नेपालको पर्यटनमा जाम्बियाको चासो, लगानी गर्ला ?
टुरिजमफेस
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा जाम्बियाले लगानी गर्न चासो देखाएको छ । नेपालको ४ दिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेल, मन्त्री र निजी क्षेत्रसँगको भेटमा यस्तो जानकारी गराएका हुन् ।
चन्दाले उद्योगमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालको पर्यटन तथा खानीजन्य क्षेत्रमा प्राविधिक तथा आर्थिक लगानीको प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा पनि उक्त टोलीले खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको जानकारी गराएको छ ।
आफूहरूका लागि नेपाल लगानीका लागि आकर्षक गन्तव्य हुने भन्दै सो विषयमा सहकार्य गर्न तयार रहेको चन्दाले बताए । सोही टोलीले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबीच सहकार्य गरी अघि बढन् आग्रह गरेको छ । जाम्बियाका लागि नेपाली वाणिज्य दूत देशबन्धु बस्नेतले अहिलेको भ्रमणले नेपालमा जाम्बियाबाट लगानी ल्याउन मार्गप्रशस्त गरेको बताए ।
यद्यपि नेपालमा लगानी गर्न विभिन्न मुलुक इच्छुक हुँदाहुँदै पनि प्रतिबद्धता अनुसार लगानी भने हुन सकेको छैन । लगानीकर्ताहरूले नेपालको प्रशासन संयन्त्र तथा औद्योगिक वातावरण प्रतिकुल रहेको गुनासो गर्दै आएका छन् । नेपाल प्राकृतिक रूपमा सुन्दर भए पनि त्यस अनुसार नेपालले लाभ लिन सकेको छैन ।
