हेलिकप्टर दुर्घटनाको छानबिन गर्न नेपाली सेनाका पाइलटको नेतृत्वमा दुर्घटना जाँचबुझ आयोग गठन

काठमाडौँ । सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ ।
बुधवार मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए ।
आयोगको सदस्यमा एरोनोटिकल इञ्जिनियर विष्णु बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव (प्राविधिक) तनुजा पोखरेल छन् । आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।
बैठकले हेलिकप्टर दुर्घटनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । हेलिकप्टर दुर्घटनामा मृत्युभएका सबै यात्रु चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको मन्त्री गुरुङले बताए ।
एयर डाइनेस्टीको ९ एन–एजेडी कलसाइन हेलिकप्टर आज दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त हुँदा पाइलटसहित पाँच जनाको मुत्यु भएको थियो ।
दिउँसो १:५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २:१४ बजे दुर्घटनाग्रस्त भएको थियो ।
हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् ।
यसैबीच एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सबैको शव सङ्कलन गरी शवपरीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।