८ हजारमाथिका चुचुरा ५० पटक चुम्ने नयाँ रेकर्ड बनाए निर्मल पुर्जाले

टुरिजमफेस
काठमाडौं । विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ ले आठ हजार मिटरभन्दा अग्ला हिमालमा ५० पटक पुगेर नयाँ रेकर्ड बनाएका छन् ।
उनले पाकिस्तानको नांगा पर्वतको आरोहण गरेर नयाँ रेकर्ड बनाएका हुन् । विश्वभरका पर्वतारोहीका लागि यस्तो रेकर्ड निकै दुर्लभ मानिन्छ । ५० आरोहणमा पुर्जाले २२ पटक अक्सिजनबिना नै हिमाल आरोहण गरेका छन् ।
पुर्जाले आरोहण क्षेत्रमा लाग्दादेखि नै बनाएको सपना पूरा भएको बताए । करिब १५ वर्ष बेलायती सेनामा काम गरेका पुर्जाले २०६९ मा पहिलोपटक सगरमाथा आधार शिविरसम्म पदयात्रा गरेका थिए ।
हिमाल आरोहणको १२ वर्षको अवधिमा उनले विश्वकै अग्लो सगरमाथासहित नेपालका ८ तथा पाकिस्तान र चीनमा गरी १४ अग्ला हिमालमा ५० पटक आरोहण गरेका छन् । अहिलेसम्म सातै महादेशका अग्ला चुचुरोमा बिनाअक्सिजन आरोहण गर्ने कीर्तिमान कसैले पनि बनाएको छैन ।