कोरला नाकाबाट आएका २,५०० भन्दा बढी विद्युतीय गाडी मुस्ताङमै रोकिए
मुस्ताङ । बाढीपहिरो र सडक कटानका कारण बेनी–जोमसोम सडक प्रभावित भएपछि चीनको कोरला नाकाबाट नेपाल भित्रिएका २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) गन्तव्यमा पुर्याउन समस्या भएको छ। सडक सञ्चालनमा आए पनि अवस्था अझै सहज नहुँदा ती गाडी मुस्ताङका विभिन्न स्थानमा रोकिएका छन्।
असोज ११ गतेको भारी वर्षापछि बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम सडक अवरुद्ध भएको थियो। त्यसयता कोरला नाकाबाट नेपाल ल्याइएका विद्युतीय गाडीको ढुवानी प्रभावित बनेको हो। शुक्रबार साँझदेखि सडकमा आवागमन सुरु भए पनि जोखिमपूर्ण अवस्थाका कारण सवारीसाधन गन्तव्यतर्फ पठाउन कठिनाइ भइरहेको छ।
नेपाल–चीन उत्तरी नाकाअन्तर्गत लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टका अनुसार कोरला नाकाको खुला पठारमा दुई हजारभन्दा बढी र मुस्ताङ भन्सार यार्डमा दुई सयभन्दा बढी विद्युतीय गाडी पार्किङ गरेर राखिएका छन्।
कोरला नाकास्थित बोर्डर आउट पोस्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार भन्सार जाँचपासपछि गाडीलाई तल झार्न आवश्यक सहजीकरण भइरहेको छ। नाकामा स्थानीय चालकले गाडी भन्सार कार्यालयसम्म ल्याउने र त्यसपछि सम्बन्धित कम्पनीका चालकले जिम्मा लिने गरेका छन्।
जोमसोममा पनि सयौँ गाडी थन्किए
कोरला नाकाबाट भन्सार प्रक्रिया पूरा गरेर जोमसोम ल्याइएका पाँच सयभन्दा बढी विद्युतीय गाडी दुईवटा पार्किङस्थलमा राखिएका छन्। बेनी–जोमसोम सडकको अवस्था कमजोर रहेकाले ती गाडीलाई पनि थप गन्तव्यमा पठाउन नसकिएको व्यवसायीहरूले बताएका छन्।
बिवाइडीका सवारीसाधनका लागि काम गर्ने साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीका अनुसार असोज ११ गतेअघि कम्पनीका करिब ४५० गाडी गन्तव्यतर्फ पठाइसकिएको थियो। त्यसपछि कोरला नाकाबाट आएका दुई हजारभन्दा बढी गाडी भने सडकको समस्याले मुस्ताङमै रोकिएका छन्।
साना विद्युतीय गाडीलाई जोखिमपूर्ण सडकमा लैजान थप कठिनाइ भइरहेको उनले बताए। अहिले जोमसोम बसपार्क र भन्सार कार्यालयको पार्किङ क्षेत्रमा ती सवारीसाधन राखिएका छन्।
कोरला नाकाबाट आयात बढाउने योजना प्रभावित
रसुवा र तातोपानी नाका बन्द भएपछि कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै तीन हजारभन्दा बढी विद्युतीय गाडी नेपाल भित्र्याउने योजना रहेको साइमेक्स इङ्कका प्रतिनिधिले बताएका छन्। तर सडकको कमजोर अवस्थाले आयातित गाडीको ढुवानी र व्यवस्थापनमा चुनौती थपिएको छ।
यसैबीच, प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरला नाकाबाट आयात गरिएका सामान बोकेका ६०० भन्दा बढी कन्टेनर मुस्ताङबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्। जिल्लामा रोकिएका कन्टेनर बाहिरिन थालेपछि सामान ढुवानीका लागि केही खाली कन्टेनर पुनः कोरला नाकातर्फ जान थालेका छन्।
सडकको अवस्था पूर्ण रूपमा सहज नभएसम्म विद्युतीय गाडी तथा अन्य मालवस्तुको ढुवानी सामान्य अवस्थामा फर्किन कठिन देखिएको छ।
