बिदामा घुम्ने हो ? यस्ता हुन सक्छन् गन्तव्य

टुरिजमफेस
काठमाडौं । घुमघाम संस्कृति नयाँ होइन, यद्यपि केही समय नेपालमा घुमघाम संस्कृतिको विकास हुँदै गएको छ । चाडपर्वको बिदा लामो हुने भएसँगै पछिल्लो समय नेपालीले आन्तरिक र वाह्य भ्रमणको तालिका बनाउने गरेका छन् । यसलाई लक्षित गर्दै ट्राभल कम्पनीहरूले पनि विभिन्न ‘स्किम’ ल्याउने गरेका छन् ।
बिदा लक्षित योजना बनाएर विदेश घुम्ने (आउटबाउण्ड टुर) प्याकेज बिक्री गर्ने ट्राभल कम्पनीले अफर ल्याएका छन् । बिदा कर्पोरेट क्षेत्र, मध्यमदेखि उच्च वर्गसम्मका परिवारले फूर्सदिलो महसुस गर्ने बेला पनि हो ।
नेपालबाट बाहिर घुम्न जाने नेपालीले गर्ने खर्च वार्षिक ३१ प्रतिशतले वृद्धिसमेत भएको छ ।
नेपालबाट विभिन्न देशमा घुम्न जाने नेपालीले गरेको खर्च गत आर्थिक वर्ष २०८०÷८१ मा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यस्तो खर्च अघिल्लो वर्ष २०७९÷८० भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रहेको पनि तथ्यांकले देखाएको छ ।
यस्तो भ्रमण आय स्वतः स्फूर्त रूपमा घुम्न जाने, प्याकेजमा जाने, परिवारका सदस्यसहित जाने गरेकाले डलर सटहीको सुविधा लिएका आधारमा तयार भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
कान्तिपुर होलिडेका प्रबन्ध निर्देशक दामोदर ढकाल भ्रमण खर्च बढेका कारण विगतका वर्षजस्तो उत्साह यसपटक कम भएको तर्क गर्छन् । ‘कोरोना अगाडि वार्षिक १० हजार नेपालीलाई विदेशी घुम्न पठाउन सकिएकोमा यो वर्ष मुस्किलले २५ सय जना मात्रै पुग्ने अनुमान छ,’ उनले भने ।
हवाई टिकट पनि महँगिदा नयाँ घुम्न जानेको संख्या कम भएको उनको भनाइ छ ।
‘अहिले हवाई टिकट महंगो भएकोले नयाँ घुम्न जाने मान्छे निकै कम छन् । जति आइरहेको छन् वार्षिक रुपमा घुमिरहेका र पुराना मान्छे मात्रै भएको देखिएको छ,’ उनले भने ।
ट्राभल एजेन्सीले प्याकेज ल्याउने र अफर दिँदा समेत बाहिर घुम्न जानेको संख्या कोरोना महामारी अगाडिको तुलनामा कम भएको उनी बताउँछन् ।
हुन त ट्राभल व्यवसायीको काम बाहिरका पर्यटकलाई भित्र ल्याएर डलर आम्दानी बढाउने हुनुपर्ने भए पनि बाहिर जान्छु भन्ने नेपालीलाई रोक्न नसकिने उनले बताए ।
अन्यसमयको तुलनामा दशैंमा लामो बिदा हुने भएकाले विदेशिनेको संख्यामा यो अवधिमा भने वृद्धि हुने गरेको व्यवसायी बताउँछन् ।
कहाँ पुग्छन् नेपाली ?
नेपालीहरूको घुम्ने गन्तव्यमा सबैभन्दा बढी थाइल्याण्ड, मलेसिया, सिंगापुर, दुबई, गोवा हुने गरेको ट्राभल एजेन्सीहरुको तथ्यांकले देखाउँछ । स्वदेशमा भने रारा, इलाम लुम्बिनी, मुस्ताङ जस्ता गन्तव्य प्रख्यात हुँदै गइरहेका छन् ।
विदेशको हकमा सहज भिसा पाइहाल्ने मुलुकमा जाने नेपाली बढी हुने व्यवसायी बताउँछन् । पहिलोपटक भ्रमण गर्न जाने नेपालीले सजिलै भिसा लाग्ने मुलुक हेरेका हुन्छन् । धेरै कडा प्रावधान नभएको र नेपाली ग्रुपमा वा एक्लाएक्लै घुमेर आउन सक्ने गन्तव्य नेपालीको रोजाइमा हुने गरेको छ ।
एकपटक थाइल्याण्ड, मलेसिया, सिंगापुर, संयुक्त अरव इमिरेट्स (यूएई) पुगिसकेका नेपाली त्यसपछि युरोप जान रुची देखाउने गरेको ट्राभल व्यवसायीको भनाइ छ ।
बाहिर घुम्न जाने नेपालीको लागि गन्तव्य अनुसार टुर प्याकेज बन्ने गरेको छ । यस्तो टुर प्याकेज हवाई टिकटको शुल्कको आधारमा तय हुन्छ । हवाई टिकट महँगो हुँदा प्याकेज पनि महँगो पर्छ । टुर व्यवसायीको प्याकेज सिजन अफसिजन सधै एकैनासको हुन्छ भने हवाई भाडाकै कारण प्याकेज सस्तो र महँगो हुने गर्छ । तथ्यांकमा उल्लेख गरेका युरोप तथा केही एसियाली मुलकको ट्राभल प्याकेज दशैं बाहेक सामान्य समयको लागि प्रयोग हुँदै आएको प्याकेज हो । बिदामा घुम्ने योजना बनाउनेले भने केही रकमको जोहो गर्नुपर्छ । रकम कुन ठाउँमा जाने हो त्यही अनुसार आवश्यक पर्छ ।
यस्तो छ केही गन्तव्यको मोटामोटी खर्च
