अंश र मानाचामल नलिएर विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरिन् गायिका एलिना चौहानले

टुरिजमफेस
काठमाडौं । अंश र मानाचामल नलिएर गायिका एलिना चौहानले विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । काठमाडौं जिल्ला अदालतमा उनीहरूबीच सम्बन्धविच्छेदको मुद्दा टुंगो लागेको हो ।
झापाकी एलिना र बागलुङका विष्णुबीच गत वैशाखमा विवाह भएको थियो । न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेदको फैसला भएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।
सम्बन्धविच्छेदको मुद्दा टुंगो लागेपछि एलिनाले विष्णुलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको बताएकी छन् । उनले अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै रहेको र तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै रहेको बताएकी छन् ।
उनले भनेकी छन्– तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् । उनले पत्नीको अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको उल्लेख गर्दै विष्णुलाई बाँकी जीवनको शुभकामना दिएकी छन् ।