पर्यटकीय गन्तव्य बन्दीपुरलाई थप प्रवर्द्धन गर्न ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम

टुरिजमफेस
काठमाडौं । तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रम आयोजना गरिएको छ ।
बन्दीपुर गाउँपालिका र नेपाल पर्यटन बोर्ड गण्डकीको सहकार्यमा क्षेत्रीय होटल सङ्घ बन्दीपुर एकाइले आज कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बन्दीपुरको पर्यटन यात्रा विगतमा आरोह–अवरोहपूर्ण रहे पनि हाल क्रमशः लयमा फर्किएको बताए । उनले धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा समृद्ध बन्दीपुरको पर्यटन प्रवर्द्धनमा स्थानीय समुदायको मुख्य भूमिका हुने बताए । अर्थमन्त्री पौडेलले पूर्वाधार निर्माणका लागि सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका संयोजक आशुतोष प्रधानले बन्दीपुरलाई ‘नेपालको पहाडी भेगको लिभिङ म्युजियम’का रूपमा चित्रण गरे । उनले त्यहाँका पुराना नेवारी शैलीका घर र गल्ली, थानी माई मन्दिर, खड्गदेवी मन्दिर, विशाल टुँडिखेल मैदान, सिद्ध गुफा तथा गुरुङ, नेवार, मगर समुदायको परम्परागत संस्कृति र भोजन पर्यटकका लागि विशेष आकर्षणका रूपमा रहेको बताए ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले हाल ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ सञ्चालन भइरहेको जानकारी दिए । यस अभियानले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने र राजधानीमा आयोजित ‘बन्दीपुर इन काठमाडौँ’ कार्यक्रमले त्यहाँको सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा ठूलो योगदान पुग्ने उनको विश्वास थियो ।
त्यस अवसरमा बन्दीपुरको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदानकर्तालाई सम्मान गरिएको थियो । शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका चीजकुमार श्रेष्ठ, स्वास्थ्य क्षेत्रमा डा मदनकुमार पिया र पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउने सन्तकुमार श्रेष्ठलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो ।