रसुवामा आएको भीषण बाढीले करिब ६०० मेगावाटका दर्जन जलविद्युत आयोजना प्रभावित

काठमाडौं । रसुवामा आएको भीषण बाढीका रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका ५ सहित करिब ६०० मेगावाट क्षमताका आधा दर्जन भन्दा धेरै जलविद्युत आयोजनामा क्षति भएको छ ।
बाढीका कारण १११ मेगावाटको रसुवागढी, २२ मेगावाटको चिलिमे, ६० मेगावाटको त्रिशूली ३ ए, २५ मेगावाटको त्रिशुली र १४ मेगावाटको देवीघाट जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बाढीका कारण निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली १, १०० मेगावाटको सुपरत्रिशुली र ३७ मेगावाटको त्रिशुली ३ बी जलविद्युत आयोजनामा पनि क्षति भएको छ ।
बिहान ११ बजेसम्म पनि नदीमा बाढीको सतह कम नभएका कारण क्षतिको एकिन तथ्याङ्क भने आउन सकेको छैन ।
मितेरी पुल र सुख्खा बन्दारगाह नै बगाउने गरी आएको बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।
अन्य आयोजनाहरुमा भने नदी सतहसँगैका संरचनामा क्षति भएपनि ठूलो क्षति भए/नभएको एकिन भएको छैन ।