कहिलेसम्म बाध्यताको वैदेशिक रोजगारी ?

रुद्र खड्का
रोल्पा, थवाङका मानवीर बुढामगर गाउँमै उद्यम गर्न चाहन्थे । उनले करिब ४ वर्ष राडीपाखी बुन्ने काम पनि गरे । तर, उनले बनाएका झोला तथा अन्य घरेलु उत्पादनले लागत अनुसारको मूल्य नपाएपछि दुई महिनाअघि रोजगारीका लागि दुबई गए । वैदेशिक रोजगारीमा उनको चाहना नहुँदा–नहुँदै पनि बाध्यताले देश छाड्नु परेको छ ।
०००
वैदेशिक रोजगारीमा मलेसिया गएका पति तीन वर्षसम्म नफर्केपछि धरानकी राजकुमारी (परिवर्तित नाम) ले ६ महिनाअघि दोस्रो बिहे गरिन् । काठमाडौंको बौद्धस्थित डेरामा एक्लै बस्दै आएकी २७ वर्षीया राजकुमारी बिदेसिएका पतिलाई पर्खन धैर्य टुटेकाले दोस्रो बिहे गरेको बताउँछिन् । ‘मलेसिया गएका पतिलाई तीन वर्षसम्म पर्खेँ,’ उनले भनिन्, ‘तर त्यो मान्छे यति धेरै निष्ठुरी भयो कि उता गएपछि मलाई बिस्र्यो ।’ पतिले बेवास्ता गरेपछि आफूले मात्र पर्खेर केही हुने नदेखिएपछि दोस्रो बिहे गरेको उनको भनाइ छ । १८ वर्षको उमेरमा धरानकै राजकुमारसँग भागी बिहे गरेकी उनी दोस्रो बिहेलाई ‘नयाँ मोड’ भन्न रुचाउँछिन् । धरानबाट भागी बिहे गरेर काठमाडौंमा राजकुमारसँग बसेको एक वर्षको अनुभवसमेत उनको मस्तिष्कमा धुमिल भइसकेको छ ।
०००
नुवाकोटका रमेश अधिकारीले दुई वर्ष दुबईमा बसेर घर फर्केपछि पुनः वैदेशिक रोजगारीमा नजाने योजना बनाएका थिए । दुई वर्षको अवधिमा कमाएको करिब आठ लाख रुपैयाँ फर्कनुअघि नै पत्नी निरुलाई उनले पठाइसकेका थिए । दुई महिनाअघि दुबई बस्ने भिसा सकिएपछि जब रमेश घर फर्किए, तब उनलाई कल्पना गर्न नसकिने घटनासँग जुध्नु पर्ने अवस्था आइलाग्यो । उनी घर पुगेको अघिल्लो रात पत्नी गाउँकै केटासँग विदेशबाट पठाएको सबै पैसा बोकेर हिँड्छिन् । ‘विदेशबाट फोनमा कुरा गर्दा फर्केर आएपछि गाउँघरमै रमाइलोसँग बस्नु पर्छ भन्थी,’ रमेशले भने, ‘त्यो त मलाई फुक्र्याउनलाई मात्र रहेछ ।’ यतिखेर उनलाई पत्नी अरुसँग हिँडेको पीडासँगै विदेशबाट पठाएको आठ लाख रुपैयाँ कसरी फिर्ता गर्ने भन्ने चिन्ता थपिएको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने क्रम बढे पनि कोही बाध्यताका कारण विदेश गइरहेका छन् त जानेमध्ये कतिपयको घरायसी सम्बन्ध बिग्रेको प्रतिनिधिमूलक उदाहरण हुन् ।
उकालो लाग्यो बिदेसिने क्रम
मंसिर महिनामा चालु आर्थिक वर्षकै सर्वाधिक युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गए । चालु आर्थिक वर्षको सुरुको महिना साउनमा ५९ हजार ५ सय ७५ ले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएकोमा मंसिरमा विदेश जानेको सङ्ख्या बढेर ८४ हजार २ सय २६ पुग्यो । विभागका अनुसार भदौमा ५७ हजार ४ सय ९३, असोजमा ५३ हजार ५ सय २५ र कात्तिकमा ७० हजार ९ सय ९० युवायुवतीले श्रम स्वीकृति लिए ।
वैदेशिक रोजगारीमा जाने युवायुवतीको सङ्ख्या वृद्धि भएको तथ्यपछि प्रश्न उब्जिएको छ– ‘नेपालमा किन युवा बस्न चाहँदैनन् ?’ । धेरै युवा विदेश पलायन भए भन्दै विकासविद्हरूले युवा रोक्न विशेष कार्यक्रम चाहिएको सुझाव दिइरहेको बेला पछिल्लो आर्थिक वर्षमा निकै ठूलो संख्यामा युवायुवती वैदेशिक रोजगारीमा भासिँदा अब के गर्ने भन्ने समस्या देखिएको छ । विकासविद्हरू अहिलेकै अवस्था कायम रहने हो भने अबका केही वर्षमै देश युवाविहीन हुनेमा शंका गर्छन् ।
‘देशको विकास गर्न युवा शक्ति भएन भनेर रोई कराइ गर्नुको साटो उचित पारिश्रमिकसहित कामको ग्यारेन्टी दिलाउने हो भने कैयन युवा विदेश जान रोकिन्छन्,’ समाजशास्त्री बालकृष्ण शर्माले भने, ‘अहिले त सरकारी तवरबाट केवल मुखले भाषण गर्ने तर रोजगारीका अवसर सिर्जना गर्न कुनै पहल गरेको देखिँदैन ।’
