जोमसोममा जलवायु सम्मेलन, ४२० स्थानीय तहको सहभागिता
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु परिवर्तनका असर र त्यससँग जुध्ने उपायबारे छलफल गर्न दुईदिने ‘घरपझोङजलवायु परिवर्तन सम्मेलन’ आयोजना हुँदैछ। सम्मेलन मंगलबारदेखि सुरु हुनेछ।
नेपालका ७५३ स्थानीय तहलाई सहभागिताका लागि निमन्त्रणा पठाइएकोमा आइतबारसम्म ४२० स्थानीय तहले सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। त्यसैगरी ३६ जिल्ला समन्वय समितिका प्रतिनिधिसमेत सम्मेलनमा सहभागी हुने घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए।
हिमालदेखि तराईसम्म जलवायु परिवर्तनका कारण देखिएका फरक–फरक प्रभाव, स्थानीय तहले अपनाइरहेका अनुकूलनका उपाय तथा आगामी रणनीतिका विषयमा सम्मेलनमा छलफल हुनेछ। स्थानीय तहका अनुभव र आवश्यकतालाई साझा गर्दै जलवायु संकटप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।
सम्मेलनमा सहभागी हुन कोशी प्रदेशका ७२, मधेसका ५८, बागमतीका ४६, गण्डकीका ६४, लुम्बिनीका ६२, कर्णालीका ३८ र सुदूरपश्चिमका ६६ स्थानीय तहले नाम दर्ता गराएका छन्।
मुस्ताङमा पहिलोपटक आयोजना हुन लागेको सम्मेलनलाई जिल्लाका अन्य चार स्थानीय तहले पनि सहयोग गरिरहेका छन्।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सम्मेलनमा सहभागी हुनेछन्।
सम्मेलनले स्थानीय तहमा जलवायु परिवर्तनका प्रभाव पहिचान गर्दै अनुकूलनका लागि साझा नीति र अभ्यास निर्माणमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
