तौल असन्तुलनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः प्रतिवेदन
फाइल तस्वीर
टुरिजमफेस
काठमाडौं । करिब साढे एक महिनाअघि भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनाको कारण तौल असन्तुलन रहेको छानबिन समितिको प्रारम्भिक प्रतिवेदनले जनाएको छ । सौर्य एअरलाइन्सको ९ एन–एएमई÷सीआरजे २०० कलसाइन भएको जहाज गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको केही बेरमै दुर्घटना भएको थियो । जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो पाइलट मनीष शाक्य घाइते भएका थिए । जहाज दुर्घटनापछि सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले प्रारम्भिक प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई बुझाएको छ । प्रतिवेदनमा मानवीय त्रुटि औल्याउँदै उडानका बेला पालना गर्नुपर्ने मापदण्ड पूर्ण रूपमा पालना नगरेको देखिएको उल्लेख छ । तौल नलिई जहाजमा सामान लोड गर्दा असन्तुलन भएको हुन सक्ने प्रतिवेदनमा भनिएको छ । ‘ग्राउण्ड ह्यान्डलिङ म्यानुअलअनुसार जहाजमा सामानहरू राखिनुपर्नेमा त्यसो नगरिएको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
फाइल तस्वीर
