नेपाली आकाशमा यात्रुको दोहोरो कथा: विदेश उड्ने ५० लाख, देशमै घुम्ने ४६ लाख
काठमाडौं — सन् २०२५ मा नेपाली आकाशले झन्डै एक करोड यात्रुको आवतजावत बोक्यो। कोही विदेश उडे, कोही देशभित्रै सहर–सहर घुमे। तथ्यांकले देखाउँछ—अन्तर्राष्ट्रिय गन्तव्य रोज्ने यात्रु ५० लाख नाघ्दा आन्तरिक उडानमार्फत नेपालमै यात्रा गर्नेको संख्या पनि ४५ लाख ६९ हजार पुगेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २५ लाख ८८ हजार यात्रु विदेश गएका छन् भने २४ लाख ३७ हजार यात्रु नेपाल भित्रिएका छन्। अन्तर्राष्ट्रिय र आन्तरिक उडान जोड्दा सन् २०२५ मा हवाई सेवाबाट लाभान्वित यात्रु संख्या ९६ लाख १४ हजार पुगेको छ।
आन्तरिक उडानमा यात्रु बढे
आन्तरिक उडानतर्फ त्रिभुवन विमानस्थल नै मुख्य केन्द्र बनेको छ। यहाँबाट २३ लाख ३२ हजार यात्रु बाहिरिँदा २२ लाख ३७ हजार यात्रु भित्रिएका छन्। गत वर्षको तुलनामा करिब डेढ लाख यात्रु थपिएका छन्।
सन् २०२४ मा ४४ लाख १२ हजार यात्रुले आन्तरिक उडान सेवा लिएकामा २०२५ मा यो संख्या ४५ लाख ६९ हजार पुगेको हो। तीमध्ये ५१ हजार ४२८ यात्रु हेलिकप्टर सेवाका हुन् भने बाँकी सबै स्थिर पंखे भएका जहाजमार्फत यात्रा गरेका छन्।
अन्तर्राष्ट्रिय उडानमा निगमको अग्रता
चारवटा जहाजबाट उडान गरिरहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा धेरै यात्रु सेवा दिएको छ। निगमले सन् २०२५ मा ६ लाख ६ हजार ३३३ यात्रुलाई सेवा दियो।
निगमले ३ हजार ५१७ उडानमार्फत २ लाख ८८ हजारभन्दा बढी यात्रु नेपाल भित्र्याउँदा ३ लाख १६ हजार यात्रुलाई बाहिर पुर्याएको छ। दुई न्यारोबडी र दुई वाइडबडी जहाजसहित निगम सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्ने नेपाली वायुसेवा पनि हो।
हिमालय एयरलाइन्सले भने एक वर्षमा ४ लाख ७४ हजार यात्रुलाई सेवा दिएको छ। काठमाडौंबाट भारतका बनारस र कोलकाता उडान गर्ने बुध्द एयरले अन्तर्राष्ट्रिय उडानमार्फत १६ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको क्यानको तथ्यांकले देखाउँछ।
आन्तरिक बजारमा बुध्द एयर अझै बलियो, तर यात्रु घटे
आन्तरिक उडानमा सबैभन्दा ठूलो खेलाडी बुध्द एयर नै हो। १७ वटा जहाजसहित देशका प्रमुख सहरी विमानस्थल जोड्दै आएको यस वायुसेवाले सन् २०२५ मा २५ लाख ६३ हजार यात्रुलाई सेवा दिएको छ।
तर अघिल्लो वर्षको तुलनामा बुध्दको यात्रु संख्या ८५ हजारले घटेको छ। यससँगै यसको यात्रु हिस्सा ५६ प्रतिशतमा सीमित भएको छ, जुन अझै पनि आन्तरिक बजारमा सबैभन्दा ठूलो हो।
प्रतिस्पर्धामा यति र श्री
बुध्दपछि यति एयरलाइन्स दोस्रो स्थानमा छ। यतिले सन् २०२५ मा १० लाख ९ हजार यात्रुलाई सेवा दिएको छ, जुन गत वर्षभन्दा बढेको हो। श्री एयरलाइन्सले पनि यात्रु संख्या उल्लेख्य रूपमा बढाउँदै ८ लाख ७० हजार यात्रु पुर्याएको छ।
दुर्गम उडानमा सक्रिय तारा, सीता र समिट एयरलाइन्सको यात्रु संख्या पनि क्रमशः बढेको छ। तर हेलिकप्टर सेवा र नेपाल वायुसेवा निगमको आन्तरिक यात्रु संख्या भने घट्दो क्रममा देखिएको छ।
