कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत

टुरिजमफेस
काठमाडौं । गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले चलचित्र निर्देशनसमेत गरेका छन् । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उनलाई पाउन सकिन्छ । एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिए । उनी निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ प¥यो झमक्कै’ को गीत र श्रव्यदृश्य सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो समूहका कारण यसपटक सफल भए पनि आउँदा दिनमा एक विधाबाहेक अरुको जिम्मेवारी नलिने बताए ।
‘आफैंले सबै काम गर्दा गाह्रो नै हुने रहेछ । विशेषतः निर्देशन र अभिनय एकैपटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ,’ उनले भने ।
यस विषयमा अभिनय र निर्देशनसँगै गरिरहेका निश्चल बस्नेत, अर्पण थापालगायतसँग छलफल गरेको गायक सपूतले बताए । उनले गायनमै व्यस्त हुँदा चलचित्र निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पु¥याउने चाहना भएको बताए । ‘भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ । मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो । त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्त रूप दिएको हुँ । यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो,’ उनले भने । यो चलचित्रको कथामा आफ्नो बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पारे ।
अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताइन् । ‘गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । यो चलचित्रमा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । यो मलाई वर्षौँसम्म सम्झिने पात्र बन्ने छ,’ उनले भनिन् ।
सार्वजनिक गरिएको ‘साँझ प¥यो झमक्कै’ गीतमा शब्द, सङ्गीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् । चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् ।
आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ । रासस