पर्यटन प्रवर्द्धनका लागि ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने

टुरिजमफेस
इलाम । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ ।
अन्तरराष्ट्रिय रेडपाण्डा दिवसका अवसरमा आगामी असोज ४ गते इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्म म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए ।
रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहयोगमा दीपज्योति युवा क्लबले म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुष र महिलातर्फका म्याराथनअन्तर्गत धावक इलाम सदरमुकामस्थित चोक बजार (एक हजार १२० मिटर उचाइ) बाट सन्दकपुर डाँडा (तीन हजार ६१० मिटर उचाइ) सम्म ४४ दशमलव दुई किलोमिटर दूरीमा दोडने छन् ।
प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित देशभरका १०० बढी धावक सहभागी हुनेछन् । प्रतियोगिताका पुरुष र महिलातर्फ छुट्टाछुट्टै पहिलो हुनेले रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजार प्राप्त गर्ने आयोजक दीपज्योति युवा क्लबले जनाएको छ ।
त्यसैगरी, स्थानीय विधातर्फ इलाम, पाँचथर र ताप्लेजुङका धावकका लागिसमेत छुट्टै प्रतियोगिता हुनेछन् । पुरुष र महिलातर्फका पहिलो हुनेले रु २५ हजार, दोस्रो हुनेले रु २० हजार, तेस्रो हुनेले रु १० हजार र चौथो हुनेले रु पाँच हजार पाउनेछन् ।