स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न उद्योग धन्दा र निजी क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ छ । विभागका निर्देशक गुरुदत्त सुवेदी पछिल्लो समयमा वैदेशिक रोजगारीमा विभिन्न समस्या देखिएकाले युवायुवतीको चाहना घट्दै गइरहेको होला भन्ने अनुमानविपरित बिदेसिने क्रम बढिरहेको बताउँछन् ।
पाइलैपिच्छे ठगी
कपिलवस्तु, चन्द्रौटाका मुस्ताक कमाल वैदेशिक रोजगारीमा जाने निर्णय गरी २०७९ मा काठमाडौं आए । गाउँकै चिनेजानेका राजेश यादवले उनलाई राजधानीको नाम चलेको एक म्यानपावर कार्यालयमा पु¥याए । वैदेशिक रोजगारीमा जान आतुर कमालसँग म्यानपावर कार्यालय पुगेकै दिन यादवले ५० हजार रुपैयाँ मागे । र, यादवले आश्वस्त पारेको सम्झँदै कमालले भने, ‘साउदी पठाउने तयारी हुँदै छ । एक लाख रुपैयाँ जति खर्च होला । ५० हजार अहिले र बाँकी ५० हजार रुपैयाँ जाने बेला दिनु पर्छ ।’
वैदेशिक रोजगारीमा आफ्नो उज्ज्वल भविष्य देखेका २५ वर्षीय कमालले म्यानपावर कार्यालयबाटै चन्द्रौटामा पान पसल गरिरहेका सालोलाई फोन गरेर उनले म्यानपावरले एक सातामै साउदी पठाउने भनेको जानकारी गराउँदै ५० हजार रुपैयाँ मगाएको बताए । ५० हजार रुपैयाँ म्यानपावरलाई बुझाएपछि कमालको बसाइँ गौशालाको एउटा होटलमा हुन थाल्यो । रकम बुझाएको एक साता जतिमा साउदीको उडान हुने आश्वासन पाएका कमाल त्यतिबेला झसङ्ग भए । जतिबेला रकम बुझाएको एक सातापछि रकम बुझ्ने यादव सम्पर्कविहीन भए ।
गाउँमा फोन गर्दा यादव नफर्केको जवाफ र म्यानपावरमा पुग्दा सम्पर्क नभएको जानकारी पाएपछि कमाललाई आफू ठगिएको भन्नेबारे अब शंका बाँकी रहेन । त्यतिबेलासम्म न उनीसँग खल्तीमा रकम बचेको थियो । न होटलको विल तिर्नलाई पुग्ने पैसा नै थियो । उनले पुनः सालोलाई फोन गरी सबै यथार्थ बताएपछि १० हजार रुपैयाँ मगाए । चन्द्रौटाबाट पठाएको रकम हात पारेपछि उनलाई एकपल्ट म्यानपावर कम्पनी पुगेर घर फर्कन मन लाग्यो । चित्त बुझाउनैका लागि म्यानपावर पुगेको बेला सोही कार्यालयमा भेटिएका सन्तोष गुरुङ नाम गरेका एक अधवैंसेले दिएको सल्लाह अनुसार काम गर्न थालेपछि कमालले यतिखेर के खाउँ र के लाउँ भन्ने चिन्ता नरहेको बताए । छ । यो कुनै कथा नभएर वास्तविक तथ्यमा आधारित घटना हो । परिवारको घर खर्च टार्न वैदेशिक रोजगारीमा जाने नेपाली युवायुवतीसँग जोडिएको भित्री पाटो हो ।
०००
पुस लागेदेखि नै भेट्ने प्रयास गरेपछि कमालले पुस १५ गते तीनकुनेस्थित एक कोठामा बोलाए । र, सुरुमै भने, ‘तस्बिर खिच्न, मेरो र मैले काम गरिरहेको म्यानपावरको परिचय लेख्न पाइँदैन नि ।’ मेरो जोड नै वैदेशिक रोजगारीको क्रममा कसरी युवायुवती ठगिएका छन् भन्नेबारेमा जान्ने र लेख्ने हो । मैले तपाईँलाई भेट्नुको कारण नै वैदेशिक रोजगारीको क्रममा पीडित भएको व्यक्तिको नाताले हो भनेपछि उनी आफ्नो नामसम्म लेख्न दिन राजी भए । त्यसपछि उनले वैदेशिक रोजगारीको क्रममा कसरी आफू ठगिएको र अहिले सोही ठगीलाई कसरी निरन्तरता दिइरहेका छन् भन्ने बोरमा सबै घटना सुनाउँदै गए ।
‘सायद २०७९ मा ५० हजार रुपैयाँ नगुमाएको भए म यतिखेर साउदीको कुनै कम्पनीमा मासिक ३०÷४० हजार रुपैयाँका लागि आठ घण्टा काममा घोटिएको हुन्थेँ,’ कमालले भने, ‘जसरी म ठगिएँ । अहिले म त्यसरी अरूलाई त ठगिरहेको छैन । वैदेशिक रोजगारीमा जानेहरूलाई सहयोग गरिरहेको छु । र, सहयोगबापत लिने रकमले महिनामा ५०÷६० हजार कमाउन गाहे छैन ।’ वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई ‘सहयोग’ गरेकै कारण कसरी उनी महिनामा सहजै ५०÷६० हजार रुपैयाँ कमाउँछन् त ? कमाल भन्छन्, ‘गाउँबाट आउने युवायुवतीलाई म्यानपावरसम्म पु¥याउने र, त्यसबाट प्रतिव्यक्ति १०÷१५ हजार रुपैयाँ लिँदा पनि जुटिहाल्छ त्यति रकम ।’
