भारतलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि

१३ साउन, काठमाडौं । आयोजक श्रीलंकाले वुमन एसिया कपको उपाधि जितेको छ ।
पहिलो पटक उपाधि जित्ने क्रममा श्रीलंकाले सात पटकको च्याम्पियन भारतलाई ८ विकेटले हराएको हो । बलियो भारतले दिएको १६६ रनको लक्ष्य हर्षिता मदाभीको उत्कृष्ट प्रदर्शनसँगै श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।
पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । मको स्कोर मात्र ७ रन मात्र हुँदा ओपनर भिश्मी गुणरत्ने मात्र १ रनमा रन आउट भएकी थिइन । तर कप्तान चमारी अथापथ्थु र हर्षिताले ८७ रनको साझेदारी गर्दै श्रीलंकाको जीतको आधार तयार पारेका थिए । १२औं ओभरको अन्तिम बलमा कप्तान चमारी ६१ रनमा आउट हुँदा श्रीलंकाको स्कोर २ विकेटको क्षतिमा ९४ रन थियो ।
हर्षिताले कभिशा भिलहारीसँग मिलेर श्रीलंकालाई जिताइन् । हर्षिता ६९ र काभिशा ३० रनमा अविजित रहिन् । ५१ बलको सामना गरेकी हर्षिताले ६ चौका र २ छक्का हानेकी थिइन् । उनी म्यान अफ दी फाइनल भइन् । कप्तान चमारी अथापथ्थु म्यान अफ दी सिरिज भइन् । उनले प्रतिगिताभर ३०४ रन बनाएकी थिइन् ।
यसअघि दाम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले स्मृति मान्धानाको ६० रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।