जेनजी प्रदर्शन, सरकार थर्कमान

टुरिजमफेस
काठमाडौं । सामाजिक सञ्जाल बन्द तथा बढ्दो भ्रष्टाचारको विरोधमा काठमाडौं लगायत देशका विभिन्न स्थानमा जेनजी युवाहरूले प्रदर्शन सुरु गरेका छन् । भ्रष्टाचार, अव्यवस्था विरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर राष्ट्रभक्ति गीत गाउँदै ठूलो संख्याका युवायुवती भेला भएपछि सरकारमा रहेकाहरू त्रसित भएका छन् ।
जेनजीको आक्रोश सरकारसँग व्यापक रहेको छ । सरकारमा बस्नेहरू जनताको माग पूरा गर्न नसकेको भन्दै गुनासो गरेका छन् । जेनजीले प्रदर्शनको तयारी गरेकै बेला कोशी प्रदेशका मन्त्रीले सडकमा बालिकालाई घाइते बनाएपछि झनै प्रदर्शनमा घीउ थप्ने काम गरेको छ । ती मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर उद्धार गर्नुको साटो भागेको थियो । प्रदर्शनमा सहभागी जेनजीले ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।
उनीहरूले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् । त्यस्तै प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता जनाएका छन् । जेनजीको विरोध प्रदर्शनमा ठूलो संख्याका प्रहरी तैनाथ गरिए पनि प्रदर्शन स्वस्फूर्त भइरहेको छ ।