पर्यटन बोर्डको सीईओ बन्न १० दिनको समय, रणनीतिक योजना अनिवार्य
काठमाडौं — नेपाल पर्यटन बोर्डको नेतृत्व सम्हाल्ने नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अघि बढेको छ । सरकारले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्न इच्छुक उम्मेदवारबाट आवेदन मागेको हो ।
कार्यकारी प्रमुख छनोट उपसमितिले सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ । इच्छुकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित दरखास्त पेस गर्नुपर्नेछ ।
सीईओ पदका लागि उम्मेदवारले कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभवलाई अनिवार्य योग्यता बनाइएको छ ।
यसपटक उम्मेदवारको शैक्षिक योग्यता र अनुभवसँगै नेपाल पर्यटन बोर्डको प्रभावकारिता कसरी बढाउने भन्ने स्पष्ट दृष्टिकोण पनि मूल्यांकनको आधार बन्ने भएको छ । त्यसका लागि आवेदनसँगै बोर्डको प्रभावकारिता अभिवृद्धि गर्ने गतिविधि समेटिएको रणनीतिक कार्ययोजना पेस गर्नुपर्नेछ ।
पर्यटन प्रवर्द्धनको मुख्य जिम्मेवारी
नेपाल पर्यटन बोर्ड देशको पर्यटन प्रवर्द्धन, बजार विस्तार तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन ब्रान्ड स्थापित गर्ने प्रमुख सरकारी–निजी साझेदारीको संस्थाका रूपमा काम गर्दै आएको छ । बोर्डले विदेशी पर्यटक आकर्षित गर्ने प्रचार अभियानदेखि पर्यटन बजार अनुसन्धान, गन्तव्य प्रवर्द्धन र निजी क्षेत्रसँगको समन्वयसम्मका काम गर्दै आएको छ ।
त्यसैले सीईओ नियुक्तिलाई केवल प्रशासनिक नेतृत्व छनोटका रूपमा मात्र नभई नेपालको पर्यटन क्षेत्रको आगामी रणनीति र प्रवर्द्धन अभियानसँग जोडेर हेरिन्छ । विशेषगरी पर्यटन बजारमा बढ्दो प्रतिस्पर्धा, नयाँ गन्तव्यको प्रवर्द्धन, डिजिटल माध्यमको प्रयोग तथा पर्यटकको संख्या र गुणस्तर दुवै बढाउने चुनौतीबीच बोर्डको नेतृत्व महत्वपूर्ण मानिन्छ ।
नयाँ सीईओले बोर्डको नियमित प्रशासन चलाउनुका साथै पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने, निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थितिलाई बलियो बनाउने रणनीति अघि बढाउनुपर्ने अपेक्षा गरिएको छ ।
खुला प्रतिस्पर्धाबाट छनोट हुने सीईओको कार्यकालमा बोर्डको संस्थागत क्षमता, पर्यटन प्रवर्द्धनको प्रभावकारिता र सार्वजनिक–निजी सहकार्यलाई कसरी अघि बढाइन्छ भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ ।
