चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु, पर्यटकलाई प्रवेशमा सहज हुने
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकले अब अनलाइनबाटै प्रवेश टिकट लिन सक्ने भएका छन्। झन्डै तीन वर्षअघि सुरु गरिएको अनलाइन टिकटको तयारी लामो समयपछि कार्यान्वयनमा आएको हो। निकुञ्जले बिहीबारदेखि परीक्षणका रूपमा सौराहा प्रवेश बिन्दुबाट ई–टिकटिङ सेवा सञ्चालनमा ल्याएको छ।
निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार सुरुमा सौराहा क्षेत्रबाट सेवा परीक्षण गरिनेछ। यसको प्रभावकारिता मूल्यांकन गरेपछि निकुञ्ज प्रवेशका अन्य नाकामा समेत अनलाइन टिकट प्रणाली विस्तार गर्ने योजना छ।
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन र जंगल सफारीका लागि स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य चाप रहने गरेको छ। तर, यसअघि टिकट लिन पर्यटक वा पर्यटन व्यवसायीले भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले टिकट काट्न लाग्ने समय घटाउनुका साथै व्यवसायी र पर्यटक दुवैलाई सहज हुने अपेक्षा गरिएको छ।
सौराहाबाट सुरु, अन्य नाकामा पनि विस्तार गर्ने योजना
निकुञ्ज प्रवेशका विभिन्न १२ नाकामध्ये सौराहाबाट सबैभन्दा बढी पर्यटक आउने गरेका छन्। निकुञ्ज प्रशासनका अनुसार कुल पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी सौराहा क्षेत्रबाट प्रवेश गर्ने भएकाले पहिलो चरणमा यही क्षेत्रलाई प्राथमिकता दिइएको हो।
सौराहा, कसरा, घटगाई, मेघौली, बनकट्टा, माडीको कुजौली तथा नवलपरासीको अमलटारीलगायत क्षेत्रबाट निकुञ्ज प्रवेश गर्न सकिन्छ।
निकुञ्ज प्रशासनले अनलाइन टिकट प्रणालीबारे पर्यटन व्यवसायीलाई तालिम दिने र पर्यटकलाई प्रक्रिया बुझाउन भिडियो सामग्रीसमेत तयार गर्ने जनाएको छ।
पार्क सफारी होटलका सञ्चालक महेश खनालले अनलाइन टिकटको व्यवस्थाले सौराहाबाट निकुञ्ज घुम्न जाने पर्यटकलाई निकै सहज हुने बताए।
अनलाइनबाटै भुक्तानी, क्यूआर कोड देखाएर प्रवेश
नयाँ प्रणालीअनुसार पर्यटकले आवश्यक विवरण भरेर प्रवेश शुल्क अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन्। प्रक्रिया पूरा भएपछि प्राप्त हुने क्यूआर कोड प्रवेशका बेला देखाएर निकुञ्जभित्र जान सकिनेछ। टिकट एक दिनका लागि मात्रै मान्य हुनेछ।
यस व्यवस्थाले टिकट काट्न लाग्ने समय र भीडभाड कम गर्ने, नगद बोकेर जानुपर्ने बाध्यता हटाउने तथा पर्यटकको विवरण व्यवस्थित रूपमा अभिलेख राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, अनलाइन प्रणालीबाट निकुञ्जको अन्तर्राष्ट्रिय प्रचारप्रसार बढाउन र पर्यटकको भ्रमण योजना बनाउन पनि सहज हुने विश्वास गरिएको छ।
गैँडा र बाघ हेर्न आउने पर्यटकको आकर्षण
चितवन राष्ट्रिय निकुञ्ज एकसिंगे गैँडा, पाटेबाघ, घडियाल गोही तथा विभिन्न प्रजातिका चरा र वन्यजन्तुका लागि प्रसिद्ध छ। जंगल सफारी र वन्यजन्तु अवलोकन यहाँका प्रमुख पर्यटकीय गतिविधि हुन्।
निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकले एक हजार रुपैयाँ र अन्य विदेशी पर्यटकले दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ। पर्यटक बोक्ने जिपले प्रत्येक प्रवेशका लागि पाँच हजार रुपैयाँ बुझाउनुपर्छ। निकुञ्जमा दैनिक ६० वटा जिपलाई सफारीको अनुमति दिइन्छ, जसमा बिहान ३० र दिउँसो ३० वटा जिप सञ्चालन गर्न पाइन्छ।
गत वर्ष झन्डै तीन लाख पर्यटकले गरे भ्रमण
निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल दुई लाख ७२ हजार ९२३ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए। तीमध्ये दुई लाख ३७ हजार २५ जना सौराहा नाकाबाट प्रवेश गरेका थिए।
भ्रमण गर्ने पर्यटकमध्ये एक लाख ६१ हजार ३७५ नेपाली, २२ हजार ८८३ सार्क मुलुकका र ८८ हजार ६६५ अन्य विदेशी नागरिक थिए।
राष्ट्रिय निकुञ्जहरूमध्ये ई–टिकटिङ सेवा सुरु गर्ने चितवन दोस्रो निकुञ्ज बनेको छ। यसअघि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पनि अनलाइन टिकटको व्यवस्था लागू भइसकेको छ।
डिजिटल टिकट प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा चितवनको पर्यटन सेवा थप व्यवस्थित हुनुका साथै पर्यटकको अनुभव सुधार गर्न र निकुञ्जको व्यवस्थापनलाई आधुनिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
