सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५४ प्रतिशतले वृद्धि
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि गरेको छ। खुद ब्याज आम्दानीमा आएको सुधार र कर्जा नोक्सानी व्यवस्थामा कटौतीसँगै बैंकको खुद नाफा ५३.९५ प्रतिशतले बढेर ३० करोड २५ लाख रुपैयाँ नाघेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले १९ करोड ६५ लाख रुपैयाँ मुनाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा दोहोरो अंकको वृद्धि
बैंकको नाफा वृद्धिको मुख्य आधार खुद ब्याज आम्दानी हो। गत वर्ष दोस्रो त्रैमाससम्म ९१ करोड ८२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु वर्षको सोही अवधिमा १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा कर्जा नोक्सानी व्यवस्थामा छुट्याउने रकम पनि घटेको छ। अघिल्लो वर्ष २० करोड ८५ लाख रुपैयाँ छुट्याएको बैंकले चालु वर्षको दोस्रो त्रैमाससम्म १७ करोड ६८ लाख रुपैयाँ मात्रै व्यवस्थापन गरेको छ।
कर्जा विस्तार, निक्षेप स्थिर
चालु आर्थिक वर्षमा बैंकले कर्जा विस्तारलाई प्राथमिकता दिएको देखिन्छ। असार मसान्तमा ४२ अर्ब ८२ करोड रुपैयाँ रहेको कर्जा पुस मसान्तसम्म ४४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।
तर निक्षेप भने सोही अवधिमा ५४ अर्ब ६६ करोड रुपैयाँबाट घटेर ५४ अर्ब ३९ करोड रुपैयाँमा सीमित छ।
निक्षेप स्थिर रहँदा ब्याज खर्च घटेको र त्यसको प्रत्यक्ष प्रभाव खुद ब्याज आम्दानीमा देखिएको बैंकको वित्तीय विवरणले देखाउँछ।
वितरणयोग्य नाफा सीमित
नाफा बढे पनि बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख रुपैयाँमा सीमित छ। बैंकले १० करोड ३९ लाख रुपैयाँ ब्याज असुल नभएको रकम नियामकीय जगेडा कोषमा छुट्याउनुपर्दा वितरणयोग्य नाफामा दबाब परेको हो।
प्रमुख वित्तीय सूचक
-
प्रतिसेयर आम्दानी (EPS) : १६ रुपैयाँ २१ पैसा
-
प्रतिसेयर नेटवर्थ : १५३ रुपैयाँ २४ पैसा
-
मूल्य–आम्दानी अनुपात (P/E) : २४.७८ गुणा
-
प्राथमिक पुँजीकोष : १०.७०%
-
कुल पुँजीकोष : १४.१२%
-
निष्क्रिय कर्जा (NPL) : ६.८७%
-
सीडी रेसियो : ८३.५५%
-
आधार दर : ६.१७%
