नेपालगन्जमा दसैँको चहलपहल बढ्यो, चोकचोकमा दुर्गा भवानीको पूजा र रातभर भजनकीर्तन
नेपालगन्ज । दसैँ नजिकिएसँगै बाँकेको नेपालगन्ज सहरमा धार्मिक तथा सांस्कृतिक गतिविधि तीव्र बनेका छन्। सहरका विभिन्न चोक, गल्ली र मन्दिर परिसरमा दुर्गा भवानीका मूर्ति स्थापना गरिएपछि नेपालगन्ज दसैँमय बनेको छ। बिहानदेखि रातिसम्म हुने पूजाआजा, आराधना र भजनकीर्तनले सहरको वातावरण भक्तिमय बनेको छ।
नेपालगन्जका अधिकांश चोक तथा गल्लीमा दुर्गा मूर्ति स्थापना गरिएका छन्। कतिपय टोलमा दुईदेखि तीनवटासम्म मूर्ति राखेर सामूहिक रूपमा पूजा गर्ने गरिएको छ। नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा स्थानीय अगुवा नन्दलाल वैश्यका अनुसार पछिल्ला वर्षहरूमा दसैँका अवसरमा दुर्गा भवानीको मूर्ति स्थापना गरी पूजाआजा गर्ने परम्परा थप विस्तार हुँदै गएको छ।
उनका अनुसार घटस्थापनाका दिन स्थापना गरिएका मूर्तिको आँखामा सप्तमीका दिन मात्र पट्टी खोल्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार देवी दुर्गाले सप्तमीका दिन महिषासुरको वध गरेको विश्वासका आधारमा यस्तो चलन कायम रहेको उनले बताए। दसैँभरि पूजा तथा दर्शन गरिएपछि विजयादशमीको भोलिपल्ट एकादशीका दिन मूर्तिलाई राप्ती नदीमा लगेर विधिपूर्वक विसर्जन गर्ने गरिन्छ।
दुर्गा मूर्ति स्थापना भएसँगै नेपालगन्जका चोकचोकमा रातिसम्म भक्तजनको चहलपहल बढेको छ। नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार घटस्थापनादेखि नै सहरका चोक, गल्ली, मन्दिर र चौराहमा भजनकीर्तन सुरु हुने गरेको छ। बिहान सबेरैदेखि राति अबेरसम्म सञ्चालन हुने धार्मिक गतिविधिमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता रहने गरेको उनले बताए।
रिजालका अनुसार नेपालगन्जका विभिन्न स्थानमा करिब चार सयको हाराहारीमा दुर्गा मूर्ति स्थापना गरिएको अनुमान छ। मूर्ति स्थापना भएपछि बजारका विभिन्न चोकमा घुम्ने, पूजाआजा गर्ने र रामलीला अवलोकन गर्ने चलन पनि दसैँको विशेष आकर्षणका रूपमा रहेको छ।
नेपालगन्जमा मात्र नभई बाँकेका नरैनापुर, डुडुवा, खजुरा र कोहलपुरका विभिन्न बस्तीमा समेत दुर्गा पूजाको उत्साह देखिएको छ। ती क्षेत्रमा पनि बिहानदेखि रातिसम्म भजनकीर्तन तथा धार्मिक अनुष्ठान सञ्चालन भइरहेका छन्।
सहरका चोक र गल्लीमा स्थापना गरिएका दुर्गा मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।
दसैँको अवसरमा नेपालगन्जमा देखिएको धार्मिक उत्साह, सामूहिक पूजाआजा र सांस्कृतिक गतिविधिले सहरको चाडपर्वको रौनक थप बढाएको छ।
