भक्तपुरमा ट्राफिक चेकिङमा स्कुटर चालकको मृत्यु, स्थानीयको उग्र प्रदर्शनपछि अश्रुग्यास प्रहार
भक्तपुर । ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि भक्तपुरमा उग्र प्रदर्शन सुरु भएको छ । स्थानीय प्रदर्शनकारीले ट्रफिक बिट भत्काएर प्रदर्शन गरेका छन् ।गठ्ठाघरमा तनाव बढ्दै गएपछि भक्तपुरको प्रहरीले अश्रुग्याससमेत हानेको छ ।
बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट परिचय नखुलेकी चालकको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन सुरु गरेका थिए । उनीहरुले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् ।
प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ । दुर्घटनामा मृत्यु भएको महिलाको नामथर र ठेगाना खुलेको छैन । उनलाई ट्रकको चक्काले चेपेको थियो । ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दुर्घटनापछि करिब दुई हजार सर्वसाधारण सडकमा आएर प्रदर्शन गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी परिसर भत्तपुरका र काठमाडौंका गरी २०० भन्दा धेरै प्रहरी परिचालन भएका छन् ।