दिनप्रतिदिन वैदेशिक रोजगारीमा जाने युवायुवतीको सङ्ख्या बढिरहेकाले विदेश पठाउने युवायुवती खोज्न अहिलेसम्म गाउँ गाउँ चहार्नु नपरेको उनको भनाइ छ । ‘मैले गर्ने काम भनेको हरेक दिन नयाँ बसपार्क पुग्नु हो,’ कमालले भने, ‘वैदेशिक रोजगारीमा जान खोज्ने तिनै युवायुवतीलाई म्यानपावरसम्म पु¥याइदिन्छु । धेरैजसो त गाउँबाटै एजेन्टको सेटिङमा आएका हुन्छन् । जति युवायुवती सेटिङबिना आएका हुँदैनन् । उनैलाई म्यानपावर पु¥याइदिन्छु ।’ उनी भन्दै जान्छन्, ‘जसरी मिडियामा म्यानपावरवालाले युवायुवती ठगी गरे भन्ने खबर आउँछन् । त्यसमा सबै दोष म्यानपावरवालाको मात्र हुँदैन ।’
वैदेशिक रोजगारीमा जानेमध्ये करिब आधा जसो दुई÷तीन एजेन्ट हुँदै म्यानपावरसम्म पुग्ने उनको भनाइ छ । कमालले भने, ‘एउटै एजेन्टले १५ हजार रुपैयाँ लियो भने पनि तीन जनालाई बुझाउनु पर्दा कामदारले ४५ हजार रुपैयाँ म्यानपावर नपुग्दै सक्छ । म्यानपावरलाई ५०÷६० हजार रुपैयाँ बुझायो भने पनि कामदारको एक लाख रुपैयाँ त भिसा प्रक्रियामै सकिन्छ ।’ वैदेशिक रोजगारीमा जानेहरूमध्ये धेरैजसो आफन्त र चिनजानेकै व्यक्तिबाट ठगिने उनको भनाइ छ । ‘आफन्त वा गाउँमा चिनेजानेसँग नै कामदारले वैदेशिक रोजगारीको बारेमा पहिला सोधपुछ गर्ने हो,’ कमालले भने, ‘त्यो व्यक्तिले जिल्ला सदरमुकामको एजेन्ट, जिल्लाको एजेन्टले काठमाडौंको एजेन्ट अनि काठमाडौंको एजेन्टले म्यानपावरसम्म कामदारलाई पु¥याउने अहिलेको प्रचलन हो ।’
०००
तीन महिनाअघि एक लाख ४० हजार रुपैयाँ बुझाएर दुबईको मोटास कम्पनीमा पुगेका दीपक गुरुङको वैदेशिक रोजगारी ८ दिनमै टुंगियो । यहाँको स्वास्थ्य परीक्षणमा ‘फिट’ भएर दुबई पुगेका गुरुङलाई रोजगारदाता कम्पनीले स्वास्थ्य परीक्षण गर्दा ‘अनफिट’ भएको रिपोर्ट देखायो । र, गत अक्टोबर ५ तारिखमा नेपाल फर्काइदियो । स्वदेश फर्के लगत्तै एजेन्ट र म्यानपावरले ठगेको भन्दै गुरुङले वैदेशिक रोजगार विभागलगायतका निकाय गुहारिरहेका छन् । तर कतैबाट पनि सहयोग पाउन नसकेको उनको गुनासो छ । म्यानपावरले दुबई पठाउनुअघि गुरुङलाई स्वास्थ्य परीक्षण गराएको तथा नगद रसिद बुझेको कुनै पनि प्रमाण नदिएका कारण नियमणकारी निकायलाई यतिखेर उक्त विवाद टुंगोमा पु¥याउन कठिनाइ भइरहेको छ । ‘वैदेशिक रोजगारीमा जानुअघि नै म्यानपावरसँग स्वास्थ्य परीक्षणको रिपोर्ट मागेको थिएँ,’ तर म्यानपावरले काम चाहिएको हो वा रिपोर्ट भन्दै अल्झायो,’ गुरुङले गुनासो गरे ।
पछिल्लो समयमा जसरी वैदेशिक रोजगारीमा जाने युवायुवतीको सख्या बढ्दो छ । त्यसैगरी नै ठगीका घटनाहरू बढिरहेको सरकारी अधिकारीहरू बताउँछन् । वैदेशिक रोजगारीमा जान लालयित युवायुवती अत्यधिक ठगिनुमा मुख्य रूपमा म्यानपावर दोषी रहेको सरकारी अधिकारीहरूको भनाइ रहे पनि म्यानपावर सञ्चालकहरू भने एजेन्टका कारण म्यानपावरहरू बदनाम भएको दाबी गर्छन् । ‘एजेन्टहरूले कामदारसँग मनपरी रकम असुल गर्ने अनि त्यसको दोष म्यानपावरलाई थुपार्न मिल्दैन,’ वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकाल भन्छन् ।
वैदेशिक रोजगारी देशका लागि कति लाभदायक छ भन्नेबारे लामो समयदेखि बहस हुँदै आएको छ । समाजशास्त्रीहरू दीर्घकालीन रूपमा वैदेशिक रोजगारीले कुनै पनि मुलुक उभो लाग्न नसक्ने तर्क गर्छन् । तर अर्थविद् आम्दानीको अन्य उपाय नहुँदा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले अर्थतन्त्र धान्नु पर्ने बाध्यता हुने तर्क गर्छन् ।
