यसको साथै ब्लकचेन प्रविधिले डेटाको केन्द्रीकृत प्रणालीलाई विकेन्द्रीकृत गर्छ भन्ने बुझाइमा कमी नै छ,’ रुमीले भनिन् । उनका अनुसार वित्तीय संस्था वा ठूला ठूला निकायले ब्लकचेनमा डेटा राखेका छन् भने ती सबै विकेन्द्रीकृत हुन्छन्, कसैले पनि हत्तपत्ति मनपरी गर्न पाउँदैन जसले गर्दा ती संस्थाहरू सुरक्षित र विश्वसनीय हुन्छन् ।
ब्लकचेन नवीनतम प्रविधि हो । यसमा राखिएका डेटा ब्लक चेनमा रहेका हुन्छन् । ‘डेटा ब्लकमा रहने भएकाले न कसैको चलाउन सक्छ न त नियन्त्रण नै,’ उनले भनिन्, ‘यस्तो प्रविधिका कारण ब्लकचेन प्रविधि संसारभर नै लोकप्रिय भइरहेको छ । त्यसैको प्रयोग नेपालमा गर्न थालेका हौं ।’ नेपालमा अन्य केही निकायले पनि सिस्टमको विकास गरिरहेको तर ठ्याक्कै प्रयोगकर्ताको संख्याबारे भने यकीन नभएको उनको भनाइ छ ।
आमसर्वसाधारणले ब्लकचेनको बारेमा बुझ्न बाँकी रहे पनि केही विशिष्टीकृत संस्थाले भने यसको प्रयोग गर्न थालेको रुमी बताउँछिन् । ‘केही वर्षयता नेपालमा ब्लकचेन सिस्टमको माग भने निकै बढेको छ । तर आपूर्ति थोरै छ,’ उनी भन्छिन्, ‘ब्लकचेनमा काम गर्न सकियो भने भविष्य राम्रो छ ।’ यसलाई (ब्लकचेन) जति उपयोग गर्न सकियो त्यसबाट प्रगति हुने भएकाले अनावश्यक शंका गर्न नहुने उनको धारणा छ । उनका अनुसार ब्लकचेनको प्रमुख लाभ डेटाको विकेन्द्रीकृत त हुँदै हो साथै यसबाट हरेक काम पारदर्शी समेत हुने भएकाले त्यस्ता कामप्रति आमसर्वसाधारणको विश्वास बढाइरहेको हुन्छ । खासगरी धेरै सरोकारवालासँगको डेटालाई ब्लकचेनमा राख्दा चाहेर पनि कसैले परिवर्तन गर्न नसक्ने उनको भनाइ छ ।
यसैलाई अभ्यासमा ल्याउन रुम्सनले विभिन्न एप पनि तयार पारिसकेको छ । ‘हामीले नै एग्री क्लियर प्रडक्ट बनाएका छौं,’ उनी भन्छिन्, ‘यसको प्रयोगले किसानको उत्पादन उपभोक्ताको भान्सासम्म पुग्दा सुरक्षित छ भन्ने कुरा उपभोक्ताले महसूस गर्छन् ।’ ब्लकचेनका कारण नै किसानको फार्ममा प्रयोग गरिएको डेटा कसैले पनि चलाउन नसक्ने भएकाले किसानले जे उत्पादन गरेको हो, त्यो उपभोक्ताको भान्सासम्म पुग्छ, जुन कुरा उपभोक्ताले थाहा पाउँछन् । त्यति मात्र होइन रुम्सनले विभिन्न दातृ निकायले विपन्न वर्ग, समूह तथा दैवी प्रकोपमा परेका व्यक्ति तथा समुदायका लागि वितरण गर्ने राहत सामग्री सम्बन्धित व्यक्तिसम्म पुगे÷नपुगेको यकीन गर्न पनि सिस्टम तयार पार्ने गरेको छ ।
रुमी भन्छिन्, ‘यस्तो प्रविधिले दाताले सहयोग गरेको सामग्री सम्बन्धित व्यक्तिले प्राप्त गरे÷नगरेको वा कुनै अवरोध भएमा त्यो सबै दातालाई थाहा हुन्छ । त्यसैले पनि यसलाई ठूला ठूला संस्थाले मन पराएका छन् । यसमा कसैले केही गर्न खोज्यो भने तत्काल अर्कोलाई तुरुन्त थाहा भइहाल्छ ।’ ‘काम गर्दै जाँदा राहत वितरण जस्तो काममा पनि ३० प्रतिशतसम्म स्रोतको दुरुपयोग हुँदो रहेछ भन्ने देखियो,’ उनले भनिन्, ‘जुन कुरा ब्लकचेनको प्रयोगले रोक्न सकिन्छ ।’
उनले यूनिसेफले केही समयअघि जलेश्वर नगरपालिकामा काम गर्दा ब्लकचेन प्रविधि प्रयोगमा ल्याइसकेको बताइन् । त्यस्तै रेडक्रस, केयर नेपाल जस्ता संस्थाले पनि यो सिस्टम प्रयोग गरेको उनले जानकारी दिइन् । ‘सेवाग्राही को हुन्छन् र के पाउँछन् भन्ने कुरा सम्बन्धित संस्थालाई मात्र थाहा हुन्छ,’ उनी भन्छिन्, ‘तर यसले सेवाको गुणस्तरमा भने निकै वृद्धि गर्ने ग्यारेन्टी गर्छ ।’
रुमीका अनुसार विश्वका कतिपय देशमा भने एचआईभी संक्रमणको कारण पत्ता लगाउन पनि ब्लकचेनको प्रयोग गरिएको छ । ‘यसको प्रयोगले रगतमा कहाँनेर संक्रमण भयो भन्ने कुरा थाहा हुन्छ,’ उनी भन्छिन् । नेपालमा यसको महत्व बुझेरै केही वर्षयता प्रयोगकर्ताको संख्या बढेको उनको भनाइ छ । ‘रुम्सनले काम थालेको ५ वर्ष मात्र भएको छ तर यसको प्रगति सोचेभन्दा बढी छ,’ उनले भनिन्, ‘अहिले नै कम्पनी विस्तार भएर ५० जना स्टाफमा पुगिसकेका छौं ।’