यसरी भयो राष्ट्रपति पौडेल र सुशीला कार्कीबीच सहमति

टुरिजमफेस
काठमाडौं । परिवर्तनकारी जेनजी समूहको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा संविधान कार्यान्वयनको कार्यभार राष्ट्रपति रामचन्द्र पौडेल र सुरक्षाको जिम्मा नेपाली सेनामा आइलाग्यो ।
देशमा कार्यकारी रिक्त भएपछि कसलाई जिम्मेवारी तोक्ने भन्नेबारे विवाद भइरहेको बेला जेनजी समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम लिए र बालेनले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा अघि सारे । जेनजीको मनसाय अनुसार राष्ट्रपति कार्कीलाई प्रधानमन्त्री बनाउन त तयार भए । तर राजनीतिक दलहरूको चपेटामा परेका राष्ट्रपतिले बिहीवार कार्कीसमक्ष संसद् विघटन नगरी प्रधानमन्त्री बन्न आग्रह गरे ।
कानूनको पर्याप्त ज्ञान भएकी कार्कीलाई संसद् यथावत रहँदा आउन सक्ने अनेकन अप्ठ्याराबारे राम्रो थाहा भएकाले उनले संसद् विघटन नहुँदासम्म प्रधानमन्त्री नबन्ने अडान लिइन् । र, सोही अडानलाई जेनजी समूहले साथ दियो ।
तर पनि राजनीतिक दलको चेपुवाका कारण राष्ट्रपति पौडेल जेनजीको माग अनुसार संसद् विघटन गर्न नसक्ने दवावमा परे र त्यसलाई शुक्रवार साँझसम्म थेग्न सके । यही बीचमा एकातिर जेनजी समूहले चाँडो माग पूरा नगरे राष्ट्रपति कार्यालय घेराउ गर्ने अडान लियो भने अर्कोतर्फ सेनाले संकटकाल नलगाउने हो भने सुरक्षा व्यवस्था कायम राख्न नसकिने जानकारी राष्ट्रपतिलाई गरायो । अन्त्यमा संकटकाल लगाएको दोष बोक्नु भन्दा राष्ट्रपति पौडेल कार्कीको सिफारिस अनुसार प्रतिनिधि सभा विघटन गर्न तयार भए ।