पृथ्वी राजमार्ग बन्द हुँदा नयाँ बसपार्कमै रोकिए काठमाडौं बाहिरिने सवारीसाधन
काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन बसपार्कभित्रै रोकिएका छन्। सडक अवरुद्ध हुनु र वैकल्पिक मार्गमा समेत सवारीसाधनको चाप बढ्नुका कारण यातायात सेवा प्रभावित भएको हो।
पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो। तर, उक्त सडकमा पनि सवारीसाधनको चाप अत्यधिक बढेपछि यातायात सञ्चालनमा थप कठिनाइ भएको छ। त्यसपछि नयाँ बसपार्कबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि बसपार्कभित्रै रोकिएको हो।
दशैं मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको संख्या बढिरहेका बेला राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू प्रभावित भएका छन्। अग्रिम टिकट काटेर बसपार्क पुगेका यात्रुसमेत गन्तव्यतर्फ प्रस्थान गर्न नपाएपछि अन्योलमा परेका छन्।
बसपार्कमा सवारीसाधन र यात्रुको चाप बढ्दै जाँदा यात्रुहरू कहिले यात्रा सुरु गर्न पाइन्छ भन्ने प्रतीक्षामा छन्। दशैं नजिकिँदै गर्दा देखिएको यो समस्याले यात्रुका साथै यातायात व्यवसायीलाई समेत कठिनाइ थपेको छ।
सडक भासिएको स्थानमा मर्मत गरी यातायात सञ्चालन सहज नबनाएसम्म काठमाडौं बाहिरिने सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ। त्यसैले यात्रा गर्नुअघि यात्रुहरूलाई सम्बन्धित यातायात व्यवसायी वा ट्राफिक प्रहरीसँग सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले साँझसम्म ठूला सवारीसाधनसमेत सञ्चालन गर्न सकिने गरी सडक मर्मत गरिसक्ने जानकारी दिएकी छन्। सडक मर्मतपछि यातायात सेवा क्रमशः सामान्य हुने अपेक्षा गरिएको छ।
