काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान सुरु भएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ। निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन करिब तीन लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
यस निर्वाचनमा प्रतिनिधिसभाका २७५ सिटका लागि मतदान भइरहेको छ। जसमध्ये १६५ सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सिट समानुपातिक प्रणालीबाट चयन गरिनेछन्।
निर्वाचन सुरक्षाका लागि लागू गरिएको एकीकृत सुरक्षा योजना अनुसार मतदान स्थल र संवेदनशील क्षेत्रहरूमा चारवटै सुरक्षा निकाय परिचालन गरिएको छ। सो योजनाअनुसार नेपाल प्रहरी पहिलो घेरामा, सशस्त्र प्रहरी बल दोस्रो घेरामा र नेपाली सेना तेस्रो घेरामा खटिएका छन्।
सुरक्षा व्यवस्थाअन्तर्गत करिब ७९ हजार नेपाली सेना, करिब ७३ हजार नेपाल प्रहरी र ३१ हजार सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी फिल्डमा परिचालन भएका छन्। त्यस्तै राष्ट्रिय अनुसन्धान विभागबाट करिब एक हजार आठ सय कर्मचारी सूचना संकलनका लागि खटाइएको छ।
यसका अतिरिक्त प्रहरीले एक लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी परिचालन गरेको छ भने सशस्त्र प्रहरीले पनि थप निर्वाचन प्रहरी परिचालन गरेको छ।
गृह मन्त्रालयका अनुसार मतदान स्थल तथा केन्द्रको सुरक्षालाई प्रभावकारी बनाउन बहुस्तरीय सुरक्षा व्यवस्था लागू गरिएको छ। सुरक्षा निकायले मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न गराउन देशभर निगरानी बढाएको जनाएको छ।