नेपालगन्ज–१० नाइट रनमा रिले दौड समावेश

टुरिजमफेस
नेपालगन्ज । एकमात्र रात्री दौड नेपालगन्ज–१० नाइट रनमा रिले दौड विधा समावेश गरिएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो । एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड सञ्चालन हुनेछ ।
असोज ३ गते सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० बर्षमाथि उमेर समुह), ५ किलोमिटर भेट्रान्स महिला (४५ बर्ष माथि उमेरसमुह) र १० किलोमिटर मिक्स रिले(चार जनाको समुह दौड) गरी अलग स्पर्धा राखिएको छ । मिक्स रिले पहिलोपटक प्रयोग गर्न लागिएको आयोजकले जनाएको छ ।
स्कुल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । ‘दश किलोमिटरलाई समान चार दुरीमा बाँडेका हुन्छौं, त्यहीअनुसार धावकले आफ्नो पालोमा आफ्नो दुरी पुरा गर्नुपर्ने हुन्छ,’ गुरुङले भने, ‘यो दौडले रोमाञ्चकता थप्नेछ र दौडमा आम सर्वसाधारणलाई आकर्षित गर्नेछ ।’
रिले दौडले आम मान्छेलाई दौडको मजा लिन प्रेरित गर्ने एम्स दुत तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए । ‘नेपालको पुरानो सहरलाई जीवन्त बनाइरहन दौडका विभिन्न विधालाई उजागर गर्न प्रयासरत रहेको उनको भनाइ छ ।
नेपालगन्ज–१० नाइट रन एक दशक यात्रा पुरा गरेको धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट हो । यी दुवैको संयोजन एवं व्यवस्थापन क्रियटिभ गन्जले गर्दै आएको छ ।
नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि सुरु भई राँझा चोक पुगेर पुनः सोही रुटबाट बीपी चोकमै पुगेपछि दश किलोमिटर दुरी पुरा हुन्छ ।