जापानमा धमाधम नेपाली रेस्टुरेन्ट, पाखा लाग्दै इन्डियन रेस्टुरेन्ट
टुरिजमफेस
टोकियो । सन् २००८ सम्म जापानमा नेपाली रेस्टुरेन्ट भेट्टाउन मुस्किल पथ्र्यो । नेपाली परिकारको स्वाद लिन मन लागे इन्डियन रेस्टुरेन्ट जानुपर्ने बाध्यता थियो । तर, अहिले समयले कोल्टे फे¥यो । नेपालीको जनघनत्व बढी भएको टोकियो, खानागावा, चिवा, नागोया, फुकुवाका लगायत शहरमा नेपाली रेस्टुरेन्ट भेट्न कुनै कठिनाइ छैन । गत वर्ष जापानको खानसाई विश्वविद्यालयका एक प्रोफेसरले नेपाली रेस्टुरेन्ट सम्बन्धी गरेको अनुसन्धानलाई हेर्ने हो भने जापानभर ५ हजार ७०० नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन् । यतिसम्म कि राजधानी टोकियोको केन्द्रबिन्दु मानिने शिन्जुकुसँगै जोडिएको शिनओकुबो र ओकुबोमा मात्रै १३० बढी रेस्टुरेन्ट सञ्चालनमा छन् । शिनओकुबो र ओकुबो क्षेत्रका गल्लीहरूमा जताततै नेपाली झण्डा फर्फराएको देख्न सकिन्छ । सन् २००८ सम्म शिन्जुकु, शिनओकुबो लगायत क्षेत्रमा भारतका व्यापारिक घरानाले सञ्चालनमा ल्याएका महाराजा, राज प्यालेस, ग्रेट इन्डिया लगायत रेस्टुरेन्टहरूको हालीमुहाली थियो । विगतमा ठूलो मात्रामा कारोबार गर्दै आएका यी रेस्टुरेन्ट अहिले बन्द भइसकेका छन् । नेपाली रेस्टुरेन्टले बजार कब्जा गरेपछि इन्डियन रेस्टुरेन्ट पाखा लाग्दै गएका हुन् । कतिपय भारतीय व्यवसायी देश फर्केका छन् भने कतिपयले पेशा परिवर्तन गरेका छन् । सन् २०१३÷१४ पछि विद्यार्थी, रोजगारी र कुक भिसामा जापान आउने नेपालीको संख्यामा वृद्धि भएसँगै नेपाली रेस्टुरेन्ट व्यवसाय पनि फस्टाउँदै गएको पाइन्छ । ‘यसको प्रमुख कारण नेपालीको संख्यामा भएको वृद्धि हो,’ २४ वर्षदेखि जापान बस्दै आएका पत्रकार तिलक मल्ल भन्छन्, ‘एक दशक अघिसम्म इन्डियन रेस्टुरेन्टको बिजनेस चेन जापानभर विस्तार थियो । तर, अहिले इन्डियन रेस्टुरेन्टहरू पाखा लाग्दै गएका छन् ।’ ठूलो लगानीमा सञ्चालनमा आएका इन्डियन रेस्टुरेन्ट व्यवसायलाई कम लगानीमा खुलेका नेपाली रेस्टुरेन्टले विस्थापित गरिरहेका छन् । इन्डियनको तुलनामा नेपाली रेस्टुरेन्टमामा सस्तोमा खान पाइने हुनाले पनि नेपाली रेस्टुरेन्टले जापानमा बजार विस्तार भइरहेको हो ।
पहिला भान्से अहिले व्यवसायी
नेपाली रेस्टुरेन्ट व्यवसायीले राम्रै मुनाफा गर्दै आएका छन् । लगानीका हिसाबले रेस्टुरेन्ट व्यवसाय सुरक्षित रहेको स्वयम् व्यवसायीको भनाइ छ । यस क्षेत्रमा लागेर असफल हुने सम्भावना कमै रहेको एनआरएनए जापानका अध्यक्ष नवीन निउरे बताउँछन् । रोचक पक्ष के छ भने जापानमा नेपालीको प्रवेश इन्डियन रेस्टुरेन्टकै बाटो भएर भएको थियो । इन्डियन रेस्टुरेन्टमा कुकको रूपमा भित्रिएका नेपालीले विस्तारै आफैं व्यवसायमा हात हाल्दा इन्डियन रेस्टुरेन्टको बजार ओगट्न सफल भएको नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली बताउँछन् । ‘हिजो तिनै महाराजा, राज प्यालेस, ग्रेट इन्डियामा काम गर्ने नेपाली आज व्यवसायी बनेका छन् । नेपालीले व्यावसायिक सीप भारतीयबाटै सिके’ थकालीले भने, ‘इन्डियन रेस्टुरेन्टले राम्रो सेवा–सुविधा नदिएका कारण पनि आफैं व्यवसाय सुरु गर्न नेपालीलाई बाध्य बनायो ।’ टोकियोमा नेपाली रेस्टुरेन्ट व्यवसायको इतिहास हेर्ने हो भने सन् २००० मा सिवुयामा कान्तिपुर रेस्टुरेन्ट, इबिसुमा खुम्बिला रेस्टुरेन्ट सञ्चालनमा रहेको थकाली बताउँछन् । यसपछि थकालीले सन् २००१ मा गोतान्दामा माया रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताए । ओकुबोमा इन्डियन नेपाली रेस्टुरेन्ट मिलन र केबी किचन २००५ बाट सञ्चालनमा आएको थियो । यद्यपि ती सञ्चालकले जापानिज ग्राहकलाई लक्षित गरेर रेस्टुरेन्ट सञ्चालनमा ल्याएका थिए । सन् २००९ मा जापानबाट प्रकाशित नेपाली पत्रिका ‘नेपाली समाचार’ सञ्चालनको सहयोगको उद्देश्य राखेर शिनओकुबोमा नेपाली खाजाघर मःम सञ्चालनमा आएको थियो । लगत्तै शिनओकुबोमै अर्जुन र शिखर रेस्टुरेन्ट सञ्चालनमा आएको र त्यसयता शिनओकुबोमा एकपछि अर्को गर्दै नेपाली रेस्टुरेन्टहरू थपिएको थकालीको भनाइ छ । यसपछि हट चिल्ली, सोल्टी चौतारी, सोलमारी, नाङ्लो र मःम ओकुबो शाखा, थकाली भान्साघर मुस्ताङ, टोकियो रोधी क्लब, रातोभाले, रक साल्ट बार, काँडे, नेपाली चुल्हो, साकुरा हुँदै हाल यस क्षेत्रमा रातोमाटो, बाजेको सेकुवा घर, नमस्ते, आँगन, चिनो, हार्दिक जस्ता नेपाली मौलिक नाम भएका रेस्टुरेन्ट सञ्चालनमा छन् । जापानमा अध्ययनका लागि आएका विद्यार्थी अध्ययन सकेर रेस्टुरेन्ट व्यवसायमा संलग्न हुने गरेका छन् । जापानको नेपाली रेस्टुरेन्टमा भारतीय खाना नान र करी बढी लोकप्रिय छ । तर, विदेशमा पनि नेपाली परिकार खान पाइने हुनाले रेस्टुरेन्टमा नेपालीको उपस्थिति बाक्लो हुन्छ । यद्यपि ७० प्रतिशत ग्राहक भने जापानिज नै हुने थकालीको अनुभव छ ।
महिनामै करोडौंको कारोबार
जापानमा सञ्चालित नेपाली रेष्टुरेन्टमा ग्राहक । कडा मिहिनेत गरे एउटा सामान्य कुक पनि ठूलो व्यवसायी बन्न सक्छ भन्ने उदाहरण हुन बागलुङका दीपक सुवेदी । सन् १९९९ मा इन्डियन रेस्टुरेन्टमा कुक काम गर्न जापान भित्रिएका सुवेदी यतिबेला २२ वटा रेस्टुरेन्टको मालिक छन् । दिपओए नामक कम्पनी मार्फत सुवेदीले जापानको टोकियो, खानागावा, साइतमा, ओसाका लगायत शहरमा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । रेस्टुरेन्टमा नेपालीसँगै इन्डियन र थाई परिकार बढी पाइन्छ । २२ वटा रेस्टुरेन्टबाट वार्षिक नेपाली २ अर्ब ५० करोड हाराहारीको कारोबार हुने सुवेदी बताउँछन् । सन् २००३ बाट व्यवसाय सुरु गरेका सुवेदीले अहिले नेपाली सहित जापानिज, इन्डियन, बंंगलादेश र थाइल्याण्डका २०० जनालाई रोजगारी दिएका छन् । ‘व्यवसाय सुरु गर्दा अनेकौं कठिनाइ थिए । अर्काको देश, भाषाको समस्या । धेरै साथीले पागल भयो पनि भन्नुभयो । तर, इन्डियन रेस्टुरेन्टले सीपसँगै लगनशीलता सिकायो’ सुवेदी भन्छन्, ‘आज मैले सञ्चालनमा ल्याएका रेस्टुरेन्टहरू धेरैका लागि विश्वविद्यालय बनेका छन् ।’ सुवेदीको भनाइमा उनकोमा काम गर्ने धेरै नेपाली आफैं सफल व्यवसायी बनिसकेका छन् । यसलाई चाहिं उनी आफ्नो सफलता ठान्छन् । उनका रेस्टुरेन्टमा आउने अधिकांश ग्राहक जापानिज र विदेशी हुन्छन् । म्याग्दीका दीपक केसीले जापानको नागोयामा तीन वटा रेस्टुरेन्ट सञ्चालन गरेका छन् । दियालो, दैलो र पोखरा उनले सञ्चालनमा ल्याएका रेस्टुरेन्ट हुन् । यी तीन वटा रेस्टुरेन्टमा मासिक ३ हजार मान (नेपाली ३ करोड हाराहारी) को कारोबार हुने केसी बताउँछन् । उनले रेस्टुरेन्ट व्यवसायबाटै ३३ जना नेपाली र ७ जना जापानिजलाई रोजगारी दिएका छन् । व्यवसायसँगै नेपालको पहिचान र नेपाली खाना विदेशीलाई चिनाउने आफ्नो सपना पूरा भएको केसी सुनाउँछन् । ‘रेस्टुरेन्टमा एक पटक खान आउने विदेशी ग्राहक जब अर्कोपटक पुनः आउँछ, यसबाट पनि थाहा हुन्छ कि नेपाली खानाको स्वादले विदेशीलाई लोभ्याउँछ’ केसी भन्छन्, ‘तर पछिल्लो समय प्रतिस्पर्धाले कतिपय व्यवसायीले खानाको गुणस्तरमा ध्यान नदिएको देखिन्छ ।’ नेपाली रेस्टुरेन्ट व्यवसायीले राम्रै मुनाफा पनि गर्दै आएका छन् । लगानीका हिसाबले रेस्टुरेन्ट व्यवसाय सुरक्षित रहेको स्वयम् व्यवसायीको भनाइ छ । यस क्षेत्रमा लागेर असफल हुने सम्भावना कमै रहेको एनआरएनए जापानका अध्यक्ष नवीन निउरे बताउँछन् । निउरेले पनि सन् २०११ बाट रेस्टुरेन्ट व्यवसाय सुरु गरेका हुन् । अहिले उनका ३ वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । यी रेस्टुरेन्टबाट मासिक २ हजार मान (करिब २ करोड नेपाली रुपैयाँ) कारोबार हुने उनले बताए । ‘कहिले कारोबारको दर घट्छ त कहिले बढ्छ’ निउरे भन्छन् । निउरेका अनुसार, एउटा रेस्टुरेन्ट सामान्य हिसाबले सञ्चालन गर्न मासिक न्यूनतम २० देखि ३० लाख येन (२७–२८ लाख नेपाली) सम्मको कारोबार गर्नुपर्दछ । रेस्टुरेन्टको भाडा कति तिर्नुपर्छ भन्नेमा पनि कारोबारको अंकले अर्थ राख्ने उनी बताउँछन् । जस्तो कि भाडा महँगो छ भने कारोबार धेरै गर्नुपर्छ ।
कुक भिसाको संख्या १४ हजार
जापानमा खुलेका रेस्टुरेन्टमा नेपालबाटै कामदार मगाउने क्रमसँगै जापानमा कुक भिसामा भित्रिने नेपालीको संख्या बढेको छ । जापानको अध्यागमन विभागको तथ्यांक अनुसार हाल १ लाख ७६ हजार ३३६ नेपाली छन् । जसमध्ये १४ हजार ४० कुक भिसाका छन् । जापान सरकारले कामदारको मासिक तलब १ लाख ८० हजार येन (नेपाली करिब १ लाख ६० हजार) भन्दा कम दिन नमिल्ने नियम बनाएको छ । तर, नेपालबाट आवश्यक सीप हासिल नगरी जापान आएकाले भने सालाखाला १ लाख ३० हजार येन (नेपाली १ लाख २० हजार) सम्म तलब पाउँदै आएका छन् । यस क्षेत्रमा सीप हासिल गरेका दक्ष कामदारले २ लाख ५० हजार येन (नेपाली २ लाख ३० हजार) सम्म तलब प्राप्त गरेका छन् । सामान्य ढंगले सञ्चालन गरिएका रेस्टुरेन्टमा ३÷४ जना कामदारले रोजगारी पाएका छन् भने ठूलो लगानीमा खोलिएका ठूला रेस्टुरेन्टमा १५ देखि २५ जनासम्म कामदारले कामको अवसर पाएका छन् । साभार