दसैँमा यात्रुको चाप बढ्ने भएपछि आन्तरिक उडान थप्ने तयारी
काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्ने अनुमानसँगै वायुसेवा कम्पनीहरूले आन्तरिक उडान थप्ने तयारी गरेका छन्। यात्रुको चाप र गन्तव्यमा रहेको मागलाई ध्यानमा राखेर नियमित उडानका अतिरिक्त चार्टर उडानसमेत सञ्चालन गर्न अनुमति दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चाडपर्वको समयमा हवाई यात्रालाई सहज र व्यवस्थित बनाउन माग भएका गन्तव्यमा थप उडान सञ्चालन गर्न सकिनेछ। सडक यातायातमा हुन सक्ने असहजतालाई ध्यानमा राख्दै हवाई सेवाको क्षमता बढाउने तयारी गरिएको हो।
प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले दसैँमा नियमित उडानसँगै चार्टर उडानको संख्या पनि बढ्ने बताए। उनका अनुसार यात्रुको मागअनुसार वायुसेवा कम्पनीले थप उडानका लागि समय मागेमा आवश्यक समन्वय गरी अनुमति दिइनेछ।
बुद्ध एयरले केही उडान थप्ने तयारी गरेको छ भने यती एयरलाइन्सले तीनदेखि चारवटासम्म थप उडान सञ्चालन गर्ने योजना बनाएको प्राधिकरणले जनाएको छ। बुद्ध एयरले थप उडानका लागि औपचारिक प्रस्ताव भने पेस गरिसकेको छैन।
विमानस्थल व्यवस्थापनमा सुधार गर्न निर्देशन
चाडपर्वका बेला यात्रुको आवागमन व्यवस्थित बनाउन प्राधिकरणले देशभरका विमानस्थल कार्यालयलाई सेवा सुविधा प्रभावकारी बनाउन निर्देशन दिएको छ। असोज २६ गते जारी पत्रमार्फत दसैँ, तिहार र छठ पर्वका समयमा विमानस्थल सञ्चालन, सरसफाइ र आन्तरिक सुरक्षामा विशेष ध्यान दिन भनिएको हो।
प्राधिकरणले विमानस्थल सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९ र विमानस्थल सरसफाइ सेवा निर्देशिका, २०७९ अनुसार यात्रुलाई सहज सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत बजेटको अधिकतम उपयोग गर्दै उपलब्ध जनशक्ति र स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गर्न पनि आग्रह गरिएको छ।
विमानस्थलको नियमित सञ्चालन, सरसफाइ र यात्रु सेवाको गुणस्तर कायम राख्न कार्यालय प्रमुखहरूको भूमिका महत्त्वपूर्ण हुने प्राधिकरणको भनाइ छ। यी कार्यलाई कार्यालय प्रमुखहरूको कार्यसम्पादन मूल्यांकनसँग समेत जोडिएको छ।
काठमाडौं विमानस्थलमा दैनिक तीन सय हाराहारी उडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल दैनिक करिब तीन सय दुईतर्फी उडान हुने गरेका छन्। दसैँको समयमा यात्रुको चाप बढ्ने भएकाले उडान व्यवस्थापनसँगै विमानस्थलका सेवा सुविधालाई चुस्त बनाउने तयारी गरिएको छ।
विमानस्थलको निर्धारित तालिकाअनुसार उक्त दिन आन्तरिकतर्फ सात वायुसेवा कम्पनीका कुल १५५ एकतर्फी उडान राखिएका छन्। तीमध्ये बुद्ध एयरका ७०, यती एयरलाइन्सका ३५ र श्री एयरलाइन्सका २३ उडान छन्।
त्यसैगरी समिट एयरका १०, तारा एयरका सात, सीता एयरका पाँच र नेपाल वायुसेवा निगमका पाँच उडान निर्धारण गरिएका छन्।
थप उडान हुने गन्तव्य र समय भने यात्रुको माग, वायुसेवा कम्पनीको प्रस्ताव तथा प्राधिकरणको स्वीकृतिमा निर्भर रहनेछ। प्राधिकरणले चाडपर्वको अवधिमा हवाई सेवा सहज बनाउन विमानस्थल कार्यालय र वायुसेवा कम्पनीबीच समन्वय आवश्यक रहेको जनाएको छ।
