पूर्वगृहमन्त्री रवि लामिछानेको बयानसहितकाे प्रतिवेदन भोलि बुझाउने तयारी
काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन भोलि बुझाउने तयारी गरिएको छ ।
समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसहितको बयान लिएर प्रतिवेदन तयार पारेको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले प्रतिवेदन लेखन कार्यलाई अन्तिम चरणमा पुर्याएको र भोलि बुझाउने तयारी भएको समितिका एक सदस्यले जानकारी दिए ।
आइतबार प्रतिवेदनलाई तयार गरेर समितिले भोलि (सोमबार)को प्रतिनिधि सभा बैठकमा पेस गर्ने तयारी गरेको हो ।
‘आज सबै काम सकेर भोलिको संसद् बैठकमा प्रतिवेदन पेस गर्ने हाम्रो प्रयास हो । हामी प्रतिवेदनलाई अन्तिम रूप दिन लागिपरेका छौँ‚’ समितिका एक सदस्यले भने ।
समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो ।
