रुद्रकली र खगेन्द्र अब कतारको चिडियाखानामा बस्ने

टुरिजमफेस
चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ ।
प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ ।
हात्ती राख्ने खोर निर्माणको प्रक्रिया अघि बढाइएको र खोर बनेपछि हात्ती पठाउँने बताए । भैरहवा विमानस्थलबाट पठाइने भएकाले खोर निर्माणपछि दाउन्नेको बाटोको अवस्था हेरेर चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उनले बताए ।
कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली ७ वर्ष र खगेन्द्र प्रसाद ६ वर्षका छावा हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले खोर निर्माणको काम अघि बढाएको छ ।
कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार कोष र नेपालका लागि कतार राजदूतावासका बीचमा खोर निर्माण गरी भैरहवा विमानस्थल पुर्याएर जहाज चढाउने सम्मको कामका लागि सम्झौता भइसकेको छ । उनका अनुसार ‘कोटेसन’ मार्फत खोर निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । उनले भने, “दसैँअघि सम्ममा खोर बनाउने गरी तयारी गरेका छौँ ।”
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माणको प्रक्रिया अघि बढाएको हो । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ ।
खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरी बताउँछन् । खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पूजा कली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् ।
यसअघि नेपालले विभिन्न मित्रराष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ ।