जेन z ले भन्यो– आन्दोलनमा घुसपैठ भयो, सुरक्षित घर फर्कौं

टुरिजमफेस
काठमाडौं । जेनजी आन्दोलन समूहले आन्दोलनमा घुसपैठ भएको जनाएको छ । आन्दोलनमा घुसपैठ भएकाले सबै आन्दोलनकारीहरूलाई फर्कन आह्वान गरेको छ ।
बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो । जेन डट जेटनेपाल नामको इन्स्टाग्राम अकाउन्टमा एक सूचना जारी गर्दै प्रदर्शनमा सहभागी सबैलाई घर फर्कन भनिएको छ ।
माइतीघरदेखि सुरु भएको जुलुस बानेश्वरमा पुगेपछि उग्र बनेको थियो । प्रदर्शन उग्र बनेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास तथा गोली प्रहार गरेको थियो । प्रदर्शनकारी बानेश्वरस्थित संसद् भवन परिसरमा पनि प्रवेश गरेका थिए ।
प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन नसकेपछि सेना परिचालन गरिएको छ भने बानेश्वर आसपासका क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । जेनजीले सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका थिए ।