नेपाल – भियतनामबीच कूटनीतिक र सांस्कृतिक क्षेत्रको सम्बन्धलाई अझ प्रगाढ बनाइने

टुरिजमफेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरूले अनुभव आदानप्रदान गर्नुका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको हो ।
भेटमा सहभागी प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले दुई देशबीच सरकार–सरकार, व्यावसाय–व्यवसाय र जनता–जनताका साथै कूटनीतिक र सांस्कृतिक क्षेत्रको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको जानकारी दिए ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन्।