बाढीको असरले पर्यटन सिजन प्रभावित, सुरक्षित गन्तव्यबारे विश्वभर स्पष्ट सन्देश दिनुपर्ने
काठमाडौं । नेपालको पर्यटनका लागि सबैभन्दा महत्वपूर्ण मानिने शरद् सिजन सुरु हुनै लाग्दा रसुवा केन्द्रित विनाशकारी बाढीले व्यवसायीको चिन्ता बढाएको छ। बाढी प्रभावित क्षेत्र सीमित भए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका तस्बिर र समाचार तथा केही मुलुकले जारी गरेका यात्रा सल्लाहका कारण नेपाल भ्रमणको योजना बनाएका पर्यटकले बुकिङ रद्द गर्न थालेका छन्।
होटल, ट्रेकिङ, टुर तथा हवाई टिकटको अग्रिम बुकिङमा यसको प्रभाव देखिन थालेको पर्यटन व्यवसायीहरू बताउँछन्। विशेषगरी सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई नेपालमा पदयात्रा, पर्वतारोहण र अन्य साहसिक पर्यटनका लागि उच्च सिजन मानिन्छ।
साहस टुरका प्रबन्धक सौरभ बजगाईँका अनुसार भदौदेखि कात्तिकसम्म नेपालका हिमाली क्षेत्रमा पर्वतारोहण र ट्रेकिङ गतिविधि बढ्ने गर्छ। दसैँ आसपास त पदमार्गमा पर्यटकको चापसमेत उल्लेख्य हुने उनको भनाइ छ।
तर यसपटक सिजनको सुरुवातमै आएको विपत्तिले पर्यटन बजारमा नकारात्मक मनोविज्ञान सिर्जना गरेको छ।
५० अर्बको प्रारम्भिक क्षति
रसुवा लगायतका क्षेत्रमा आएको बाढी र पहिरोबाट पर्यटन पूर्वाधारमा ठूलो क्षति पुगेको छ। सरकारी प्रारम्भिक आकलनअनुसार पर्यटन क्षेत्रमा मात्रै करिब ५० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा १४२ होटल, ५७ रेस्टुरेन्ट, १४१ पर्यटकीय सवारीसाधन र २७ वटा सम्पदामा क्षति पुगेको छ। लाङटाङ र गोसाइँकुण्ड जाने पदमार्गसमेत ठूलो रूपमा प्रभावित भएका छन्।
बाढीका कारण मानसरोवर र गोसाइँकुण्ड यात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटकसँगै पर्यटन व्यवसायी, भरिया र मजदुरसमेत प्रभावित भएका छन्।
यसले पूर्वाधारमा मात्रै नभई आगामी पर्यटन सिजनको मागमा समेत असर पार्न सक्ने व्यवसायीहरूको आकलन छ।
‘नेपालभरि नै विपत्ति आएको होइन’
पर्यटन व्यवसायीहरूको मुख्य चिन्ता भनेको सीमित क्षेत्रमा भएको विपत्तिको प्रभावले देशभरकै पर्यटन गतिविधिलाई प्रभावित पार्नु हो।
होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार भोटेकोशी र त्रिशूली नदीको तटीय तथा पहाडी क्षेत्र प्रभावित भए पनि नेपालका अधिकांश प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा सञ्चालन भइरहेका छन्।
उनले अन्तर्राष्ट्रिय समुदायमा नेपालभरि नै पर्यटन गतिविधि ठप्प भएको गलत सन्देश जान नदिन सरकार, कूटनीतिक नियोग र निजी क्षेत्रले तत्काल तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्ने बताए।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेको धारणा पनि त्यस्तै छ। उनका अनुसार बाढी प्रभावित क्षेत्रलाई स्पष्ट रूपमा छुट्याएर अन्य गन्तव्य सुरक्षित रहेको जानकारी विश्व पर्यटन बजारमा पुर्याउन आवश्यक छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका आन्तरिक विमानस्थलबाट हुने उडान नियमित रहेको र अन्य पर्यटकीय क्षेत्रमा पर्यटकको गतिविधि सामान्य रहेको व्यवसायीहरूको भनाइ छ।
