हिमपातले किसान र पर्यटन व्यवसायी उत्साहित, स्याउलगायतका बोटबिरुवालाई भने आंशिक असर
टुरिजमफेस
मुस्ताङ । जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ । आज बिहानदेखि परेको हिउँ निरन्तर परिरहेको छ । अक्सर मङ्सिर महिनाको अन्त्यतिर पर्नुपर्ने हिउँ कात्तिकमा नै परेको हो ।
मुस्ताङवासीले केही वर्षयता भारी मात्राको हिमपात देख्न पाएका थिएनन् । जसका कारण यहाँको कृषि, पर्यटन र जैविक विविधतामा नकारात्मक असर पुर्याएको थियो । यहाँ यस वर्ष समून्द्री सतहको तीन हजार मिटरमाथिको उचाइमा हिमपात भएको हो । मुक्तिनाथ र उपल्लो मुस्ताङको घमीदेखि माथि बस्ती तथा उच्चलेकमा हिमपात भइरहेको छ ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र त्यसआसपासका क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि तल्लो क्षेत्रका बस्तीमा निरन्तर वर्षा भइरहेको छभने बस्तीदेखि माथिका उच्चलेकमा हिउँ परेको छ । मनाङ हुँदै थोरङलापास पदमार्ग, जोमसोम, ठिनी हुँदै तिलिचो जाने नमुखलेकदेखि मेसोकोन्दो पास पदमार्ग र धौलागिरि आइसफलको धम्पुस पिक पदमार्गलगायत स्थानमा बाक्लो हिउँ पर्दा पदमार्ग अवरुद्ध भएका छन् ।
उपल्लो मुस्ताङको कोरला सडकमा पनि हिउँ पर्दा सवारीसाधन जान सकस छ । स्थानीय प्रशासनले यसअघि नै सार्वजनिक सूचना प्रकाशित गरी उच्च स्थानका पर्यटकीय पदमार्गमा यात्रा नगर्नसमेत आग्रह गरिसकेको छ । यहाँको मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरु सकसमा परेका छन् । वर्षासँगै हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीलाई हिउँले सास्ती पुर्याएको छ ।
मुक्तिनाथ पुगेका दर्शनार्थी हिमपातसँगै चिसो अत्यधिक बढेका कारण र स्नानकुण्डमा हिउँ जमेका कारण स्नान गर्ने र १०८ धारामा नुहाएर मन्दिरको दर्शन गर्नसक्ने अवस्था नरहेको बताइएको छ । जसोतसो मुक्तिनाथ दर्शन गरी फर्किएका सवारीसाधन तथा यात्रु सडकमा जमेको हिउँका कारण खिङ्गाबाट तल झर्न सक्ने अवस्था नरहेको वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रवेश गुरुङले जानकारी दिए ।
स्थानिय प्रहरी प्रशासनले पनि कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा यात्रा नगर्नु भनेर अनुरोध गरेको बताइएको छ । अहिलेसम्म हिमपातका कारण स्थानीय र पर्यटकको दैनिक जनजीवन प्रभावित भए पनि हिउँका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको प्रशासनको भनाइ छ ।
वडाध्यक्ष गुरुङले हिमाली क्षेत्रमा अनुकूल समय हिमपात हुनु स्वाभाविक भए तापनि यस वर्ष कात्तिकमै हिउँ पर्दा आश्चर्य तुल्याएको बताए । हिउँले कृषि, पर्यटन र पशुपालन क्षेत्रलाई फाइदा पुग्ने भए पनि बाक्लो हिमपातका कारण स्याउलगायतका बोटबिरुवालाई आंशिक क्षति पुर्याएको वडाध्यक्ष गुरुङको भनाइ छ ।
यहाँ भइरहेको हिमपातले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले उल्लेख गरे । हिउँ खेल्न र हिउँसँगै रमाउन पर्यटक मुस्ताङ आउनसक्ने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने अध्यक्ष ठकुरीको भनाइ छ । “हिउँ छिटो परेकाले जमिनमा अडिन समय लाग्न सक्छ, यस्तै तरिकाले दुई÷तीन दिनसम्म हिउँ परेमा यहाँका बस्ती र डाँडा झनै सेताम्मे हुने भएकाले हिउँ निरन्तर पर्नुपर्ने आवश्यकता रहेको छ”, अध्यक्ष गुरुङले भने ।