विप्रेषण मोहमा परिवार र समाजमा भुसको आगो सल्केका घटना देखिए पनि निभाउने गरी गतिला प्रयास भने अझै गरिएको देखिँदैन । वैदेशिक रोजगारीलाई कम गरेर युवालाई स्वदेशमै रोजगारी दिन सक्नु पर्ने भूमिकामा रहेको सरकारका क्रियाकलाप नै जसरी हुन्छ युवालाई विदेश जान बाध्य पार्ने खालका रहेको गुनासो हुँदै आएको छ ।
युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुको साटो सरकारी निकाय रोजगारी सिर्जनामा पंगु सरह हुँदा युवा गुजाराका लागि वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यता छ । स्वदेशमा काम गर्न खोज्ने युवालाई सरकारले प्रोत्साहन पनि गर्न सकेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला रोजगारी सिर्जनाका सबैको हातेमालो आवश्यक रहेको बताउँछन् ।
केही युवाले विदेश नगएर स्वदेशमै कृषि कर्म र अन्य उद्यमशीलता गर्छु भन्दा सरकारले त्यस्ता युवालाई सहुलियत पुग्ने गरी उत्पादित कृषिजन्य वस्तु खरिद गर्ने ग्यारेन्टीसम्म गर्न सक्दैन । युवालाई स्वदेशमै रोजगारी दिनुपर्छ भन्ने ओठे भाषण गर्नुबाहेक सरकारले देखिने गरी अरू काम गर्न सकेको देखिँदैन । कम्तीमा सरकारले किसानद्वारा उत्पादन गरिएका कृषिजन्य पदार्थ खरिद गर्ने व्यवस्था मिलाउन सक्ने हो भने अहिले जुन सङ्ख्यामा युवा विदेश जान्छन्, त्यसको आधा जति घट्ने श्रम विज्ञको अनुमान छ । ठूलो लगानी गरी कृषि पेसामा लागेका युवाले उत्पादन निकै सस्तोमा बिक्री गर्नु पर्दा लागत समेत उठ्ने अवस्था हुँदैन । सरकारको सहयोग पर्खेका युवाका लागि सरकार उल्टै रमिते बनिरहेको गुनासो छ ।
‘रोजगारीका लागि बिदेसिन जसरी ठूलो संख्याका युवाको चासो देखिएको छ, स्वदेशमै गरिखाने वातावरण बनाउन सरकारले ठुलै पहल गर्नुपर्ने देखिन्छ,’ श्रम विज्ञ डा. केशव बस्याल भन्छन्, ‘सरकारले हरेक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रम मात्र नभई युवालाई स्वदेशमै रोक्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, महिला उद्यमशीलता जस्ता कार्यक्रमको घोषणा गर्छ तर ती कार्यक्रमको कार्यान्वयन के छ ? समीक्षा गर्नुपर्छ ।’
अर्का श्रम विज्ञ तथा अधिवक्ता सोमप्रसाद लुइँटेल बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने हो भने पहिला स्वदेशमा रोजगारी सिर्जनाका लागि लगानी बढाउनुपर्ने बताउँछन् । ‘रोजगारी सिर्जनाका लागि लगानी नहुने हो भने आउँदा वर्षमा पनि कुनै प्रगति हासिल हुने छैन,’ लुइँटेलले भने । उनले सरकारमा बस्नेहरूलाई कुरा गरेर होइन रोजगारी सिर्जना गर्नका लागि काम गर्न सुझाव दिए ।
युवाको वैदेशिक रोजगारीको मोह बढ्नुमा स्वदेशमा श्रमको सम्मान नहुनु, न्यून पारिश्रमिक पनि महत्वपूर्ण कारण रहेको औँल्याइएको छ । त्यस्तै सरकारले घोषणा गरेका कार्यक्रम जसलाई लक्षित गरिएको हो, त्यहाँसम्म पुग्न नसक्दा पनि आम युवामा विदेश मोह बढेको कतिपयको अनुमान छ । वैदेशिक रोजगारीमा जाने उमेर हरेकका लागि श्रीमान–श्रीमतीसँगै बस्ने बेला हो ।
युवा उमेरभरि विदेशमै बस्नु पर्ने बाध्यताले परिवारमा परस्त्री र परपु समाजमा अनेकथरि यौन क्रियाकलाप देखिनु सामान्य ठान्छन्, चिकित्सकहरू । ‘हरेक महिला, पुरुषका लागि यौन जैविक आवश्यकता हो,’ डा.संकेत रिसालले भने, ‘यौन क्रियाकलाप हरेक व्यक्तिका लागि खाना र निद्रा जस्तै आवश्यक हुन्छ ।’
श्रम विज्ञहरू वैदेशिक रोजगारी नेपालका लागि अहिले नै अन्त्य गर्न सक्ने अवस्थामा नभए पनि कम्तीमा खाडी मुलुक र मलेसिया जाने सङ्ख्या घटाउन आवश्यक भइसकेको सुझाव दिन्छन् । ‘थोरै सङ्ख्या र राम्रा गन्तव्य तथा बढी पारिश्रमिक पाइने मुलुकमा मात्र युवा पठाउने नीति लिनुपर्छ,’ श्रम विज्ञ लुइँटेलले भने । हाल वैदेशिक रोजगारीमा जान नयाँ र पुराना गरी वर्षेनि करिब ६ लाख युवाले श्रम स्वीकृति लिन्छन् । तीमध्ये ९० प्रतिशतको गन्तव्य खाडी मुलुक र मलेसिया हुने गरेको सरकारी तथ्याङ्क छ ।