‘नेपाल सुरक्षित छ’ भन्ने अभियान आवश्यक
पर्यटन क्षेत्रलाई तत्काल पुरानै गतिमा फर्काउन राहत र पुनर्निर्माणसँगै अन्तर्राष्ट्रिय बजारमा सूचना तथा प्रवर्द्धन अभियान सञ्चालन गर्नुपर्ने व्यवसायीहरूको सुझाव छ।
व्यवसायी फूर्वा शेर्पाका अनुसार नेपालका विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई परिचालन गरी सम्बन्धित सरकार, सञ्चारमाध्यम र पर्यटन बजारलाई नेपालको वास्तविक अवस्थाबारे जानकारी गराउनुपर्छ।
उनले ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देशसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, ब्लगर र सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिलाई सुरक्षित पर्यटकीय गन्तव्यमा ल्याएर प्रत्यक्ष अनुभव सार्वजनिक गराउनुपर्ने बताए।
उनका अनुसार यसअघि भएका राजनीतिक घटनाले मुख्यतः सहर केन्द्रित पर्यटकलाई असर गरे पनि अहिले बाढीका दृश्य र अन्तर्राष्ट्रिय समाचारले साहसिक पर्यटनमा समेत असर पार्न सक्ने जोखिम छ।
सरकारले बनायो विशेष सूचना संयन्त्र
पर्यटनमा नकारात्मक असर फैलिन नदिन नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र निजी क्षेत्रका व्यवसायीको सहकार्यमा विशेष सूचना कक्ष स्थापना गरिएको छ।
उक्त संयन्त्रले बाढी प्रभावित पर्यटकको अवस्था पहिचान, उनीहरूका परिवारसँग सम्पर्क तथा आवश्यक उद्धार र सहजीकरणका विषयमा सूचना उपलब्ध गराउने काम गरिरहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले पनि भिडियो सन्देशमार्फत विश्वभरका पर्यटकलाई नेपाल भ्रमणका लागि आश्वस्त हुन आग्रह गरेका छन्।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य भइरहेको छ भने अन्य पर्यटकीय गन्तव्य सुरक्षित र सञ्चालनयोग्य छन्। प्रभावित पर्यटकको सूचना व्यवस्थापन, विमानस्थल तथा सीमा नाकामा सहजीकरण र रोकिएका पर्यटन गतिविधि पुनः सञ्चालनका लागि र्यापिड रेस्पोन्स टिमसमेत परिचालन गरिएको छ।
अगस्टमा पर्यटक बढेका थिए, अब सिजन जोगाउने चुनौती
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को अगस्टमा हवाईमार्गबाट ८५ हजार ४४४ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३.६ प्रतिशत बढी हो।
पर्यटक आगमनको यो सकारात्मक लयसँगै मुख्य पर्यटन सिजन प्रवेश गर्न लागेको अवस्थामा बाढीले नयाँ चुनौती थपेको छ।
अक्टोबर र नोभेम्बर नेपालको पर्यटनका लागि अझ महत्वपूर्ण महिना भएकाले त्यसअघि नै अन्तर्राष्ट्रिय बजारमा स्पष्ट सूचना पुर्याउन नसके असर थप गहिरिन सक्ने व्यवसायीहरूको चिन्ता छ।
त्यसैले अहिले पर्यटन क्षेत्रको प्राथमिकता केवल क्षतिको पुनर्निर्माणमा सीमित नराखी सुरक्षित गन्तव्यको प्रचार, तथ्यमा आधारित सूचना प्रवाह, अन्तर्राष्ट्रिय बजारमा विश्वास पुनर्स्थापना र प्रभावित क्षेत्रमा पर्यटन पूर्वाधारको शीघ्र पुनःस्थापना तर्फ केन्द्रित गर्नुपर्ने देखिन्छ।
