उडान कर्मचारीको सुरक्षाको प्रत्याभूती नभए सम्पूर्ण उडान स्थगित गर्ने वायु सेवा सञ्चालक संघको चेतावनी

काठमाडौं । वायुसेवा सञ्चालक संघले त्रिभुवन विमानस्थल काउन्टरमा कर्मचारीमाथि अभद्र व्यवहार गरिएको घटनाको भर्त्सना गरेको छ ।
संघले बुधबार विज्ञप्ति जारी गरी सरकारले तोकेको दरमै हवाई टिकट बिक्री गरिरहेको अवस्थामा पनि महँगो दरमा टिकट बेचिएको भनेर काउन्टरमा हुलहुज्ज गरिएको भन्दै घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ ।
हवाई सेवा संवेदनशील भएकाले यस खालका गतिविधिले हवाई सुरक्षामा प्रतिकूल असर पार्ने हुँदा सम्बन्धित सबै निकाय चनाखो भई यस प्रकारका घटना निरुत्साहित गरिदिन सँघले माग गरेको छ ।
केही दिनदेखिको अविरल वर्षाका कारण देशभरि बाढीपहिरो जानुका साथै सडक तथा सञ्चार सञ्जाल पूर्णविच्छेद भएका बेला यात्रु सेवामा अहोरात्र खटिइरहेको वायुसेवा कम्पनीका कर्मचारीमाथि यस्ता घटना हुनु निन्दनीय रहेको संघले विज्ञप्तिमा भनेको छ ।
‘उडान कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति दिन नसके सुरक्षाका कारण सबै नियमित उडान बाध्य भई स्थगन गर्नुपर्ने अवस्था सिर्जना हुनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस विज्ञप्ती