वर्षेनि श्रम बजारमा प्रवेश गर्नेमध्ये थोरैले मात्र स्वदेशमा सरकारी र गैरसरकारी निकाय तथा निजी क्षेत्रमा रोजगारी पाउँछन् । स्वदेशमा रोजगारी नपाउने अधिकांश युवा वैदेशिक रोजगारीमा जान्छन् । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म करिब ७५ लाख युवाले श्रम स्वीकृती लिएका छन् । तीमध्ये करिब २१ लख ६९ हजार रोजगारीको क्रममा विभिन्न मुलुकमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको २०७८ को विवरणमा उल्लेख छ । भारतमा रहेका र विद्यार्थी तथा अन्य भिसामा विदेश जानेको सङ्ख्या यो विवरणमा उल्लेख छैन ।
अदक्ष कामदारको वर्चस्व
सिकर्मी काम गर्न कतारको हलिउल्लाह कम्पनीले बोलाएका सोलुखुम्बु, राम्सेका पेम्वा शेर्पा उक्त काम गर्न नसक्दा एक सातामै घर फर्किए । ३० वर्षीय शेर्पालाई फर्निचरको काम गर्न लगाउँदा नसकेपछि कम्पनीले अघिल्लो महिना घर फर्काएपछि यतिखेर उनी विदेश जाँदा लागेको खर्च उठाइदिनु प¥यो भन्दै वैदेशिक रोजगार विभागलगायतका निकायमा धाइरहेका छन् ।
विदेश जानुअघि म्यानपावर कम्पनीले कतारमा गर्नुपर्ने कामबारे प्रष्ट नभनेका कारण फर्कनु परेको दाबी गर्दै शेर्पाले वैदेशिक रोजगारीमा जाँदा म्यानपावरलाई बुझाएको ८० हजार र अन्य खर्च २० हजारसहित एक लाख रुपैयाँ उठाइदिनु प¥यो भन्ने माग गरिरहेका छन् । ‘विदेश जानुअघि म्यानपावरले फर्निचर उद्योगमा काठलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने भनेको थियो,’ उनले भने, ‘तर वास्तविक काम त काठका विभिन्न सामान तयार गर्नु रहेछ ।’
काठका विभिन्न सामान तयार गर्ने सिप नभएका शेर्पालाई कम्पनीले उक्त काम नगरे रोजगारी दिन नसकिने बताएपछि निराश हुँदै घर फर्किए । वैदेशिक रोजगारीमा जानुअघि ऋण लिएका शेर्पा बिचमै फर्केपछि म्यानपावरले लिएको रकम फिर्ता नगरे घर, जग्गा लिलाम गर्नुपर्ने अवस्था आउने बताउँछन् ।
वैदेशिक रोजगारीमा गएर राम्रो कमाइ गर्ने र पुरानो घरलाई नयाँ बनाउने योजना बनाएका मोरङ, उर्लाबारी–९ का कृष्ण खत्रीको वैदेशिक रोजगारीको यात्रा पनि एक महिनामै टुगिंयो । खत्रीका अनुसार विदेश जानुअघि हल्का गाडी चलाउनु पर्ने सम्झौता गरिए पनि त्यहाँ हेभी गाडी चलाउन लगाइयो । हेभी गाडी चलाउन नसकेपछि एक महिनामै फर्केका खत्री यतिखेर सिप नसेकी वैदेशिक रोजगारीमा जाँदा आफूलाई पछुताउ भइरहेको बताउँछन् । ‘वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सिप सिकेर गएको भए यतिखेर न वैदेशिक रोजगारीको यात्रालाई बिचमै टुङ्ग्याउनु पथ्र्यो । न लगानी नै डुब्ने थियो,’ उनले भने । अहिले उनी म्यानपावरले लिएको ५५ हजार रुपैयाँ फिर्ता पाउनुपर्ने दाबी गरिरहेका छन् ।
पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जसरी बढिरहेको छ । त्यसरी नै सम्बन्धित कामबारे सिप नसकेर वैदेशिक रोजगारीमा जाँदा जोखिममा पर्ने र लगानी डुबाउने क्रम पनि उस्तै छ । वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित काममा दक्ष भएर जानु पर्ने सरकारी निकायले पटक पटक आग्रह गर्दा पनि धेरैले चासो नदिँदा अन्तिम समयमा क्षति बेहोर्ने धेरै छन् । ‘सिप नसिकेर वैदेशिक रोजगारीमा जाँदा एकातिर स्वयम् कामदार जोखिममा पर्ने गरेका छन् भने अर्कोतर्फ उनीहरूले पाउनु पर्ने पारिश्रमिक पाउन सकेका छैनन्,’ वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले भने, ‘वैदेशिक रोजगारीलाई कम जोखिमयुक्त बनाउन र राम्रो पारिश्रमिक प्राप्तीका लागि कामदारलाई दक्ष बनाउन जरूरी छ ।’ वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ७ लाख ७१ हजार ३ सय २७ युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा १ लाख ७९ हजार २ सय ४७ जनासँग कुनै पनि सिप थिएन । २ सय २७ जना श्रमिकसँग मात्र उच्च सिप थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ म ७ लाख ४१ हजार २ सय ९७ जनाले श्रम स्वीकृति लिँदा १ लाख २२ हजार ८ सय ५४ जनासँग कुनै पनि कामको सिप थिएन । त्यस वर्ष उच्च सिप भएका ५ सय ३७ श्रमिक मात्र वैदेशिक रोजगारीमा गए । श्रम स्वीकृति लिएकामध्ये अन्य श्रमिकसँग आंशिक सिप मात्र थियो । जबकि कुनै पनि काम गर्नलाई पूर्ण सिपको आवश्यकता चाहिन्छ । यस्तो सरकारी तथ्याङ्क अनुसार अझै पनि अधिकांश नेपाली सिप नसिकेरै वैदेशिक रोजगारीमा गइरहेको पाइन्छ ।
सिप नसिकेर वैदेशिक रोजगारीमा जाने क्रम बढिरहँदा विदेशमा नेपाली युवाहरू अंग्रेजीमा ‘थ्रि डि’ भनिने काम गर्न बाध्य हुने गरेका छन् । सिप नसिकेका युवायुवतीले ‘थ्रि डि’ अर्थात् फोहरी, जोखिम र कडा काम गर्नुपर्ने बाध्यता सिप नसिकेर वैदेशिक रोजगारीमा जानु पर्नाले हो भन्ने तथ्यलाई सशक्त रूपमा बुझाउनु पर्ने आवाज उठेको छ । मलेसिया जानुअघि म्यानपावर कम्पनीले भने अनुसारको काम नपाएपछि फर्किएका कोटेश्वरका मीनबहादुर तामाङले भने, ‘विदेश जानुअघि कामदारले सम्बन्धित काम जाने÷नजानेको बारे सरकारी निकायले राम्रोसँग जाँच गरेपछि मात्र श्रम स्वीकृति दिनु पर्छ ।’ मलेसिया जानुअघि म्यानपावरले उनलाई बिजुलीका सामान बिक्री गर्ने पसलमा काम गर्ने जानकारी दिएको थियो । तर मलेसियामा पुगेपछि भने कम्पनीले वायरिङको काम लगाउन खोजेपछि तामाङ घर फर्किएका हुन् ।
वैदेशिक रोजगार विभागका अनुसार यतिखेर कामको खोजीमा विदेश पस्ने युवायुवतीमध्ये ७० प्रतिशतभन्दा बढी सम्बन्धित काममा अदक्ष हुने गरेका छन् । विभागका कर्मचारी वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सिप सिकाउनका लागि अहिले भइरहेका पूर्वाधार पर्याप्त नै नभएको बताउँछन् । र, भएका निकायले पनि विदेशमा आवश्यक पर्ने सिप अनुसार दक्षता प्रदान गर्न नसकेको उनीहरूको भनाइ छ ।
वैदेशिक रोजगारीमा दक्ष कामदारको माग बढे पनि नेपालमा प्राविधिक सिप सिकेका दक्ष जनशक्ति तयार हुन नसकेको भुक्तभोगीको अनुभव छ । ‘नेपालमा स्नातक वा स्नातकोत्तर तहको शिक्षा पूरा गर्दैमा त्यस्ता कामदारलाई दक्ष भन्न मिल्दैन,’ बोर्डका कर्मचारीले भने, ‘जुन कामका लागि जनशक्ति आवश्यक परेको हो । सोही काम जानेकालाई मात्र दक्ष भन्न सकिन्छ ।’ यतिखेर विदेशमा सिकर्मी, डकर्मी, पलम्बर, क्लिनर, वेटर, ड्राइभिङ, व्युटीसियन, इलेक्ट्रिसियन जस्ता सिप जानेका कामदारको अधिक माग रहेको म्यानपावर व्यवसायी बताउँछन् । यस्ता सिप जानेका युवायुवतीको सङ्ख्या मागको तुलनामा भने सधैँ कमी हुने गरेका छन् ।
युवाजति खाडी र मलेसिया
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म श्रम स्वीकृति लिएका करिब ७५ लाख व्यक्तिमध्ये ९० प्रतिशत खाडीका ६ मुलुक (साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, कुबेत) र मलेसिया पुगेको पाइन्छ ।
विश्वका थुपै्र राम्रा देशमा रोजगारीका अवसर हुने गरे पनि नेपाली युवायुवती भने अझै खाडी र मलेसियामा सीमित हुँदा वैदेशिक रोजगारीबाट नेपालले अपेक्षाकृत लाभ लिन नसकेको चर्चा हुने गरे पनि सुधार भने भएको छैन । राम्रा र नयाँ गन्तव्य खोज्न अहिलेसम्म न सरकार न म्यानपावर व्यवसायी नै सफल भएका छन् ।
