पर्यटन बोर्डका सिइओ जोशीसहित सरकारी सुविधा लिने पर्यटन क्षेत्रका तीन दर्जन बढी व्यक्ति जिम्मेवारीमुक्त
टुरिजमफेस
काठमाडौं । सार्वजनिक पदमा रहेका व्यक्तिलाई पदमुक्त गर्न सरकारले ल्याएको अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेसँगै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीसहित पर्यटन क्षेत्रका तीन दर्जन बढी सरकारी सुविधा (नियमित, आशिक) लिने व्यक्तिहरू जिम्मेवारीमुक्त भएका छन् ।
विगतमा विभिन्न राजनीतिक दलमा आवद्ध भएका तथा सत्तामा रहेकाहरूलाई खुशी बनाएर प्राप्त गरेका ती पदहरूमा रहेका त्यस्ता व्यक्तिले काम भन्दा बढी राज्यको स्रोतलाई दोहन गरिरहेको आरोप लाग्दै आएको थियो । एउटै संस्थामा थुप्रै व्यक्तिलाई नियुक्त गरिए पनि त्यस्ता संस्थाले दिने प्रतिफल भने सन्तोषजनक हुन सकिरहेको थिएन ।
वालेन शाह नेतृत्वको सरकारले गरेको निर्णयबाट पदमुक्त हुनेमा पर्यटन बोर्ड, लुम्बिनी विकास कोष, सांस्कृतिक संस्थान, नेपाल वायु सेवा निगम, पशुपति क्षेत्र विकास कोषलगायत छन् । राजनीतिक कार्यकर्तालाई यस्ता निकायमा जथाभावी भर्ना गरिँदा राज्यको सम्पत्ति खेर गइरहेको थियो । आगामी दिनमा त्यस्ता निकायमा नियुक्ति प्रक्रिया थाल्दा पारदर्शी र इमान्दारिता तथा क्षमतालाई मुख्य मापदण्ड बनाइनुपर्ने सर्वसाधारणको माग छ । सरकारको निर्णयबाट पर्यटन क्षेत्रबाहेक अन्य निकायमा नियुक्त गरिएका १५९४ जना पनि पदमुक्त भएका छन् ।
