घाइते जेनजीलाई उपचार गर्न अस्पताललाई हम्मेहम्मे

टुरिजमफेस
काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध स्वस्फूर्त सरकारको विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीको अत्यधिक दमन हुँदा घाइते भएका जेनजीको उपचार गर्न अस्पताललाई हम्मेहम्मे परेको छ ।
निजामती कर्मचारी (सिभिल) अस्पतालले त सबैको उपचार गर्न असमर्थ देखिएको भन्दै अन्यत्र लैजान आग्रह गरेको छ । घाइते प्रर्दशनकारीको भिड बढेपछि उपचार गर्न असमर्थ रहेको अस्पतालले जनाएको छ ।
अस्पतालको इमर्जेन्सीले नधानेपछि ओपीडीमा समेत राखेर उपचार भइरहेको छ । अस्पतालमा कार्यरत जनशक्तिको भन्दा निकै बढी घाइते आएपछि उपचारमा समस्या भइरहेको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा दीपक पौडेलले १ सयभन्दा बढी घाइतेको उपचार भइरहेको बताए ।
प्रहरी ज्यादत्तिमा कति घाइते भए पनि यकिन हुन सकेको छैन । सिभिलबाहेक ट्रमालगायतमा अन्य अस्पतालमा पनि जेनजीको उपचार भइरहेको छ । प्रहरीको गोली लागेर अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । छोटो समयमा केपी ओली शर्माको सरकारले गरेको यो दमनलाई इतिहासकै ठूलो घटनाको रूपमा लिइएको छ । राणाकालीन समय अथवा राजतन्त्र अन्त्यको बेला पनि एकैदिन यति धेरै निहत्था मारिएका थिएनन् ।