राम्रा गन्तव्य मुलुक र राम्रा रोजगारदाता फेला पार्न नसक्दा वर्षेनि हजारौँ युवायुवती वैदेशिक रोजगारीको क्रममा ठगिने गरेका छन् । वैदेशिक रोजगार विभागमा दर्ता भएका उजुरीको सङ्ख्या हेर्ने हो भने पनि अधिकांशको पीडा एउटै हुन्छ– रोजगारदाताले सम्झौता अनुसारको पारिश्रमिक र काम नदिएको । वैदेशिक रोजगारीको क्षेत्र अस्तव्यस्त भई रहनुको मुख्य कारण कमसल खालका कम्पनीबाट ल्याउने माग नै हो भन्नेमा धेरैलाई थाहा छ । हाल विभागले १ सय ११ देशमा श्रम स्वीकृति जारी गर्ने गरे पनि अधिकांश म्यानपावरले खाडी र मलेसियाका कम्पनीबाट मात्र माग ल्याउन सकेका छन् । श्रम विज्ञहरूका अनुसार यतिखेर युरोपका राम्रा राम्रा मुलुकमा दक्ष जनशक्तिको आवश्यक परिरहेको छ । तर नेपाल सरकार र म्यानपावर कम्पनीको पहुँच राम्रा मुलुक र राम्रा कम्पनीसम्म पुग्न नसक्दा त्यसको मार ठूलो सङ्ख्याका युवायुवतीलाई परिरहेको छ । खाडीमा गर्ने श्रम युरोपमा गर्दा कम्तीमा तीन गुणा बढी पारिश्रमिक पाउने सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म प्रयास नभएको पीडितको गुनासो छ ।
तेस्रो पटक साउदी जाने तयारी गरिरहेका पाल्पा, रामपुरका विक्रम थापाले खाडी मुलुकमा काम गर्ने ५० प्रतिशतभन्दा बढी नेपाली शोषणमा परेको बताए । ‘सरकारले अब खाडी र मलेसिया मात्र नभई राम्रा गन्तव्य खोज्ने बेला आएको छ,’ थापाले भने, ‘खाडी र मलेसियामा महिनाको ३०÷४० हजार रुपैयाँमा घोटिइरहने अवस्था कायम रहने हो भने नेपालको आर्थिक उन्नति कहिल्यै हुँदैन ।’ महिनाको ३०÷४० हजार रुपैयाँका लागि कोही पनि विदेश जान आवश्यक नभएको उनले बताए । थापाले भने, ‘खाडीमा ३०÷४० हजार कमाएर कसैको प्रगति नहुने थाहा भए पनि वैदेशिक रोजगारीमा रहेका ठूलो सङ्ख्याका कामदारले पाउने रकम त्यति नै हो । त्यसैले अब सरकारले या वैदेशिक रोजगारी बन्द गर्नुपर्छ नभए राम्रा गन्तव्य र रोजगारदाता कम्पनी खोज्नु पर्छ ।’ तन्नम रोजगारदाता कम्पनीको माग ल्याएर युवायुवतीलाई अलपत्र पार्ने म्यानपावरलाई कारबाही गर्नुपर्ने हालै मलेसियाबाट फर्केका पोखराका चामबहादुर गुरुङले बताए । ‘वैदेशिक रोजगारीमा जाने हो भने महिनामा कम्तीमा ५० हजार रुपैयाँ पारिश्रमिक नदिने कम्पनीमा कामदार पठाउन दिइनु हुँदैन,’ गुरुङले भने, ‘वैदेशिक रोजगारीलाई अहिल्यै बन्द गर्न सकिँदैन भने राम्रा गन्तव्य खोज्न ढिलाइ गरिनु हुँदैन ।’
दोस्रो पटक साउदी जाने तयारी गरिरहेका झापाका दिलीप राजवंशी खाडी मुलुकमा काम गर्ने ५० प्रतिशतभन्दा बढी नेपाली शोषणमा पर्ने गरेको दाबी गर्छन् । ‘सरकारले अब खाडी र मलेसिया मात्र नभई राम्रा गन्तव्य खोज्ने बेला आएको छ,’ वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकालले भने,‘नयाँ गन्तव्य खोज्नका लागि निजी क्षेत्रको मात्र प्रयास प्रयाप्त नहुने भएकाले सरकारले द्विपक्षीय वार्ता गर्न सके मात्र उपलब्धि हुन्छ ।’ उनले नेपाली कामदारको माग युरोपका राम्रा देश र अमेरिकामा समेत छ,’ उनले भने, ‘त्यसैले सरकारले नयाँ गन्तव्य आवश्यक छ भन्ने कुरा महसुस गर्न जरुरी छ ।’ अहिले वैदेशिक रोजगारीमा रहेका युवायुवती यदि राम्रा देशमा जान सकेको भए अहिलेको विप्रेषण कम्तीमा पनि दोब्बर हुन सक्ने विज्ञहरू बताउने गर्छन् ।
०००
स्वदेशमा रोजगारीका अवसर नहुँदा यतिखेर वैदेशिक रोजगारी युवाका लागि बाध्यता बनेको छ । वैदेशिक रोजगारीबाट विप्रेषण भित्रिँदा जसरी घर परिवार र देश चलाउन सहज भएको छ । त्यसरी नै वैदेशिक रोजगारीका कारण समाजमा अनेक समस्या देखिन थालेका छन् । उमेर छउन्जेल विदेश बस्ने र बुढेसकालमा घर फर्कने समस्या वृद्धि हुँदै छ ।
