पर्यटकको सुविधाका लागि तोरीपानीमा ‘होमस्टे’ सञ्चालन

टुरिजमफेस
म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालन भएको छ । तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सृजना र पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन भएको हो । पहिलो चरणमा पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन भएको समूहकी अध्यक्ष सीता खत्रीले बताइन् ।
“पाहुना राख्नका लागि कोठा र शौचालयलगायत पूर्वाधार तयार भएका छन्”, उनले भनिन्, “इको हिमालय संस्थाले बेड, विस्तारा र सरसफाइका लागि आवश्यक पर्ने करिब रु छ लाख मूल्यबराबरका सामग्री सहयोग गरेको छ ।”
जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरबास सुरु भएको हो । संस्था दर्ता भइसकेको छ । दोस्रो चरणमा थप घरमा पनि घरबास सञ्चालनको तयारी भएको छ ।
समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि र अन्नपूर्ण हिमाल देखिन्छ । मसलेदार फल टिमुरखेतीका लागि तोरीपानी प्रसिद्ध छ । तोरीपानीको शिरमा पर्यटकीयस्थल टोड्के, ऐतिहासिकस्थल ढोलथान दरबार, धार्मिकस्थल पछै छन् ।
बेनीदेखि नेप्टेचौर हुँदै तोरीपानी जोड्ने सडक गण्डकी प्रदेश सरकारमार्फत कालोपत्रसहित स्तरोन्नतिका क्रममा छ । तोरीपानी हुदै बाइसेचौवीसे राज्यको पालामा दरबार रहेको ढोलथान जोड्ने सडक सङ्घीय सरकार र नगरपालिकामार्फत स्तरोन्नतिका लागि योजनाहरू सञ्चालन भएका छन् ।