त्यसैले कस्तो अवस्थामा युवाहरू वैदेशिक रोजगारीमा जाने र वैदेशिक रोजगारीमा गइसकेकालाई कति अवधिसम्म बस्न दिने भन्नेबारे सरकारले ठोस योजना बनाउन जरुरी देखिन्छ । वैदेशिक रोजगारीमा जाने सबैले राम्रोसँग जीविकोपार्जन गर्छन् भन्ने अवस्था छैन । किनकि लामो समयसम्म गन्तव्य मुलुकमा बस्दा पारिवारिक विखण्डन पनि हुने गरेको छ ।
स्वदेशमा केही गरौँ भन्ने युवा पनि काम गर्ने वातावरण नभएको भन्दै बिदेसिन बाध्य छन् । एकातिर स्वदेशमा काम गर्न खोज्नेलाई प्रोत्साहन गर्न आवश्यक छ भने अर्कोतर्फ वैदेशिक रोजगारी मात्र सब थोक होइन भनेर बुझाउन उत्तिकै जरुरी छ । त्यस्तै विदेश भनेको रूखबाट पैसा टिप्न पाइने होइन भन्ने चेतना फैलाउन पनि त्यत्तिकै आवश्यक छ ।
वैदेशिक रोजगारीबारे समयमै गम्भीर नहुने हो भने यसबाट लाभ भन्दा बेफाइदा बढी हुने दिन आउन सक्छ । समयमै ध्यान दिने हो भने वैदेशिक रोजगारीबाट लाभ लिन सकिन्छ भने वैदेशिक रोजगारीका कारण समाजमा आउने अनेक समस्या रोकिन सक्छन् ।
‘स्वदेशी रोजगारीको प्रोत्साहन गर्नुपर्छ’
सोमप्रसाद लुइँटेल, अधिवक्ता तथा श्रम आप्रवासन विज्ञ
बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने हो भने पहिला स्वदेशमा रोजगारी सिर्जना हुनुपर्छ । रोजगारी सिर्जनाका लागि उद्योग, कलकारखाना खुल्नु प¥यो । रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी हुनुप¥यो । रोजगारी सिर्जनाका लागि लगानी नहुने हो भने आउँदो पाँच वर्षमा पनि प्रगति हासिल हुँदैन । यति बेला सरकारका मन्त्री र अन्य जिम्मेवारी निकायमा बसेका व्यक्तिहरूले कुरा मात्र नगरी रोजगारी सिर्जना गर्न काम गर्नुपर्ने बेला आएको छ । युवाको वैदेशिक रोजगारीको मोह बढ्नुमा स्वदेशमा श्रमको सम्मान नहुनु र न्यून पारिश्रमिक पाइनु पनि हो ।
‘युवालाई स्वदेशमै काम दिन्छौँ भनेर मात्रै हुँदैन’
डा. केशव बस्याल, श्रम आप्रवासन अध्येता
केही वर्षदेखि बढेको वैदेशिक रोजगारीमा जाने क्रम अझै घटेको छैन । र, तत्काल घट्ने सम्भावना पनि देखिँदैन । वैदेशिक रोजगारीमा जानु नराम्रो होइन । मुख्य कुरा बाध्यतामा परी कोही पनि विदेश जानु हुँदैन भन्ने हो । त्यसैले सरकारले विभिन्न कार्यक्रम गरेर बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्न सक्नु पर्छ । मुखले मात्र युवालाई स्वदेशमै काम दिन्छौँ भनेर हुँदैन ।
‘परिवारमा पर्ने असर पनि ख्याल गर्नुपर्छ’
डा. सङ्केत रिसाल, चिकित्सक
वैदेशिक रोजगारीमा जाने उमेर भनेको हरेक श्रीमान श्रीमतीसँगसँगै बस्नु पर्ने बेला हो । वैदेशिक रोजगारीमा जाने १८–३९ वर्षको अवधि नै बच्चा जन्माउने सही समय पनि हो । यही उमेरमा नै यौन क्रियाकलाप बढी हुने गर्छ । उमेर हुँदा विदेश बस्ने र जसले गर्दा परिवार र समाजमा अनेकथरि समस्या देखिनु स्वाभाविक हो । हरेक महिला र पुरुषका लागि यौन जैविक आवश्यकता हो भन्नेबारे बुझाउन जरुरी छ । नत्र समाजमा अनेकथरि समस्या देखिन सक्छन् ।
‘रोजगारी सिर्जनामा सबैको सहयोग आवश्यक छ’
डन्डुराज घिमिरे, प्रवक्ता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
स्वदेशमा रोजगारी सिर्जनाका लागि मन्त्रालयको तर्फबाट सक्दो काम भइरहेको छ । बेला बेला श्रम तथा रोजगार सम्मेलन गर्दै आएका छौँ । यो वर्ष पनि पाँचौँ सम्मेलन हुँदै छ । तर यति गर्दा पनि पर्याप्त रोजगारी सिर्जना हुन सकिरहेको छैन । रोजगारी सिर्जना हुनका लागि उद्योग, व्यवसाय स्थापना हुनै पर्छ । उद्योग व्यवसाय पनि अपेक्षित स्थापना हुन सकिरहेका छैनन् । सरसर्ती हेर्दा उद्योग व्यवसाय स्थापना हुन नसक्नुमा सुशासन, श्रम सम्बन्ध तथा जग्गाको समस्या रहेको लगानीकर्ताहरूको गुनासो रहँदै आएको छ । यस्ता गुनासोको समाधानमा मन्त्रालय एक्लैले केही गर्न सक्दैन ।